ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

५ महीनापछि बेनी–दरबाङ सडक निर्माण पुनः शुरु

२०७८ भदौ, २८  
गण्डकी प्रदेश
Chelsea International Image Not Found

भदौ २८, म्याग्दी । बेनी–दरबाङ सडक निर्माणको मुख्य ठेकेदार पाँच महीनापछि काममा फर्किएको छ ।

जिल्लाको रणनीतिक महत्वको सो सडक खण्डलाई सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको थियो ।  मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक स्तरोन्नतिलाई पूर्णता दिन मुख्य ठेकेदारले बल्ल काम सम्हालेका हो । 

समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधि दयाराम थापा गत चैतदेखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इञ्जिनीयर महेन्द्र शाहले सडक निर्माणलाई पूर्णता दिने गरी काम शुरुआत गरेको जानकारी दिए ।

‘यही भदौ पहिलो हप्तादेखिनै ४० मजदूर, छ स्काभेटर, चार टिपर, एक ट्र्याक्टर र एक ब्याकुहोलोडरले काम गरिरहेका छन्’, उनले भने, ‘आगामी वैशाख महीनाभित्र कालोपत्र गर्ने लक्ष्यसहित उपकरण र मजदूरको संख्या बढाएर फरक–फरक ठाउँमा परिचालन गर्दैछौँ ।’

१२ किलोमिटर ५०० मिटर सडक ११ मिटर फराकिलो बनाएर सात मिटर चौडाइका दरले कालोपत्र गर्ने जानकारी दिइएको छ । विसं २०७४ असोज ४ गते रू. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । 

हालसम्म करीब ६० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । कार्यालयका इञ्जिनीयर सन्तोष अर्यालले पछिल्लो पटक आगामी चैत महीनासम्म ठेक्काको म्याद थपिएको जानकारी दिए ।

चोथौ पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन तथा सामग्री जुटाउन नसक्दा ढिलाइ भएको हो । म्याग्दीको ‘लाईफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको बेनी–दरवाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । 

बेनी–तातोपानी खण्डको सडक विस्तार गरेर अधिकांश ठाउँमा बेस राखेको थियो । बाँकी रहेको नाली, पर्खाल निर्माण र पहिरो पन्छाउने काम शुरु गरेको ठेकेदार कम्पनीका इञ्जिनीयर शाहले बताए । बर्खा रोकिएपछि बेनी–तातोपानी खण्डमा कालोपत्रे र तातोपानी–सिम खण्डमा विस्तार, पर्खाल र नाली निर्माण शुरु गर्ने उनले बताए । 

तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । 

कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयका इञ्जिनीयर सञ्जय सुवेदीले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्