ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यो साता २९ अर्ब ७६ करोडभन्दा बढीको शेयर खरीदविक्री : परिसूचकमा ७.२८ अंकको वृद्धि

२०७८ असोज, ९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज ९, काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको छ । 

चार कारोबार दिनमा रू. २९ अर्ब ७६ करोड ३८ लाख ७० हजार बराबरको ६ करोड ४ लाख ७३ हजार १६३ कित्ता शेयर कारोबार भएको छ । गत साता पाँच कारोबार दिनमा रू. ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार बराबरको ७ करोड ४ लाख ४७ हजार ७१७ कित्ता शेयर कारोबार भएको थियो । 

एक दिन कम कारोबार भएको यो साता गत साताभन्दा रू. ८ अर्ब ५५ करोड ४० लाख ११ हजार बराबरको ९९ लाख ७४ हजार ५५४ कित्ता कम शेयर कारोबार भएको हो । साताको दोस्रो कारोबार दिन रू. ८ अर्ब ४९ करोडभन्दा बढी, तेस्रो कारोबार दिन रू. ७ अर्ब ३६ करोडभन्दा बढी, चौथो कारोबार दिन रू. ६ अर्ब १७ करोडभन्दा बढी र पाँचौ कारोबार दिन रू. ७ अर्ब ७२ करोडभन्दा बढीको शेयर कारोबार भएको हो ।

यो साता नेप्से परिसूचकमा निकै उतारचढाब देखिएको छ । आइतवार सार्वजनिक विदापछि सोमवार खुलेको बजार ११४ दशमलव शून्य २ अंकले घटेको थियो भने मंगलवार १३ दशमलव ८३ अंकले बढेको थियो । त्यस्तै बुधवार १०४ दशमलव ८८ अंकले बढेको बजार बिहीवार २ दशमलव ७० अंकले बढेर बन्द भएको छ । 

गत साताको अन्तिम कारोबार दिन २ हजार ८१२ दशमलव ३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ८१९ दशमलव ६६ विन्दुमा पुगेर बन्द भएको छ । गत साताभन्दा यो साता नेप्से परिसूचक ७ दशमलव २८ अंकले माथि उक्लिएको हो ।

सेन्सेटिभ इन्डेक्स पनि यो साता ४ दशमलव २४ अंकले बढेको छ । गत साता ५२५ दशमलव ७८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५३० दशमलव शून्य २ विन्दुमा पुगेको हो । 

यो साता लगानीकर्ताहरुको सम्पत्तिको मूल्य अर्थात् कुल बजारपूँजीकरण रू. ११ अर्ब ४० करोड ८० लाख ९० हजारले बढेको छ । गत साता रू. ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजार रहेको कुल बजार पूँजीकरण यो साता रू. ३९ खर्ब ४७ अर्ब १५ करोड ७९ हजार कायम भएको हो । 

पछिल्लो समय सूचीकृत कम्पनीहरुले लाभांश प्रस्ताव सार्वजनिक गर्न थालेसँगै बजारमा लगानीकर्ताहरु सकारात्मक बन्न थालेका छन् । वर्षभरिको लगानीको प्रतिफल भित्र्याउने समय भएकाले पनि यतिबेला बजारमा माग बढ्ने अनुमान ब्रोकरहरुको छ । सरकारी बजेट खर्च गर्ने बाटो खुला भएसँगै बजारमा तरलता थपिने र शेयरबजारमा लगानी बढ्ने विश्वास पनि उनिहरुको छ ।

यो साता बैंकिङ समूहको परिसूचक सर्वाधिक बढ्यो 
यो साता बैंकिङ समूहको परिसूचक सर्वाधिक ३ दशमलव १८ प्रतिशतले बढेको छ । बैंकहरुले लाभांश घोषणा गर्न शुरु गरेसँगै यो क्षेत्रको शेयरमा लगानीकर्ताहरु आकर्षित हुन थालेका हुन । जसको प्रत्यक्ष असर बैंकिङ समूहको परिसूचकमा परेको हो । 

यो सातानै तीन वाणिज्य बैंकहरुले लाभांश प्रस्ताव गरेका छन् । सानिमा बैंकले १७ दशमलव ८९ प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेशनलले १६ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको हो । गत वर्षको भन्दा यस वर्ष तीन ओटै बैंकहरुले बढाएर लाभांश प्रस्ताव सार्वजनिक गरेका हुन् ।

पूँजीबजारले ऐतिहासिक उचाई कायम गरेको अवस्थामा पनि वाणिज्य बैंकहरुको शेयरमूल्य भने बढ्न सकेको थिएन । बैंकहरुले सार्वजनिक गरेको आकर्षक लाभांशका कारण अबको दिनमा यो क्षेत्रप्रति लगानीकर्ताहरुको आकर्षण बढ्ने अपेक्षा लगानीकर्ताहरुको छ । बैंकिङसँगै यो साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशत बढेको छ ।  

यो साता व्यापारिक समूहको सर्वाधिक ३ दशमलव ७७ प्रतिशत परिसूचक घटेको छ भने जलविद्युतको दोस्रोमा ३ दशमलव १० प्रतिशतले घटेको छ ।

त्यस्तै लगानी समूहको २ दशमलव ४३ प्रतिशत, म्युचुअल फण्डको २ दशमलव १९ प्रतिशत, अन्यको २ दशमलव शून्य ९ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४३ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव २७ प्रतिशत, वित्तको १ दशमलव २० प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३८ प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ७ प्रतिशत परिसूचक घटेको छ ।

गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :

                                                                       स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था :

                                                        स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्