ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

म्याग्दीका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल

२०७८ असोज, ४  
गण्डकी प्रदेश
NA

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थल करिब ५ महिनापछि खुल्न थालेका छन् । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि गत वैशाख दोस्रो सातादेखि यहाँका पर्यटकीय स्थलमा भ्रमणमा रोक लगाइएको थियो ।

कोरोना संक्रमण कम हुँदै गएको, कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रम चलिरहेकाले आर्थिक गतिविधि र जनजीवन सहज बनाउन पर्यटकीय स्थल खुलाइएको हो ।
    
घोडेपानी, मोहरेडाँडा, खोपारा, टोड्के, रुइसे, झाँक्रीपानी, धवलागिरि र अन्नपूर्ण आधारशिविर, नारच्याङ झरना, मायालुडाँडालगायत पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकक आगमन सुरु भएको छ ।

सिंगा, भुरुङ–तातोपानी, गुर्जा, ढोरपाटन सिकार आरक्ष, गुर्जालगायत स्थलमा भ्रमण खुलाउन सम्बद्ध पालिका र प्रशासन कार्यालयमा अनुमति मागिएको छ ।     
अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीको टोल सुधार समितिका संयोजक वीरेन गर्बुजाले आन्तरिक पाहुना आउन थालेकाले असोज १ गतेदेखि सबै पाहुनालाई भ्रमण खुला गरिएको बताए ।

‘घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि फाट्टफुट्ट पाहुना आउन थालेका छन्,’ उनले भने, ‘असोज १ गतेदेखि औपचारिक रूपमै होटल र पर्यटकलाई भ्रमणका लागि खुलाएका छौं ।’

गाउँपालिकाको अर्को पर्यटकीय स्थल भुरुङ तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष अमृतमान शेरचनले मुस्ताङमा निषेधाज्ञा हटाइएपछि त्यहाँ आउजाउ गर्ने पाहुनाका लागि पनि बाटामा पर्ने भएकाले होटल खुलाइएको बताए ।

‘काठमाडौं, पोखरा, मुस्ताङमा सबै खुला भइसकेपछि पाहुना आउन थालेका छन्,’ उनले भने, ‘अहिलेसम्म तातोपानीमा बाहिरबाट आएकालाई स्नान गर्न दिएका छैनौं । अब बन्द गरेर हँुदैन भनेर पालिका र प्रशासनसँग समन्वय गरेर खुलाउने तयारीमा छौं ।’ तातोपानी र पुनहिल भ्रमणमा आउने पर्यटकबाट गाउँपालिकाले ठेक्का प्रतिस्पर्धाबाट प्रवेश शुल्क उठाउने गरेको थियो । गत आर्थिक वर्ष ०७७/७८ मा प्रवेश शुल्क उठाउन नपाउँदा गाउँपालिकाको करिब १ करोड आम्दानी गुमेको छ ।

यो वर्ष प्रवेश शुल्क कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा गाउँपालिकाले अझै निर्णय लिन सकेको छैन । प्राकृतिक उपचार स्थलका रूपमा परिचित बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिवकुमार केसीले स्नानका लागि खुला गर्न नगरपालिका र प्रशासनसँग अनुमति मागिएको बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्