ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

तक्माको तानाबाना

२०७८ असोज, ८  
तीतो मीठो
author avatar मदन लम्साल

देउवा सरकारले काम गरेन भन्थे । ९०३ जनालाई २० करोड खर्च गरेर तक्मा, पदक बाँड्ने निर्णय गरेछ त । अब पनि सरकारले काम गरेन भन्न पाइयो र ? तर सरकारले पदक बाँड्ने मात्र भन्न के भ्याथ्यो, यसको विरोधमा मिडियामा थुप्रै ओइरिए । यी पक्कै पनि ईष्याले जलेका हुन सक्छन्, जल्नेहरू जलिरहन्छन् ।

राज्यले कालोसूचीमा राखेका व्यापारी, राजस्व चुहावटमा मुछिएका व्यक्ति, आफ्नै उद्योगमा आगो लगाएर बीमाबापतको पैसा असुल्ने व्यक्ति आदि समेतलाई पदवी तथा विभूषण पाउने सूचीमा राखेकाले सरकारको व्यापक विरोध भएको रे । अर्थात् जेल पठाउनुपर्नेलाई पुरस्कार दिइयो रे । ठीकै छ त । मान्छेलाई सुध्रने मौका दिनु परेन ? फेरि कुन जेलमा पठाउने उनीहरूलाई ? जेलहरू त सबै भरिइसकेका छन् ।

पदक बाँडचुडमा सबैभन्दा रमाइलो कुरा चैं हिजो भटाभट थोकमा पदक बाँड्नेहरूले सत्ताबाहिर पुगेपछि पदकलाई पनि लाज लाग्यो होला भनेर भाषण गरे । यिनलाई चैं लाज भन्ने शब्दको अर्थ थाहा छ होला कि छैन होला हँ ?

गृह मन्त्रालयले बनाएको पदक मापदण्ड मिचेर बहालवाला न्यायाधीश, सञ्चारकर्मी, सञ्चार संस्थाका मालिकलाई समेत पदक दिइने कुराको पनि विरोध भएछ । यसमा विरोध गर्नुपर्ने कुनै तुक नै छैन । अरू सप्पैले लिन हुने, उनीहरूले चैं पदक लिन नहुने वा नपाउने भनेर संविधानमा लेख्या छ र ? कार्यपालिकाले न्यायाशीधलाई पुरस्कृत गर्ने, अनि न्यायपालिकाले कार्यपालिकालाई र दुवैले मिडियालाई पुरस्कृत गर्ने परम्परा शुरू गर्नु त राम्रो नि । यसले भाइचारा, मेलमिलाप, सद्भाव बढाउँछ । देशमा यसको कत्रो खाँचो छ ! शक्ति सन्तुलन भन्ने कुरोको चुरो नबुझेपछि कसको के लाग्छ र ?

पहिले वर्षमा २/३ सय जनालाई पदक दिइने गरेकोमा अहिले ८/९ सय जनालाई दिइयो भनेर पनि विरोध भइराछ । पदक र पुरस्कार भनेको त मान्छेलाई उत्साहित गर्न वा उत्प्रेरणाका लागि दिने हो । यो त जति धेरैलाई दिन सक्यो, उति राम्रो नि ! १० वर्षमा जम्मा ४५ सय नेपालीले त विभूषण पाएछन् । यो संख्या सारै थोरै भयो । वास्तवमा अब ‘एक घर एक पदक’को योजना ल्याउनुपर्छ । पछि बढाउँदै लगेर ‘एक व्यक्ति एक पदक’ बनाउनै पर्छ । अनि न ‘सुखी नेपाली समृद्धि नेपाल’को नारा सार्थक हुन्छ देशमा । बरु समावेशी पनि बनाउन थालिहाल्न परो । पालिकै पिच्छे पदक र हरेक वडामा पदक तु व्यवस्था गर्न परो । गाउँ गाउँमा सिंंहदरबार पुगेपछि पदकहरू पनि गाउँ गाउँमा पुग्नु परेन ? संघीयता बलियो बनाउने नि यसैगरी हो । खै कुरा बुझ्या ?

