ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आर्थिक समृद्धिमा तेजपात

२०७८ भदौ, ३०  
लेख | दृष्टिकोण
Chelsea International Image Not Found

अपार सम्भावना बोकेको महत्त्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्त्वपूर्ण साधन हुन् । वर्षेनि अर्बौं धनराशीको विभिन्न गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरूको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा विक्रीवितरणबाट अर्बौं धनराशी वर्षेनि भित्रिने गरेको छ । यार्सागुम्बालगायत अन्य महत्त्वपूर्ण जडीबुटीको विक्रीवितरणबाट दार्चुला, जुम्ला तथा डोल्पाजस्ता जिल्लामा करोडौं रुपैयाँ वर्षेनि जिल्ला भित्रिने गर्छ । यसैगरी मध्यपहाडका विभिन्न जिल्लाबाट पनि लाखौं, करोडौं मूल्य बराबरको जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विदेश निकासी भएर गइरहेको पाइन्छ । बेग्लैखालको बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार ‘तेजपात’ को आर्थिक महत्त्व रहेको छ ।

तेजपातको स्थानीय नाम तेजपात, सिनकौली, सिन्काउली, नेपाली दालचिनी हो । यसको अंग्रेजी नाम सिनामन र वैज्ञानिक नाम सिनामोमस् तमाला हो । लउरेसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पतिको उचाइ औसत १५ मीटरसम्म हुने एक सदावहार भ्mयाम्म परेको रूख हो । यो रूखको पातलाई तेजपात भनिन्छ र बोक्रालाई दालचिनी भन्ने चलन छ । यो समुद्री सतहबाट ४०० मीटरदेखि २००० मीटरसम्म उचाइमा पाइन्छ । यो पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म पाइने भए तापनि पश्चिम नेपालमा बढी मात्रामा पाइन्छ । धेरैजसो यसका पातहरू मसलाका रूपमा सोझै प्रयोग हुन्छ । यसका पातहरूमा सुगन्धित तेल पाइन्छ भने बोक्राहरू नेपाली दालचिनीका रूपमा निकासी हुने गरेको पाइन्छ । तेजपात १५०० मीटर उचाइसम्म ह्युमसयुक्त कालो माटो भएको ठाउँमा बढी फस्टाउँछ । यो चिलाउने, च्युरी, चुत्रो तथा खोटेसल्लो भएको वनमा मिसिएर रहेको हुन्छ ।

तेजपात मसलाका रूपमा बढ्दो बजारका कारण पहिलेपहिले जंगलबाट संकलन गरेर मात्र पठाउने प्रचलन रहे तापनि हाल आएर यसको खेती बढ्दै गएको छ । पाल्पा र उदयपुरलगायत नेपालका अन्य विभिन्न जिल्लामा समेत व्यावसायिक खेती शुरू भएको पाइन्छ । मकवानपुर, सल्यान, रूकुम, रोल्पा, दैलेख, बैतडी आदि जिल्लामा निजी तथा सामुदायिक वनहरूमा समेत यसको खेती गरिएको पाइन्छ ।

कलमीबाट रोपेको बिरुवाहरू ४ देखि ५ वर्षपछि बाली लिन उपयुक्त हुन्छ भने बीउबाट उमारिएको बिरुवाबाट ७ देखि ८ वर्षपछि मात्र बाली लिन सकिन्छ । तेजपातको पातहरूबाट वर्षको एकपटक पात्र बाली संकलन गर्न सकिन्छ । तेजपातको आयु ७० देखि ८० वर्षसम्म हुने भएकाले यसबाट निरन्तर बाली संकलन गर्न सकिन्छ । तेजपातको पात वा यसको बोक्रा संकलन गर्दा सुक्खा महीना जस्तै असोजदेखि वैशाखभित्र गर्दा उपयुक्त हुन्छ । यसको पात संकलन गर्दा रूखका मसिना हाँगाहरू भाँचेर संकलन गरिन्छ । यसको पात संकलन गर्दा पूरै रूख नाङ्गो हुनेगरी संकलन गर्नु हुँदैन । संकलन गरिएका मसिना डाँठसहितका पातहरू ३ देखि ४ दिनसम्म घाममा सुकाई सानासाना मुठा बनाई राख्नुपर्छ । सुकेपछि जुटका बोरमा हाली ओभानो ठाउँमा भण्डारण गर्नुपर्छ । तेजपातको ५ देखि १० वर्षका रूखहरूबाट १०० किलोग्रामसम्म, १० देखि १५ वर्षका रूखहरूबाट १०० देखि २०० किलोग्रामसम्म र त्योभन्दा माथि उमेरका रूखहरूबाट २०० देखि २५० किलोग्रामसम्म पात प्राप्त हुने गछै । साथै, बिरूवा लगाएको ५ देखि ७ वर्षपछि तेजपातबाट बोक्रा संकलन गर्न सकिन्छ ।

तेजपातमा उपयोग हुने भनेको बोक्रा र पात हो । व्यापारिक प्रयोजनका लागि गैरकाष्ठ वन पैदावारमा तेजपातले एउटा महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । यसको पात पेटको दुखाइ निको पार्ने औषधिको प्रयोग गरिन्छ भने बोक्रा वान्ता रोक्ने, पोटसम्बन्धी रोगको उपचार गर्न, झाडा पखला रोक्न तथा उत्तेजना बढाउने खालका औषधि बनाउनमा प्रयोग गरिन्छ । त्यस्तै यसको तेल हाडजोर्नी, टाउको तथा दाँत दुखेको कम गर्न समेत प्रयोग गरिन्छ । व्यापारिक रूपमा नेपालबाट पात र बोक्रा सोझै अन्य देश पठाइने गरिएको छ जसमा ९० प्रतिशतभन्दा बढी भारत निकासी हुन्छ ।

निष्कर्षमा नेपाल वन र वनस्पतिको दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण छ । यहाँ पाइने करीब ७०० प्रजातिको गैरकाष्ठ वन पैदावार तथा जडीबुटीबाट पर्याप्त आम्दानी तथा लाभ लिनसक्ने सम्भावना हुँदाहुँदै पनि राष्ट्र तथा स्थानीय स्तरमा उल्लेखनीय रूपमा यसको लाभ लिन सकेको देखिँदैन । उपलब्ध गैरकाष्ठ वन पैदावारहरूलाई वैज्ञानिक अध्ययन, दिगो व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवर्द्धनद्धारा स्थानीय समुदायको आयस्तामा वृद्धि, रोजगारी सृजना र गरीबी न्यूनीकरणका लागि एउटा भरपर्दाे आधार बनाउन सकिन्छ । यसका लागि सम्बद्ध निकाय सदा क्रियाशील र समर्पित रहनुपर्छ । अतः तेजपात मसला र विभिन्न आयुर्वेदिक औषधिहरू बनाउन प्रयोग हुने भएकाले यसको माग नेपाल, भारत तथा विश्वभरी बढ्दो छ र नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा हाम्रो देशमा तेजपात खेतीको प्रचुर सम्भावना रहेको छ । तेजपात खेतीको यस सम्भावनालाई योजनाबद्ध तरीकाबाट तिनै तहको सरकारले व्यावसायिक रूपमा विकास गरी नेपालमा रहेका विभिन्न आयुर्वेदिक औषधालय तथा मसला बनाउने कम्पनीहरूमा यसको मागलाई पूर्ति गर्न सके देशैमै रोजगारीको सृजना गरी देश आर्थिक चलायमान बनाउन सकिने थियो ।

लेखक गुणस्तीय जीवनसम्बन्धमा विद्यावारिधि हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्