ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पुरानो मेडिकल कलेजमा ‘इन्टिग्रेटेड ओपीडी सिस्टम’ लागू

२०७८ असोज, १०  
वाग्मती प्रदेश
NA

चितवन (अस) । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले इन्टिग्रेटेड ओपीडी सिस्टम लागू गरेको छ । यो सिस्टम लागू भएसँगै ओपीडीमा जाने बिरामीले सबै सेवा एकै ठाउँबाट पाउने भएका छन् । यससँगै अस्पताल पुगेपछि टिकट काट्न, जँचाउने, विभिन्न परीक्षणको शुल्क तिर्ने, औषधि खरीद गर्ने लगायत कामका लागि बिरामी भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरंग विभागमा पुगेपछि सबै सेवा त्यहीँबाट पाउने कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताए । ‘सेवाग्राहीले बीमा वा सशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरीद गर्ने लगायत सबै सेवा एकै ठाउँबाट पाउँछन्,’ उनले भने । अस्पतालको सबै विभागमा बीचमा खुलो ठूलो कक्ष तयार गरिएको छ । त्यहाँ बिरामी पालाका लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाइएको छ । यस्तै सबै ठाउँमा शुद्ध पिउने पानीको समेत व्यवस्था गरिएको प्रधानले बताए ।

त्यही कक्षबाट भिडियो एक्सरे, एमआरआई, सीटी क्यान, एक्सरे जस्ता सेवा लिनुपर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको प्रधानले जानकारी दिए । ‘अब परीक्षण गर्ने ठाउँ खोज्दै जाने र लामो समय पालो कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने । अन्य परीक्षण गर्दा समेत त्यही रहेका कर्मचारीले सहजीकरण गरिदिने हुँदा बिरामीलाई सहज हुने उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्