ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रदेश १ मा मन्त्रिमण्डल विस्तार

२०७८ भदौ, ३०  
प्रदेश ०१
Chelsea International Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पाँच सदस्य मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका छन् । थपिएका मन्त्रीहरूलाई बुधबार साँझ सपथ  गराइएको छ ।

थपिएका मन्त्रीमा संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामला तथा योजना, झापाका हीराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लीलावल्लभ अधिकारीलाई आन्तरिक मामला तथा कानुन राज्यमन्त्रीको जिम्मा दिइएको छ ।

यसअघि ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकासमन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग, वन, पर्यटन र वातावरणमन्त्री नियुक्त भएका थिए । नयाँ मन्त्रिमण्डल विस्तारसँगै प्रदेश १ को मन्त्रिपरिषद् आठ सदस्यीय भएको छ ।

मुख्यमन्त्रीपछि मन्त्रीहरूको पहिलो वरीयतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी र चौथोमा साम्सोहाङ रहेका छन् । यस्तै, बस्नेत पाँचौं, राजवंशी छैटौं र अधिकारी सातौं वरीयतामा नियुक्त भएका हुन् ।

नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत नलिई मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

संविधानअनुसार मुख्यमन्त्रीको पार्टी विभाजन भएपछि ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनुपर्छ । एमालेको विभाजनले भदौ ९ गते निर्वाचन आयोगबाट वैधानिकता पाएकाले असोज ८ गतेभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने माग विपक्षी गठबन्धनले गरिरहेको छ ।

मुख्यमन्त्री आचार्यले असोज अन्तिम साता मात्र विश्वासको मत लिने तयारीसहित मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

बुधबार राज्यमन्त्री बनाउने प्रस्ताव गरिएका एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी, उदयपुरका सांसद विमल कार्की र अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री रहेका राजकुमार ओझाले भने पद अस्वीकारेका थिए ।

यसैबीच मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । बैठकको सुरुतमै मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । प्रदेशसभामा हाल एमालेका सभामुखसहित ४१ सदस्य मात्र कायम रहेको र अन्य कुनै विपक्षी दलले समर्थन गर्ने सम्भावना नदेखिएकाले उनले विश्वासको मत पाउन कठिन छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्