ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मालढुंगा–बेनी सडकको स्तरोन्नति शुरू

२०७८ असोज, १०  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । कालीगण्डकी कोरिडोर अन्तर्गत उत्तर–दक्षिण जोड्ने मालढुंगा–बेनी सडक खण्डको स्तरोन्नति गरी दुई लेनको बनाउने काम शुरू भएको छ । १३ किलोमिटर दूरीको उक्त सडक निर्माण भएको २ दशक बितिसक्दा पनि स्तरोन्नति भएको थिएन ।

ठाउँ ठाउँमा पहिरोले भत्काउँदा सडक निकै साँघुरो भएको छ भने जोखिम पनि उत्तिकै छ । यो मार्ग हुँदै दैनिक सयौं सवारीसाधन पर्वतको जलजला गाउँपालिका, म्याग्दी र मुस्ताङसम्म गुड्ने गरेका छन् ।

सामान्य वर्षा हुँदा साथ पहिरोले रोकिने गरेको सडक फराकिलो र दिगो बनाउन खोजिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए । उनले यो सडक केन्द्रीय सडकमा समावेश भएर यो वर्ष स्तरोन्नति हुन लागेको उनले जानकारी दिए ।

साँघुरो र जीर्ण सडकका कारण यात्रु र सवारीसाधनले सास्ती भोग्दै आएका थिए । पर्वतको मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले बताएको छ । यो सडक चीन र भारत जोड्ने नेपालको सबैभन्दा छोटो सडक कालीगण्डकी कोरिडोर अन्तर्गत पर्छ । २०७७ चैतमा ५२ करोड ८६ लाखमा ३१ हजार २८१ रुपैयाँमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले प्रारम्भिक चरणको काम शुरू गरेको सञ्चालक अमृत दाहालले बताए । हाल कालोपत्रसहित करीब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आस्फाल्ट प्रविधिको कालोपत्र गरिने आयोजनाले बताएको छ ।

३० महीनाभित्र सडक निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढाइएको बेनी जोमसोम कोरोला सडक आयोजनाका प्रमुख अश्विनीकुमार यादवले बताए । २०४८ सालमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत शुरू गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्र भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । यसैगरी आयोजनाको तातोपानी–गलेश्वर खण्डमा पनि काम भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्