ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सुदूरपश्चिममा उद्योग दर्ता बढ्दो

२०७८ असोज, ८  
सुदूरपश्चिम प्रदेश
NA

धनगढी । पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता बढ्दै गएको छ । लगानीमैत्री वातावरण बन्दै गएकाले प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २२६ ओटा सेवामूलक उद्योग दर्ता भएका छन् । यसैगरी कृषि र वनमा आधारित उद्योगको संख्या ८ हजार ६७२, ऊर्जामूलक ६ हजार ३८५, उत्पादनमूलक ५ हजार ६१३, पर्यटनका ४ हजार १८ र निर्माणसम्बन्धी २३१ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले जानकारी दिए ।

कोरोना महामारीका कारण धेरै व्यक्ति स्वदेश फर्केर लघु उद्यमतिर लागेर स्वरोजगार बन्दै आएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू देशभित्रै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम बढेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशमा लघु उद्यमीको संख्या २२ हजार ५७९ रहेको तथा तीमध्ये सक्रिय लघु उद्यमीको संख्या १७ हजार ६८ र निष्क्रियको संख्या ५ हजार ५११ रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय रोजगारीका लागि विदेश गएर घर फर्किएका युवा होटल तथा रेस्टुरेन्ट, पर्यटन उद्योग, ग्रील उद्योग, कृषि तथा पशु फार्म, निर्माणजस्ता साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएका छन् । महिलाका नाममा दर्ता हुने प्राइभेट फर्मसम्बन्धी उद्योग दर्तामा छूट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पाइएको मन्त्रायलयले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्