ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोन्करले विशाखापत्तनम् बन्दरगाहबाट पनि घटायो रेल भाडा

२०७८ असोज, १  
समाचार
Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । नेपालको समुद्रपार व्यापारमा कन्टेनर ढुवानी गर्दै आएको भारतीय कन्टेनर निगम (कोन्कर)ले भारतको विशाखापत्तनम् बन्दरगाहबाट पनि ढुवानी भाडा घटाएको छ ।

भारतको विशखापत्तनम्, कोलकाता र हल्दिया बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्म रेलबाट कन्टेनर ढुवानीमा प्रतिस्पर्धी कम्पनीको प्रवेशलगत्तै कोन्करले भाडा घटाएको हो ।

कोन्करले विशाखापत्तनम्बाट वीरगञ्जसम्मको प्रतिकन्टेनर ढुवानी भाडा भारतीय रुपया (भारू) १५ हजारदेखि २६ हजारसम्म घटाएको सूचना निकालेको छ । यसअघि कोलकाता र हल्दियाबाट ढुवानी भाडा घटाएको थियो ।

अब विशाखापत्तम्बाट २० फीटको कन्टेनरमा ३१ मेट्रिकटनसम्म मालसामान वीरगञ्ज ल्याउन भारू ५५ हजार तिरे पुग्छ । त्यस्तै ४० फीटको कन्टेनरमा ४० मेट्रिकटनसम्मको भाडा ७७ हजार तोकिएको छ । २ दिनअघिसम्म यो भाडा क्रमशः ७५ हजार ९०० र १ लाख २ हजार १०० थियो ।

यसअघि ढुवानीमा एकाधिकार जमाएको कोन्करको प्रतिस्पर्धामा निजी भारतीय कम्पनी आएपछि भाडा घटाएको हो । बुधवार हिन्द टर्मिनलको रेल भारतको हल्दिया बन्दरगाहबाट कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगाहमा आइपुगेकै दिन कोन्करले भाडा पुनरवलोनको सूचना निकालेको थियो ।

कोन्करले नयाँ भाडादर आगामी मार्च अन्तिमसम्म लागू हुने बताएको छ । तेस्रो मुलुकबाट भारतीय बन्दरगाहमा आएका कन्टेनर ढुवानीमा कोन्करसहित ४ कम्पनी प्रतिस्पर्धामा आएका छन् । ढुवानीमा प्रतिस्पर्धा सकारात्मक भए पनि यसबाट नेपालको ढुवानीको लागत कम हुने कि नहुने भन्नेमा व्यवसायी अन्योलमा छन् । नेपाली आयातकर्ताले अहिले कोन्करसँग सिधा सम्पर्क गर्दैनन् । वीरगञ्जसम्मकै ढुवानीको जिम्मा सिपिङ कम्पनीले लिने भएकाले यो अन्योल देखिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का यातायात तथा पारवहन समिति संयोजक अशोककुमार टेमानी कोन्करले भाडा घटाए पनि त्यसको लाभ सिपिङ कम्पनीमार्पmत लिनुपर्ने बताउँछन् । ‘कोन्करले भाडा घटाएको सूचना त गरेको छ । तर, सिपिङ कम्पनीले कस्तो भाडा दर दिने हुन्, त्यो अहिलेसम्म स्पष्ट छैन,’ टेमानीले भने, ‘यसैले भाडा दर कटौतीको लाभ नेपाली आयातले कसरी पाउँछन्, अहिल्यै भन्न सकिने अवस्था पनि छैन ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्