ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भवन निर्माणमा भूमि छनोट : उपयोगी हुन सक्छ वास्तुशास्त्र विधि

२०७८ असोज, ८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । वासस्थानसम्बन्धी अध्ययन नै वास्तुशास्त्र हो । वास्तुशास्त्र प्राचीन आर्किटेक्ट इन्जिनियरिङ हो । आधुनिक आर्किटेक्ट डिजाइनअघि वास्तुकलाको प्रयोगद्वारा कलात्मक भवन, मठमन्दिर, दरवार निर्माण गरिन्थ्यो । ती आजसम्म पनि जिउँदो इतिहासको रूपमा रहन सफल छन् । अहिलेका आधुनिक इन्जिनिरिङभन्दा कलात्मक, टिकाउ, भूकम्प प्रतिरोधात्मक, आकर्षक रहेका छन् । यिनको आयु कल्पनाभन्दा बाहिर धेरै वर्षसम्म जीवन्त रहन सफल छन् । जुन कार्यमा आधुनिक इन्जिनियरिङ असफलजस्तो देखिएझैं लाग्छ ।

वास्तुशास्त्र विधिअन्तर्गत घर निर्माणमा प्राकृतिक वस्तुलाई विशेष ध्यान दिइएको हुन्छ । यसमा पहिलो नम्बरमा भूमि नै प्रमुख रूपमा आउँछ । घर निर्माणका लागि भूमि (जमिन) लाई महत्व दिइएको छ । भूमि नै बलियो घर निर्माणको पहिलो आधार भएकाले वास्तुशास्त्रमा यसलाई पहिलो प्राथमिकता दिइएको हो । वास्तुशास्त्रअनुसार घर निर्माणमा भूमि, भूमि परीक्षणलगायत केही महत्वपूर्ण विषय उठान गरिएको छ ।

भूमि (जमिन) को छनोट
भूमि नै भवनको आधार हो । भूमिमाथि भवन बनाइने भएकाले जमिनको भावरवहन क्षमताको आधारमा गृहको परिकल्पना गरिएको हुन्छ ।  माटोको रंगअनुसार भिन्न–भिन्न प्रकारका कार्य गरिने वास्तुवेदमा उल्लेख छ । माटो सेतो, रातो, पहेंलो र कालो विविध रंगका हुन्छन् । ढुंगा मिसिएको, गेगर भएको सेतो माटो, रातो माटो, चट्टान परेको स्थान, भवन निर्माण तथा सहर बस्तीका लागि उपयोगी हुन्छ । यसमा भारवहन क्षमता बढी हुने भएकाले भवन निर्माणका लागि उपयुक्त मानिएको हो । भारवहन क्षमता कम हुने भएकाले भवन निर्माणका लागि कालो माटो उत्तम मानिएको छ । वास्तुशास्त्रअनुसार कालो माटो खेतीका लागि सबभन्दा उपयुक्त मानिएको छ ।

चारै कुना मिलेको जमिन छ भने शुभ मानिन्छ । त्यस्तै, हात्तीको आकार भएको, सिंहको जस्तो आकार भएको, साँढेको जस्तो आकार भएको, घोडाको आकारको, गोलाकार भएको, लम्बाइ, चौडाइ बराबर भएको (भद्रपीठवाला) त्रिशूल र शिवलिंगको जस्तो आकार भएको, कलश घडा भएको भूमि शुभ हुन्छ । आकारको हिसाबले वर्गाकार, आयातकार, वृत्ताकार जमिन शुभ मानिन्छ । चतुष्कोणाकार, षटकोणकार, अष्टकोणाकार, गोमुखाकार (मोहडा थोरै, पिछाड धेरै भएको), सिंहमुखाकार (मोहडा धेरै, पिछाड कम भएको), भद्रासन (लम्बाइ, चौडाइ कम भएको, अगाडि साँघुरो भएको, पछि फराकिलो (कागजस्तो) यी सबै भूमि भवन निर्माण गर्न शुभ मानिन्छन् । वास्तुशास्त्रअनुसार यी जमिन फलदायी मानिन्छ ।