विभूषणको गरिमा नै रहेन भन्नेहरू पनि भेटिए । हाम्रो देशमा विभूषणकोे कति गरिमा छ भनेर जान्न त त्यो पाउने लिस्टमा पर्न साम, दाम गरेर लवी गर्न गृह मन्त्रालय र त्यस्तै ठाउँमा पुग्नेहरूको ताँतीबाटै थाहा हुन्छ नि । र, पदक पाउन गरिने मेहनत र पदक पाएपछि उनीहरूले गर्ने मिडियाबाजीबाटै प्रस्ट हुन्छ पदक पाउन कति पापड पेल्नुपर्छ भनेर । अर्थात् पदकका लागि लविङ त गर्नैपर्छ नि । कि लेफ्ट हुनुपर्‍यो कि राइट । लेफ्ट–राइट नगरीकनै पदक पड्काउँछु भन्ने सोच्नु भएको छ भने त्यो तपाईंको दिवास्वप्न हो ! अपवादहरूको कुरा बेग्लै हो ।

पदक पाउनेहरू जति खुशी छन्, त्योभन्दा पदक नपाउनेहरू बढी पीडामा छन् भन्ने कुरा उनीहरूको अनुहार र उनीहरूको सामाजिक सञ्जालमा आएका स्टाटसले स्पष्ट देखाइरहेको छ । आफूले नपाउने पदकको विरोध गर्नु त स्वाभाविकै हो । त्यत्रो भीडमा आफूले पदक नपाएकोमा कत्तिको आत्मसम्मानमा चोट लागेको हुन सक्छ ।

मान्छे सामाजिक प्राणी हो । ऊ समाजमा अरूभन्दा माथि छु वा विशेष छु भन्ने देखाउन चाहन्छ । राम्रो र ठूलो काम गरेर मात्र पुग्दो रैन्छ । उसलाई अरूले पुरस्कार वा पदकले सम्मानित नगरेसम्म ऊ आफ्नो इज्जत प्रतिष्ठा बढेको छ भन्ने ठान्दो रैन्च । भलै यी पदक, पुरस्कार दुई कौडीको नै किन नहोस् ।

पदक पाउनेमा आफ्नो नाम परेपछि आफूले गर्दै नगरेको कुन चैं योगदानका लागि सरकारले आफूलाई पदक दिँदै छ भनेर तीन छक्क पर्नेहरू पनि थुपै्र छन् । त्यसैले होला कतिपयले विभूषण लिन अस्वीकार गरेछन् । सरकारले दिन्छु भन्दाभन्दै लिन्न भन्न पाइन्छ ? नलिनेलाई जेल हाल्नुपर्छ, होइन्त गृहमन्त्रीज्यू ?

पदक बाँडचुडमा सबैभन्दा रमाइलो कुरा चैं हिजो भटाभट थोकमा पदक बाँड्नेहरूले सत्ताबाहिर पुगेपछि पदकलाई पनि लाज लाग्यो होला भनेर भाषण गरे । यिनलाई चैं लाज भन्ने शब्दको अर्थ थाहा छ होला कि छैन होला हँ ?

हिजोआज त पदक, पुरस्कार पाउन अनेक अतिरिक्त योग्यताहरूको आवश्यकता पर्छ भन्छन् । र, त्यसैअनुसार सम्मानका पनि प्रकार हुँदा रहेछन् । जस्तै– चयन सम्मान, व्ययन सम्मान, विनिमय सम्मान आदि । पदक वा सम्मान पाउनेको नाम चयन गर्ने समितिमा तपाईंको आफ्नो मानिस परेको छ भने उसले तपाईंको नाम चयन गर्ने नै भयो । यो चयन सम्मान भयो । व्ययन सम्मानमा तपाईंले सम्मान समितिको सम्मानमा धनराशी व्यय गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा व्ययराशी सम्मान राशीभन्दा बढी नै हुन्छ । व्ययन सम्मानलाई ‘खाम सम्मान’ पनि भनिन्छ ।

विनिमय सम्मानमा चैं कसैलाई पदक दिनु छ भने तपाईं आफै समितिमा बस्नुहुन्छ र लिनु छ भने समिति बाहिर बस्नुहुन्छ । यसपालि दिनुहुन्छ, अर्कोपालि लिनुहुन्छ । बार्टर जस्तै क्या ! विनिमय सम्मान विशेषगरी साहित्यका क्षेत्रमा खुबै मौलाएको छ ।

अँ साँची, कहिलेकाहीँ असम्मानित व्यक्तिबाट सम्मानित हुनुपर्दा कतिलाई पदक पाएको नभै दण्डित भएको महसूस पनि हुन्छ कि हुन्न होला नाई ?

जे होस्, विभूषण, तक्मा, पदक प्राप्त गर्ने सबै सुयोग्य महानुभावहरूलाई हृदयदेखि नै बधाई ! छ । अयोग्य भएर वा अन्य कुनै कारणले पदक प्राप्त गर्न नसक्नु भएकाहरूलाई पूरै सान्त्वना छ । पदक प्राप्त गर्ने काममा लागिरहनुहोस्, नेताका नजरमा पर्ने कोसिस गरिरहनुहोस् । एक न एक दिन त एउटा पदक कसो हात नपर्ला र ? बरु मेरो अहिलेदेखि नै तपैंलाई अग्रिम शुभकामना छ है ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्