ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वीरगञ्जका होटल व्यवसायीको प्रश्न : कोरोना मानिसबाट फैलिन्छ कि गाडीबाट ? 

२०७८ भदौ, ३१  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, वीरगञ्ज   । वीरगञ्जका होटल व्यवसायीले सीमावर्ती भारतीय नाकाबाट निजी सवारी साधनको आवागमन खोल्न माग गरेका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले २०७६ चैतदेखि निजी सवारी साधनको आवतजावत रोक्दा सीमावर्ती स्वदेशी शहरको होटल तथा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको उनीहरूले बताए । 

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले बुधवार साँझ वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा सीमा क्षेत्रमा सबै खालको आवागमन र उद्यम व्यापार सामान्य अवस्थामा आइसकेकाले निजी सवारी साधनलाई मात्र रोक लगाउनुको औचित्य नभएको तर्क सरोकारका पक्षले गरेका हुन् । 

सरकारले कोरोना महामारी नियन्त्रणका लागि भारततर्फ निजी सवारी साधनको आवतजावत रोकको थियो । अन्य सबै गतिबिधि सञ्चालनमा आइसक्दा सवारीमाथि लगाएको रोक अझै हटाइएको छैन । 

सीमानामा सवारी आवागमन बन्द हुँदा यस क्षेत्रमा सञ्चालनमा रहेका होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जमा अध्यक्ष हरि पन्तले बताए । ‘भारतीय सीमानाबाट मानिसको आवागमन निर्वाध रुपमा भइरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि निजी सवारी साधनको आवागमनमा लगाइएको रोक भने अझै हटेको छैन,’ अध्यक्ष पन्तले भने । 

सीमावर्ती क्षेत्रका होटल भारतीय पाहुनामा आधारित रहेकाले आवागमन सहज नहुँदा व्यवसाय प्रभावित भएको उनको भनाइ छ । अहिले निषेधाज्ञा नाममात्रको रहेको र अन्य बजार, व्यवसाय सामान्य लयमा फर्किइसकेको अवस्थामा सवारी आवागमनमा मात्र रोक लगाउनु अव्यावहारिक भएको व्यवासीहरूको भनाइ छ । 
कार्यक्रममा भिडियोमार्फत वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले स्वास्थ्य सतर्कताका मापदण्ड बनाएर होटल र पर्यटन व्यवसायलाई चालायमान बनाउन अब ढिला गर्न नहुने बताए ।

‘बन्दाबन्दी र निषेधाज्ञाको बेलामा पनि नाकामा मानिसको आवागमन रोकिएन । अहिले त सीमा क्षेत्रमा कोरोनाको जोखिम कम छ । त्यसमा पनि मानिसहरू पैदल हिँड्दा कोरोना नसर्ने, सवारीका साधनबाट सर्ने भन्ने सरकारको बुझाइ नै गलत छ’, प्रमुख सरावगीले भने, ‘सीमानाबाट निजी गाडीको आवागमनमा लगाइएको रोक तत्काल हटाउनु पर्दछ ।

डेढ वर्षदेखि सीमानाबाट सवारी बन्द हुँदा सीमा क्षेत्रका होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको वीरगञ्जको लर्ड्स दियालो होटलका सञ्चालक अनिल रुंगटाले बताए । सीमानामा प्रभावकारी र छरितो स्वास्थ्य सतर्कताको मापदण्ड बनाएर सीमानाबाट सवारी साधन सञ्चालनमा लागेको रोक तत्काल हटाउन रुंगटाले माग गरे । 

सीमानामा सवारी खोल्ने विषयमा कुरा गर्दा स्थानीय प्रशासनले माथिल्लो निकायलाई देखाउने गरेको नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको भनाइ छ । भारतीय ग्राहक नआउँदा सीमाक्षेत्रसँगै नेपालका अन्य क्षेत्रको पर्यटन व्यवसाय पनि प्रभावित भएको सभापति द्विवेदी बताउँछन् । 

भारतीय पर्यटक सीमानामा गाडी थन्क्याएर पैदल हिड्दै दुःख पाउनका लागि नेपाल नआउने तर्क नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठको छ । ‘विगतमा नेपाल आउने भारनको बिहारका पर्यटक यो समस्याका कारण अहिले आफ्नै देशको गोवातर्फ जान थालेका छन् । भारत पूर्ण खोपतिर अग्रसर भइसकेकाले अब हामीले भारतबाट कोराना भित्रिएका भन्ने डर पाल्नु आवश्यक छैन,’ लाठले भने । 

अहिले भारतबाट दैनिक हजारौंको संख्यामा पैदल भित्रिने मानिसहरू आफ्ना ग्राहक नभएको र गाडीको आउजाउ खुला नभएसम्म होटलका ग्राहक नभित्रिने व्यवसायी रन्जेश श्रेष्ठको भनाइ छ । 

होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचेन्द्र सिंह थापाले होटल व्यवसाय बन्द गरेर सरकारलाई तालाचाबी बुझाउने अवस्था आइसकेको गुनासो गरे । सीमावर्ती क्षेत्रमा  खुलेका ८० प्रतिशत होटलका ग्राहक भारतीय नै रहेकाले गाडी आउजाउमा लगाइएको प्रतिबन्ध तत्काल खोल्नुपर्ने संघका उपाध्यक्ष कुमार श्रेष्ठले बताए । 

होटल व्यवसाय धरापमा पर्दा रोजगारीमा समेत धक्का लागेको होटल व्यवसायी दिलिपराज कार्कीले बताए । सवारी आवागमन नहुँदा सीमा क्षेत्रका होटल र पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको कार्कीको भनाइ थियो । 

पैदल हिड्ने मानिसको भीडबाट कोरोनाको जोखिम बढी हुन्छ, तर निजी सवारी साधनको आवागमनले जोखि घटाउँछ भन्ने तथ्य सरकारले बुझ्न नसक्नु विडम्वना बनेको व्यवसायीको गुनासो छ । 

सीमा क्षेत्रका होटल व्यवसायले भोगेको समस्याका बारेमा विगतमा पनि सरोकारका निकायको ध्यानाकर्षण गराएकोमा माग सम्बोधन नभएको व्यवसायीले बताए । समस्या सुनुवाइ नभएकाले प्रधानमन्त्रीलाई नै भेटेर समाधानको आग्रह गर्ने तयारीमा लागेको पन्तले जानकारी दिए । 

व्यवसाय नचल्दा बैंकको ब्याज, होटलको भाडा, कर्मचारीको पारिश्रमिक, विद्युत्लगायतका नियमित खर्चको भार बढिरहेको र कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको गुनासो व्यवसायीको छ । 
 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्