ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रत्ननगरमा १५ करोडको लगानीमा ‘वाटर किङडम’ निर्माण शुरु

२०७८ भदौ, २८  
वाग्मती प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, चितवन  । चितवनको पर्यटक नगरी  रत्ननगरमा १५ करोड रुपैयाँको लगानीमा वाटर किङडम निर्माण प्रक्रिया शुरु गरिएको छ ।

सो क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन र पर्यटकलाई आकर्षण गर्न पानीसँग सम्बन्धित गतिविधिका पूर्वाधार बनाउन लागिएको हो । 

वाटर किङडम बालबालिकाको लागि चिप्लेटीदेखि पर्यटकका लागि बन्द हलभित्र कृत्रिम हिउँ पार्ने सम्मको पूर्वाधार निर्माण हुने बताइएको छ । ९ महीनामा निर्माण सम्पन्न गर्ने गरी वडा नम्बर ८ को बाघमारामा उक्त वाटर किङडम निर्माण शुरु गरिएको हो । 

किङडमको डीपीआर तयार गरी ठेक्का प्रक्रियाको काम अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी दिएको  छ । रत्ननगर नगरपालिकाको १० करोड ५० लाख रुपैयाँ र केन्द्र सरकारको ४ करोड ५० लाख रुपैयाँको लगानीमा वाटर किङडम निर्माण हुने नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए । 

गिरीका अनुसार सौराहाको पर्यटन विकासको लागि निकटमा रहेको बाघमारा स्थित चार विघा क्षेत्रफलमा वाटर किङडम निर्माण हुनेछ । वाटर किङडममा तीन ओटा कृत्रिम पोखरी, स्विमङ पुल, ६० देखि ६५ मिटरको ६ ओटा चिप्लेटी, पानी डान्स, गर्मी छल्न हल भित्र कृत्रिम हिउँ, रोटे पीङ लगायतका आकर्षक पूर्वाधार निर्माण हुने उनले बताए । 

सौराहा आउने पर्यटकलाई नयाँ अनुभूति दिन वाटर किङडम निर्माण शुरु गरिएको मेयर नारायण वनले बताए । ‘सौराहाले नयाँ स्वाद खोजिरहेको छ उनले भने हामी रमणीय ठाउँ बनाएर पर्यटकलाई आनन्द दिनेछौं र यसले पर्यटकको बसाइ अवधि लम्ब्याउन समेत मदत गर्नेछ ।’ सो नगरपालिकाले वाटर किङडम निर्माण गरी सञ्चालनको लागि निजी संस्था, व्यक्ति वा कम्पनीलाई जिम्मा दिने योजना बनाएको छ । 

शुरुमा नगरपालिका र केन्द्र सरकारको लगानीमा निर्माण गर्ने र लगानीको लागि शेयर खुल्ला गर्ने योजना रहेको मेयर वनले बताए । शुरुमा निजी संस्था, व्यक्ति वा कम्पनी सञ्चालनको लागि जिम्मा दिने र उनीहरुले नगर भित्रका आमा समूह, सहकारी, क्लब, टोल विकास संस्था, क्लवहरुलाई न्यूनतमा शेयर रकम तोकेर शेयर खुला गर्नुपर्ने छ । 

वाटर किङडम चितवनकै पर्यटन विकासको अनुपम स्थानको रुपमा स्थापित हुने मेयर वनको भनाइ छ । सञ्चालनको चरणमा समुदायको लगानी हुने भएकाले सबैले अपनत्व ग्रहण गर्ने सक्ने भएकाले रत्ननगरको वाटर किङडम नेपालकै नमूना पर्यटकीय केन्द्रको रुपमा विकास हुने वनको विश्वास छ । 

वाटर किङडमलाई सौराहाको प्याकेज कार्यक्रममा समावेस गरी यहाँ आउने अधिकांश पर्यटकलाई यसको अवलोकन गराउने योजना रहेको छ । हात्ती चढेर निकुञ्ज घुम्ने पर्यटकलाई अर्को नयाँ कार्यक्रमको रुपमा वाटर किङडम निर्माण गर्न लागिएको भन्दै मेयर वनले यो पर्यटकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे । 
हाल सौराहाको पर्यटन विकासको लागि सिसुवारमा गैंडा आकृतिको सभाहल, वडा नम्बर ९ मा होम स्टे सहितको रमणीय पार्क निर्माण भइरहेको छ ।

सौराहालाई पार्कहरुमा जोडेर पर्यटनको विकाससँगै स्थानीय समुदायको जीविकोपार्जनलाई सहज बनाउने योजना रहेको मेयर वनले वाटर किङडम, सभाहल र होम स्टे सहितको पार्क सञ्चालनमा आएपछि रोजगारीसँगै आयआर्जनका धेरै माध्यम सृजना हुने बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्