ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आम्दानीको स्रोत प्याङ व्यवसाय

२०७८ असोज, ६  
लेख | दृष्टिकोण
Image Not Found

ललितपुर जिल्लाको सातदोबाटोबाट झन्डै ७ किमी दक्षिणमा रहेको चापागाउँभित्र पुरानो शैलीको घर, घरअगाडि आँगनमा मकैका अग्ला थांग्रा देखिने गुजमुज्ज परेको बस्ती रहेको छ, जसको नाम हो, प्याङगाउँ । गोदावरी नगरपालिकाअन्तर्गत पर्ने यस गाउँको आफ्नै मौलिक संस्कृति, पेशा, व्यवसाय रहेको छ । प्याङगाउँवासीको मौलिक व्यवसाय भनेको प्याङको भाँडा बनाउनु हो ।

ठूलो बाँसलाई काटेर, सुकाएर खपटा बनाएको वस्तु नै प्याङ हो । वर्षभरिको ४ महीना मङ्सिर, पुस, माघ, फागुनभित्र संकलन गरिएको ठूलो बाँसबाट मात्र खपटा (प्याङ) बनाउन सकिन्छ । यसलाई आवश्यकताअनुसार मोड्न सक्ने हुँदा चाहेको जस्तो भाँडा बनाउन सकिन्छ । बाँसको खपटाबाट बनाइएका प्याङको माना, पाथीबाट नै गाउँको नाम प्याङगाउँ भनी परिचित हुन गएको हो । प्याङ बनाउने व्यक्तिहरू पुरानो शङ्खुबाट चापागाउँ आई छुट्टै प्याङगाउँ बस्ती बसालेका थिए ।

मल्लकालीन समयमा राजाबाट मान्यताप्राप्त भएको व्यवसायको रूपमा प्याङ व्यवसायलाई लिने गरेको इतिहास छ । भक्तपुरे राजाको सन्तान राजकुमारले आफ्नो मामाघर शङ्खुमा रहँदाको अवस्थामा बाबुको खोजी गर्दा आमाले आफ्नो सन्तानलाई भक्तपुर दरबार लान बाध्य भएको र ती राजकुमारले जीवन निर्वाह गर्नका लागि प्याङबाट भाँडा बनाउने व्यवसायको रूपमा प्याङ व्यवसाय मागेको ऐतिहासिक कथन रहँदै आएको छ । यस गाउँमा प्रशस्त मात्रामा बाँस पाउने भएर ती राजकुमारले प्याङ व्यवसाय मागेको कारणले बाँसबाट भाँडा बनाउन थालेको भन्ने गरिन्छ । यस ठाउँमा बनाइएको प्याङको माना, पाथी मल्लकालदेखि नै लालमोहर लागेसरह कानूनी मान्यताप्राप्त थियो भनिन्छ ।

प्याङबाट विभिन्न प्रकारका भाँडा बनाउन राम्रो गुणस्तरको ठूलो बाँसको आवश्यकता पर्छ । मङ्सिर महीनादेखि फागुन महीनासम्म संकलन गरिएको राम्रो बाँसबाट मात्र प्याङ बन्ने गर्छ । चापागाउँ तथा आफू बसोवास रहेको स्थानीय ठाउँमा राम्रो बाँसको अभाव रहेको हुँदा बाँसको खोजीमा यहाँका मानिसहरू ललितपुरको भट्टेडाँडा, प्युटार हुँदै दमार, फपरबारी, चम्पाघारी, वागमती पारि मकवानपुरको विभिन्न वनजंगलमा समेत पुग्ने गर्दथे । त्यसरी ल्याइएका बाँसका खपटाहरूबाट माना, पाथीजस्ता विभिन्न प्रकारका भाँडाहरू बनाई पूर्वमा पाँचखाल, नमोबुद्ध, पलाञ्चोकसम्म र पश्चिममा नुवाकोट, मनकामना, टिस्टुङ, पालुङ, दामनसम्म पुगेर बेच्न जाने गर्दथे ।

बाँसको प्याङबाट बनाउने भाँडा यस गाउँमा बाहेक अन्यत्र कुनै ठाउँमा बन्ने गरेको पाइँदैन । अरू भाँडा जस्तो प्याङबाट बनाइएका भाँडा बजारमा सजिलै किन्न पाइँदैन । यसबाट बनाइएका भाँडाहरू हलुको, छिटो नफुट्ने, चाँडो कीरा नलाग्ने, बढी टिकाउ हुने गर्छ । चोखो भाँडाका रूपमा प्याङको भाँडालाई लिने हुँदा पहिलेदेखि नै देवीदेवताको पोशाक, गरगहना राख्न मन्दिरमा प्रयोग हुने गर्दथे । स्थानीय तथा अन्य व्यक्तिले समेत यसको टिकाउपनाको कारण घरघरमा समेत आयुर्वेदिक औषधि भण्डार गरी राख्न प्याङको भाँडा प्रयोग गरेको पाइन्छ । नेपाल भाषामा यस्ता भाँडालाई ड्याँचा, पोंचा, हापा भन्ने गरिन्छ । यो भाँडा बनाउने सम्बन्धमा प्याङगाउँवासीलाई मल्लकालदेखि नै प्रशासनिक रूपमा प्रमाणितपत्र प्राप्त भएको कुरा स्थानीय नवराज महर्जनको बुझाइरहेको छ ।