भूमि परीक्षण
गृह निर्माण गरिने भूमिको माटो परीक्षण गराउनुपर्दछ । भूमिको परीक्षणबाट गृह निर्माण गर्न उपयुक्त छ÷छैन भन्ने कुरा जान्न सकिन्छ । जमिनको विषयमा जानकारी भएपछि मात्र त्यसै अनुकूलको गृह निर्माण गर्न सकिन्छ । वास्तुशास्त्रमा विभिन्न ६ प्रकारका भूमि परीक्षण विधिबारे चर्चा गरिएको छ । यहाँ केही विधिबारे चर्चा गरिनेछ, जुन हामी सबैले प्रयोग गर्न सक्छौं ।

भवन निर्माण गरिने जमिनको कुनै एक स्थानमा २.५ इन्च लामो, २.५ चाक्लो र २.५ गहिरो खाडल खन्ने । खनेको माटोलाई पुनः  त्यही खाडलमा भर्दा बाँकी रह्यो भने उक्त जमिन उत्तम मानिन्छ । खाडलमा माटो ठिक्क भयो भने मध्यम मानिन्छ र यदि माटोले भर्दा खाडल पुरिएन भने उक्त स्थान नराम्रो मानिन्छ ।

एक हातभन्दा बढी लम्बाइ, चौडाइ र गहिराइ भएको खाडल खनेपछि त्यो खाडलमा पानीले भरेर पूरा जमिनको सतहसम्म पानी आएपछि दौडिँदै १०० कदम परसम्म पुग्ने र फर्केर दौडिँदै आएर हेर्ने । खाडलमा पानीको सतह घटेको रहेछ भने भूमि शुभ मानिँदैन । पानी जस्ताको तस्तै रहेको छ वा घटेको छैन भने भूमि शुभ मानिन्छ । आधा घटेको छ भने मध्यम मानिन्छ र पूर्ण रूपमा सुकेको छ भने भूमि नराम्रो मानिन्छ । यो पद्धति माटो गुण तथा भारवहन क्षमताको परीक्षण गर्न उपयोगी मानिन्छ ।

भवन निर्माण गर्ने स्थलमा एउटा खाडल खनेर भूमि परीक्षण गर्ने अर्को तरिका पनि छ । यस पद्धतिअनुसार खाडललाई भित्रपट्टि चारैतिर लिपिन्छ र चारैतिर कुनामा माटोको पालामा बत्ती बालिन्छ । जुन दिशातिरको बत्ती प्रकाशित देखिन्छ, त्यही दिशातर्फ भवन निर्माण गर्न शुभ हुने मानिएको छ । यसमा वायुमण्डलीय प्रभावलाई विचार गरिएको छ ।

भवन निर्माणसम्बन्धी केही विधि
घर निर्माणका लागि लम्बाइ निर्धारण गर्नु आवश्यक छ । एक तला भएको घरको लम्बाइ चौडाइभन्दा दुई गुणा बढी हुनुपर्छ । जुन घर ठूलो छ, त्यो घरको उचाइ एक शाला (एक नाले घर) बराबरको हुन्छ । दुई शालाको घरमा लम्बाइ दुई गुणा र तीन शालाको घरमा लम्बाइ तीन गुणा हुन जान्छ । चार शालाको घरमा लम्बाइ चौडाइभन्दा ५ गुणा बढी राख्ने गरिन्छ । योभन्दा बढी लम्बाइ राख्न वर्जित गरिएको छ ।

आधुनिक इन्जिनियरिङ र प्रविधिको विकासले प्राचीन प्रविधिलाई विस्थापन गर्नु स्वभाविकै मान्न सकिन्छ । तर, आधुनिकताको नाममा मानवीय सुरक्षाका लागि अति उपयोगी विज्ञानसम्मत कुरालाई छोड्नु गलत सावित हुन सक्छ । यसले गर्दा आज ठूल्–ठूला मानवीय क्षति बेहोर्न बाध्य भएको लुकाउन सकिने छैन ।

डा. प्रेमराज न्यौपानेद्वारा लिखित वास्तु विधानअनुसार कालो माटो कृषिका लागि उपयुक्त मानिन्छ । त्यति मात्र होइन, यो माटोको भारवहन क्षमता कमजोर हुन्छ, जहाँ घर बनाउनु जोखिम मानिन्छ । यसैकारण पनि हुन सक्छ, विज्ञहरूले काठमाडौंलाई सधैं भूकम्पको उच्च जोखिममा राख्ने गरेको ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्