ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपालको ग्रिड एजेण्डामा विकास साझेदारबाट ५ खर्ब सहयोगको प्रतिवद्धता

२०७८ असोज, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज ८, काठमाडौं । नेपालका लागि विकास साझेदार निकायहरुले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) एजेण्डामा करीब ५ खर्ब रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिवद्धता वयक्त गरेका छन् ।

 सरकार र विकास साझेदार बीच शुक्रवार ‘काठमाडौं घोषणापत्र’  अनुमोदन गर्दै घोषणापत्रमा उक्त रकम बराबरको सहायता परिचालनको प्रतिवद्धता साझेदार निकायहरुले गरेका हुन् ।

ग्रिड एजेण्डामा नेपालका विकास साझेदारहरुले ४ अर्ब २० करोड अमेरिकी डलर (४ खर्ब ९६ अर्ब रुपैयाँ) सम्मको सम्भावित भविष्यको सहयोगको पहिचान गरिएको छ ।

यसका अतिरिक्त विकास साझेदारहरुले ग्रिड एजेण्डामा सहयोग गर्न ३ अर्ब २० करोड अमेरिकी डलर (करीब ३ खर्ब ७८ अर्ब रुपैयाँ) बराबरको स्रोत परिचालनको प्रतिवद्धता यसअघि नै गरिसकेका छन् ।

विश्व बैंकका अनुसार कोभिड-१९ महामारीले निम्त्याएको संकटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्नका लागि यस ग्रिड रणनैतिक कार्य योजनाले अन्तरराष्ट्रिय र घरेलु लगानीहरूको समन्वय गर्नेछ ।

‘दीगो पुनरुत्थान, वृद्धि तथा रोजगारीका लागि नेपालको हरित उत्थानशील र समावेशीतर्फको यात्रा’ नामक उच्च स्तरीय सम्मेलनका अवसरमा उक्त घोषणापत्र जारि गरिएको हो । नेपाल सरकार, एसियाली विकास बैंक, अष्ट्रेलिया, यूरोपेली संघ, फिनल्याण्ड, जर्मनी, अन्तरराष्ट्रिय मुद्रा कोष, जापान, नर्वे, कोरियाली गणतन्त्र, स्वीट्जरल्याण्ड, संयुक्त राज्य बेलायत, संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र विश्व बैंकका तर्फबाट घोषणा पत्र अनुमोदन भएको हो ।

विश्व बैंकका अनुसार कोभिड-१९ महामारीले निम्त्याएको संकटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्न ग्रिड रणनीतिक कार्ययोजनाले अन्तरराष्ट्रिय र राष्ट्रिय लगानीको समन्वय गर्ने काम गर्ने भएको छ ।

उक्त अवसरमा अर्थमन्त्री जनार्दन शर्माले ग्रिड योजनाका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले यसबाट नेपालमा जलवायु परिवर्तनका चुनौती र बढ्दो असमानता सम्बोधन गर्न सघाउने समेत बताएका छन् । नेपालको सबल र उत्थानशील पुनर्निर्माणमा विकास साझेदार र निजी क्षेत्रसहितका सरोकारवालासँग मिलेर काम गर्न सरकार तयार रहेको उनले बताएका छन्।

दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग शेफरले जलवायू परिवर्तनका लागि नेपालको राष्ट्रिय स्तर बाट निर्धारित योगदान  र दिगो विकास लक्ष्यका उद्देश्यहरूसँग मेल खाने गरि लगानी तथा नीतिहरू निर्देशित गर्ने यस ग्रिड योजनामा सहयोग गर्न पाउँदा खुशी भएको बताए ।

ग्रिड अन्तर्गतका लगानीले नेपालको १५ औं विकास योजना, पेरिस जलवायु सम्झौताका लागि राष्ट्रिय स्तरमा निर्धारित योगदान तथा दीगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न सघाउने बताइएको छ । यसअन्तर्गत हरित वृद्धि, रोजगारी तथा पूर्वाधार प्रवर्द्धन, जलवायु परिवर्तन तथा विपद्बाट आइपर्ने आघात विरुद्ध लड्न समेत सहयोग पुग्ने उल्लेख गरिएको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्