ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

डेढ करोडको टाँक निर्यात

२०७८ असोज, १०  
१० वर्ष अघि
NA

नेपालमा निर्मित टाँक विदेशमा निकै लोकप्रिय भएको पाइएको छ । नेपालले चालू आवको वैशाखसम्ममा सिङबाट बनेका १ करोड ३७ लाख रुपैयाँका टाँक निर्यात गरेको छ । यस्तै हड्डी काठबाट निर्मित ७० लाख २४ हजार रुपैयाँका र एक लाख रुपैयाँको टाँक निर्यात गरेको छ । नेपालबाट अमेरिका, जापान नर्वेलगायतका मुलुकमा टाँक निर्यात हुने गरेको छ ।

विशेषतः पशुका हड्डी, दाँत र सिङबाट बनेका टाँक सबैभन्दा गुणस्तरीय मानिन्छ । नेपालमा काठको टाँक बढी प्रयोग हुन्छ । अन्य टाँकको तुलनामा सस्तो हुनाले नेपाली बजारमा काठको टाँकको माग बढी भएको पाटन टाँक उद्योगका सञ्चालक सूर्यमान महर्जन बताउँछन् । यस व्यापारबाट मासिक ३ लाख रुपैयाँसम्म आम्दानी हुने उनले बताए ।

टाँक निर्माणका लागि वार्षिक करीब ४० लाख रुपैयाँको सिङ भारतबाट आयात गरिन्छ । नेपालमा सिङको कमी भएकाले आयात गर्नु परेको महर्जन बताउँछन् । अन्य सामग्री स्वदेशी बजारमै उपलब्ध हुने उनले जानकारी दिए । ‘वार्षिक करिब २४ लाख रुपैयाँका हड्डी नेपाली बजारबाटै खरीद गर्छौं’, महर्जनले भने ।

काठबाट बनेको सामान्य एउटा टाँक ५ देखि १३ रुपैयाँमा विक्री हुन्छ । सिङ र हड्डीबाट बनेका टाँक प्रतिगोटा १५ देखि सय रुपैयाँसम्म पर्दछ । बुट्टा अनुसार यसको मूल्य फरक हुन्छ । नेपालमा काठको टाँकको माग बढी भए पनि अन्तर्राष्ट्रिय बजारमा सिङ र हड्डीबाट निर्मित टाँकको माग बढी भएको लक्ष्मी ऊड क्राफ्टकी सञ्चालिका लक्ष्मी शर्मा बताउँछिन् ।

वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्