ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दशैंले बढायो व्यापार

२०७८ असोज, ११  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । नेपाली हिन्दूहरूको महान् चाड दशैं नजिकिँदै गर्दा बजारमा किनबेचको चाप बढेको छ । विशेषगरी खाद्यान्न र लत्ताकपडाका पसलमा दशैंलक्षित किनमेल गर्ने उपभोक्ताहरूको भीड बढ्न थालेको हो ।

आजभोलि काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू असन, इन्द्रचोक, न्यूरोड, खिचापोखरी, ठमेल, कोटेश्वर, कलंकी, कालीमाटी, नयाँबजारलगायत क्षेत्रका पसलहरूमा उपभोक्ताको बाक्लो भीड देख्न सकिन्छ । कोरोना महामारीको त्रासका कारण अघिल्लो वर्षको दशैंमा धरैजसो उपभोक्ताले बजारसम्म गएर आफूलाई आवश्यक पर्ने सामान किन्न सकेका थिएनन् । जसले गर्दा अघिल्लो वर्षको दशैंलक्षित व्यापार सामान्य अवस्थाको बेलामा भन्दा करीब ८५ प्रतिशतसम्मले घटेको व्यवसायीहरू बताउँछन् । तर, यसपटक त्यस्तो नभएको व्यापारीहरूको भनाइ छ । न्यूरोड खिचापोखरीमा रेडिमेड कपडाको व्यापार गर्दै आएका सन्तोष पुनले दशैं नजिकिएसँगै व्यापारमा केही सुधार देखिएको बताए । यसअघि दैनिक १५÷१६ जना ग्राहक आउने उनको पसलमा अहिले ग्राहक संख्या बढेर दैनिक दोब्बरभन्दा धेरै भएको बताए । महामारीका कारण बा≈य देशबाट लत्ताकपडा आयातमा केही समस्या उत्पन्न भएकाले ग्राहकको रोजाइअनुसारको सामान भने उपलब्ध गराउन नसकेको उनले सुनाए ।

नेपालमा अन्य समयको तुलनामा दशैं र तिहारजस्ता ठूला चाडपर्वका अवसरमा जुत्ता, चप्पल र लत्ताकपडाको व्यापारमा ४० प्रतिशतभन्दा बढी वृद्धि हुने गर्छ । यस वर्ष यही अनुपातमा व्यापार हुन नसके पनि अघिल्लो वर्षको तुलनामा भने व्यापार बढेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले आर्थिक अभियान दैनिकसँग बताए ।

हरेक वर्ष नेपाली व्यापारीहरूले दशैं र तिहारलाई लक्षित गरी छिमेकी मुलुक भारत र चीनबाट मात्रै करीब २५ देखि ३० अर्ब नेपाली रुपैयाँ बराबरको तयारी लत्ताकपडा आयात गर्ने गरेका छन् । खाद्यान्न पसलमा पनि १÷२ महीनाअघिको तुलनामा व्यापारमा केही सुधार देखिएको बताइएको छ । कालीमाटीमा दाल, चामल, गेडागुडी, चिनीलगायत खाद्यान्नको व्यापार गर्दै आएका नरेश गुप्ताले दशैं नजिकिएसँगै व्यापारमा पनि केही सुधार देखिएको बताए । ‘अघिल्लो वर्षको दशैंको समयमा भन्दा यस वर्ष केही आशलाग्दो व्यापार देखिएको छ,’ उनले भने । अहिले चिनी, तेल, मसलालगायत खाद्यान्नको माग बढिरहेको उनले बताए । यसअघि हुने दैनिक व्यापारको तुलनामा अहिले करीब १५ प्रतिशतले वृद्धि भएको उनले सुनाए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्