ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

चितवनका किसानको ड्रागन फ्रुट खेतीमा आकर्षण 

२०७८ भदौ, २८  
वाग्मती प्रदेश
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

भदौ २८, चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको पकेट क्षेत्र चितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै गइरहेको छ । 

साना किसानदेखि जिल्लाका अन्य व्यवसायीहरुले पनि ड्रागन फ्रुट खेती शुरु गर्न थालेका छन् । कोरोना प्रभावका अधिकांश उद्योग व्यवसायमा असर परेको बेला विकल्पको रुपमा उनीहरु कृषि व्यावसायतर्फ हात हालेका हुन् । 

विगत ३ वर्ष यता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रुपमा ड्रागन खेती शुरु भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ ।

वाग्मती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन खेती विस्तारका लागि काम शुरु गरेको बताए । 

उनका अनुसार समूहका रुपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको र अन्य व्यक्तिगत तर्फबाट साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् । वर्षेनी ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले बताए । 

शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सबेदा साईन्स एण्ड एग्रिकल्चर फर्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरु गरेको उनले जानकारी दिए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको सुबेदीको भनाइ छ । 

यो खेती स्वास्थ्यका दृष्टिकोणले धेरै फलदायी र एक पटक रोपेपछी २० वर्षसम्म फल लिन पाइने भएकाले यसबाट राम्रो लाभ लिन सकिने भएकोले यस खेतीतर्फ आफ्नो आकर्षण बढेको सुबेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० सम्म रहेको बताइन्छ ।

यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर २६ दिब्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरूङ र ताइबहादुर गुरूङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फर्म खोलेर एक बिघा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् ।

विदेशको रोजगारीबाट फर्केर यस खेतीको सम्भावना बढी भएकोले ड्रागन खेती थालेको उनीहरुको भनाइ छ । अन्य किसानले पनि सिको र परीक्षणको लागि पनि आफ्नो घर करेसाबारीमा समेत ड्रागन फ्रुट खेती शुरु गरेको देख्न सकिन्छ । भरतपुर महानगर २१ पार्वतीपुरका किसान नारायण प्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेको बताए । 

खाली खेर गएको जमिन पनि सदुपयोग हुने र ड्रागनको बिचमा अन्तर बालि पनि लगाउन मिल्ने भएकाले आफूले परीक्षणका रुपमा यस पटक ड्रागन खेतीको बिरुवासँगै धानखेती गरेकोे उनले बताए । चितवनमा ड्रागन फ्रुटको लागि उपयुक्त हावापानी र माटो रहेको र यसको माग र प्रतिफल पनि उच्च रहेकोले आफूहरु यस खेतीतर्फ आकर्षित भएको किसानहरुको भनाइ छ । 

ड्रागन अहिलेसम्म परीक्षणकै रुपमा रहेको नयाँ खेती भएको र किसानहरुले आफैले विभिन्न तरिकाहरु गरेर परीक्षण समेत गर्दै आएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकाल बताउँछन्  । 

यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने र चितवनको माटोमा यो खेती राम्रो हुने देखिएकाले आफूहरुले किसानलाई अनुदान प्रदान गरेर यहाका फार्मलाई नमूना र मोडल फार्मका रुपमा विकास गर्न लागेको ढकालले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्