ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरोनाका कारण पर्यटकको संख्या घटेपनि औसत बसाई भने बढ्यो

२०७८ भदौ, २९  
समाचार
Chelsea International Image Not Found

भदौ २९, काठमाडौं । कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको संख्या घटेपनि उनीहरुको औसत बसाई भने बढेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक २०२०’ अनुसार पर्यटकको औसत बसाई विगत वर्षभन्दा केही बढेर १५ दिन नाघेको छ । 

अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाई सरदर १२ दिन थियो । सन् २०१९ मा १२ दशमलव ७, सन् २०१८ मा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो । त्यसअघि सन् २०११ र सन् २०१६ मा क्रमशः १३ दशमलव १२ र १३ दशमलव १६ दिन पर्यटकको औसत बसाई थियो ।

पर्यटकको बसाई लम्बिएसँगै उनीहरुले गर्ने खर्च पनि बढेको छ । प्रतिपर्यटक खर्च विगत वर्षको तुलनामा वृद्धि भई ६५ अमेरिकी डलर पुगेको छ । अघिल्ला वर्षमा सरदर प्रति पर्यटक ४५ डलरसम्म खर्च हुने गरेको थियो । कोभिड महामारीका कारण सन् २०२० मा अघिल्लो वर्षको तुलनामा करिब ८० प्रतिशतले पर्यटक आगमनमा कमी आएको छ । 

सन् २०२० को पर्यटक आगमन संख्या दुई लाख ३० हजार ८५ मात्र रहेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ ।

महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करीब ७१ प्रतिशतले कमी आई करीब रू. २५ अर्ब आर्जन भएको छ । सन् २०२० मा १५३ टिमका ४४७ जनाले पर्वतारोहणका लागि अनुमति लिएका थिए जुन गत सालको तुलनमा ९२ प्रतिशतले कम हो ।

नेपालमा सन् २०२० सम्ममा द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको संख्या ४० पुगेको छ । अन्तरराष्ट्रिय उडान भर्ने नेपाली वायुसेवा कम्पनीको संख्या तीन रहेको छ भने नेपाल उडान भर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीको संख्या २७ ओटा पुगेको छ । मुलुकमा हाल एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थ छ ।

सन् २०२० सम्ममा आन्तरिक उडानतर्फ कुल ५४ विमानस्थल छन् । तीमध्ये ३७ विमानस्थल कालोपत्र गरिएको छ भने सबै मौसममा नियमित उडान हुनसक्ने विमानस्थलको संख्या ३५ रहेको छ । आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० वायुसेवा कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् । साहसिक र मनोरञ्जनात्मक उडान गर्ने कम्पनीहरुको संख्या ८० रहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्