प्याङको माना, पाथीलगायत विभिन्न भाँडा बनाउनु प्याङगाउँवासीको मौलिक व्यवसाय हो । यो व्यवसायमा मेशिनरी औजारको प्रयोग नभई परम्परागत शीप, स्थानीय प्रविधि एवम् कच्चा पदार्थ प्रयोग भई सञ्चालन हुने गर्छ । अहिले प्याङबाट बन्ने भाँडालाई प्लाष्टिक, आल्मुनियम, पितल, तामा, फलामका भाँडावर्तनले प्रतिस्थापन गर्दै लगेका छन् । यसको उत्पादन गाउँमा मात्र सीमित भएर रहेको छ । यसको बजार प्रवर्द्धन हुन सकेको छैन । प्रविधिको सदुपयोग गर्दै अनलाइनमार्फत प्याङको भाँडाको विक्रीको लागि बजार खोज्न सकिने अवस्था छ । मानिसहरूको मागको आधारमा मात्र बन्ने गरेको अहिलेको अवस्थाले देखाएको छ । अहिले प्याङको भाँडा बनाउने काममा संकुचन आउन थालेको छ । पुराना पुस्ता माझ लोकप्रिय रहेको प्याङ व्यवसाय अहिले शिथिल हुँदै गएको छ । अहिले सजिलैसँग राम्रो गुणस्तरको बाँस नपाउने कारणले पनि यस व्यवसाय संकटमा पर्ने अवस्था देखिएको छ ।

राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय उद्योगधन्दा र साधनस्रोतको संरक्षण र प्रवर्द्धन गरी नेपाली श्रम, शीप र कच्चा पदार्थमा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिने नीति राज्यको हुने गरी नेपालको संविधान २०७२ मा उल्लेख गरिएको छ । परम्परागत शीप र प्रविधिमा आधारित, श्रममूलक र खास शीप वा स्थानीय कच्चा पदार्थ एवम् स्थानीय प्रविधि, कला तथा संस्कृतिमा आधारित उद्योगलाई घरेलु उद्योग मानिने गरी औद्योगिक व्यवसाय ऐन, २०७६ मा उल्लेख गरेको छ । संविधान तथा कानूनी व्यवस्थालाई हेर्दा प्याङ व्यवसाय पनि घरेलु उद्योगभित्र पर्ने कुरामा विवाद छैन । घरेलु उद्योगलाई कानूनले नै कर छूटको व्यवस्था गरेको छ । यसलाई आम्दानीको स्रोत बनाउन प्याङगाउँबासीले सोच्नुपर्ने अवस्था आइसकेको छ ।

यस व्यवसायलाई जोगाइराख्न स्थानीय स्तरमै प्याङको भाँडा बनाउने शीप सिकाइ, बजार प्रवद्र्धन तथा आवश्यक व्यवस्थापनको कार्य स्थानीय स्तरबाट महादेव युवा क्लब गर्दै आए तापनि व्यवसायका रूप दिन सकेको छैन । यसलाई नेपालको मौलिक हस्तकलाका रूपमा विकास गर्दै लैजानुपर्ने भइसकेको छ । लोपोन्मुख अवस्थामा रहेको प्याङ व्यवसायलाई व्यवस्थित बनाउनेतर्फ स्थानीय तह, राजनीतिक दल तथा संघसंस्थाहरूले समेत आवश्यक कार्य गर्नुपर्ने भइसकेको छ । प्याङका भाँडावर्तनलाई नेपालको मौलिक हस्तकलाको रूपमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा समेत चिनाउनेतर्फ सर्वप्रथम स्थानीय तहबाट नै कार्य अगाडि बढाउनुपर्ने भएको छ । भविष्यमा प्याङको अस्तित्व लोप हुन नदिन अहिलेको आधुनिक जमानामा टिकटक र पब्जीमा श्रम खर्च नगरी प्याङ व्यवसायतिर आफ्नो श्रम, शीप लगाएको खण्डमा मौलिक व्यवसायको संरक्षण हुने र प्याङगाउँवासीको आम्दानीको राम्रो स्रोत बन्ने पक्कापक्की छ ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्