ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पुल निर्माणमा ढिलाइ

२०७८ भदौ, ३१  
गण्डकी प्रदेश
Chelsea International NA

तनहुँ । तनहुँको दुई पालिका जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुल निर्माण छ वर्ष बित्दा पनि सकिएको छैन ।

संघीय सरकारको लगानीमा निर्माण शुरू भएको सो पुलको म्याद तीनपटक थप गरिएको छ । हालसम्म तीन पिलरको काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्न अझै केही वर्ष लाग्ने देखिएको स्थानीयवासी प्रेमबहादुर थापाले बताए । पुल निर्माण नहुँदा सेतीपारिका भिमाद नगरपालिका र शुक्लागण्डकी तथा स्याङ्जाको हरिनास गाउँपालिकाका बासिन्दा मारमा परेका छन् । ‘जोखिम मोलेर झोलुंगे पुलको प्रयोग गर्नुपरेको छ,’ उनले भने, ‘धेरै पटक दुर्घटना भएको छ ।’

पक्की पुल नहुँदा भिमाद बजार भएर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । पुल नबन्दा सेतीपारिको विकासको गतिविधि ठप्प छ । ठूला सवारीसाधन घुमाउरो बाटो हुँदै पृथ्वीराजमार्ग पुग्नुपर्ने बाध्यता छ । भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ बर्खाको बेला सास्ती खेप्नु परेको बताउँछन् । २०७२ असार ३० गते सम्झौता भई २०७५ असार २९ मा ८ करोड ८० लाखमा सम्पन्न गर्नेगरी एड्भेन्चर कन्स्ट्रक्शन, चितवनलाई उक्त पुल निर्माणको ठेक्का दिइएको थियो । २०७५ चैत, २०७७ फागुन र २०७८ भदौमा पुल निर्माणको म्याद थप गरिएको छ । कोरोनाका कारण पुल निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय, तनहुँका इञ्जिनियर दीपेन्द्र पन्थले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्