ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

हेलामा पर्वतीय पर्यटन

२०७८ असोज, ११  
लेख | दृष्टिकोण
Image Not Found

देशको ८० प्रतिशतभन्दा बढी भाग पहाड र उच्च हिमाली भेगले ढाकेको, विश्वका ८ हजार मीटर माथिका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित अधिकांश नेपालमै रहेको र विश्वको सबैभन्दा लामो पर्वतमाला हिमालयको मुख्य भाग पनि यहीँ रहेकाले पर्वतीय पर्यटन (माउन्टेन टुरिजम) का लागि नेपाल विश्वकै अद्वितीय गन्तव्यको रूपमा परिचित छ । प्रकृतिले दिएको यो अद्भुत वरदानको मज्जा लिन हिमाल, पहाड छिचोल्न विश्वभरिबाट वर्षेनि लाखौंको संख्यामा आउने पदयात्री र आरोही पर्यटक र यो क्षेत्रलाई आप्mनो पिठिउँमा बोकेर थेग्ने व्यवसायी र पेशाकर्मीहरूलाई अर्थात् समग्र पर्वतीय पर्यटनलाई राज्यले भने सधैं बेवास्ता गर्ने गरेको छ ।

राज्यले पर्वतीय पर्यटन क्षेत्रलाई कसरी बेवास्ता गर्दै आएको छ भन्ने दृष्टान्त हरेक वर्ष प्रस्तुत गर्ने बजेट वक्तव्यलाई हेरे पुग्छ । घण्टौं लामो बजेट भाषणमा पर्वतीय पर्यटनसँग सम्बद्ध ट्रेकिङ पदमार्ग, पर्वतारोहण, आरोही, पथप्रदर्शक, पर्वतीय पर्यटन व्यवसायी जस्ता शब्दावली सुन्न दुर्लभ हुन्छ । यसो हुनु वास्तवमै दुःखद पक्ष हो । पछिल्ला बजेट तथा कार्यक्रमहरूमा महामारीबाट सबैभन्दा बढी पीडित यस क्षेत्रका आश्रितहरूलाई राहत वा सहुलियतको कुनै कार्यक्रम नल्याउनुले पनि पर्वतीय पर्यटनप्रति राज्यको बेवास्ता थप प्रमाणित गर्छ । देशको पर्यटन नीति निर्माणको तहमा रहेकाहरूबाट पर्वतीय पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई कतिसम्म हेयको दृष्टिले हेरिन्छ भन्ने एक उदाहरण महामारीकै बीच नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बीबीसी नेपाली सेवामा दिएको एक अन्तरवार्तामा पर्वतीय पर्यटन क्षेत्रका व्यवसायीहरूलाई सम्बोधन गर्न गरेको शब्द चयनले पनि इंगित गर्छ । गतवर्ष अगस्त २८ मा बीबीसीको नेपाली सेवामा प्रसारित उक्त अन्तरवार्ताका क्रममा उनले पर्वतीय पर्यटन पेशाकर्मी (ट्रेकिङ तथा पर्वतारोहण व्यवसायी) लाई अपमानजनक शब्द प्रयोग गरेका थिए । राज्यलाई रोजगारी वा करको माध्यमबाट टेवा नदिने (पर्वतीय पर्यटनकर्मी) लाई महामारी पीडित नै भए पनि राहत र सहुलियत दिन सजिलो नभएको उनको भनाइको सार थियो । पर्वतीय पर्यटन क्षेत्रमा आबद्धहरूले विरोध गरेपछि आफ्नो आशय कसैलाई चित्त दुखाउनु नरहेको भनाइ सार्वजनिक गरे पनि उनी र उनी जस्तै पर्यटनक्षेत्रका नीति निर्माण तहमा रहेकाहरूले यस क्षेत्रलाई सही पहिचान गर्न नसकेको विडम्बना कायमै छ ।

पर्यटनको अथाह सम्भावना बोकेको नेपालमा यस क्षेत्रलाई मिहीन ढंगले बुझेर नीति निर्माण र कार्यक्रमहरू लागू गर्ने हो भने थोरै समय र खर्चमा धेरै गर्न सकिन्छ । पर्यटनअन्तर्गत पनि पर्वतीय पर्यटन अर्थात् ट्रेकिङ तथा पर्वतारोहणका लागि आउने पर्यटकहरूले पुर्‍याउने योगदान अन्य पर्यटकको भन्दा विशेष हुने गर्छ । महामारीअघि सन् २०१९ को पर्यटन तथ्याङ्कले कुल पर्यटकको करीब १६ प्रतिशत अर्थात् करीब २ लाख पर्यटक पदयात्रा (ट्रेकिङ) का लागि नेपाल आउने गरेको देखाएको छ । उनीहरूमध्येबाट केही हजार पर्वतारोहणका लागि जाने गर्छन् । पदयात्रा तथा आरोहणका लागि नेपाल आउने पर्यटकको बसाइ अवधि कम्तीमा २ हप्तादेखि २ महीनासम्म हुने गर्छ । उनीहरूको बसाइ अवधि अन्य पर्यटकको भन्दा लामो र दुर्गम ठाँउहरूमा जाने हुँदा उनीहरूले गर्ने खर्च पनि औसतमा बढी हुन्छ । महामारीकै बीच गत वसन्तऋतुमा सगरमाथा आरोहणका लागि आएका करीब ४ सय पर्यटकबाट मात्रै राज्यले झन्डै ६० करोड कर बुझेको तथ्याङ्क रहेको छ । उनीहरूले पर्वतारोहणको क्रममा चलायमान बनाएको आर्थिक गतिविधि झन्डै ३ अर्ब बराबर रहेको अनुमान छ । आरोहण नगरी ट्रेकिङ मात्र जाने पर्यटकमध्ये पनि जो नेपाली एजेन्सीमार्फत गाइड तथा अन्य कामदार लिएर जान्छन् । उनीहरूको पनि बसाइ अवधि, रोजगार सृजना र आर्थिक योगदान उल्लेख्य हुने गर्छ । हाल पर्वतीय पर्यटन क्षेत्रमा करीब २ हजार एजेन्सी, १२ हजार गाइड तथा ३० हजार जति अन्य कामदार संलग्न रहेको अनुमान छ । यसबाट पछिल्लो पर्यटन तथ्याङ्कअनुसार नेपालको समग्र पर्यटकको औसत बसाइ अवधि १३ दिन र उनीहरूको प्रतिदिन खर्च ४५ अमेरिकी डलरलाई अझ बढाएर पर्यटन क्षेत्रबाट राज्यलाई पुर्‍याउने आर्थिक योगदानका लागि सरकारले पर्वतीय पर्यटनलाई व्यवस्थित बनाउने नीति नियम र कार्यक्रमहरू ल्याउनु जरुरी हुन्छ । त्यसो गर्नु भनेको पर्वतीय पर्यटनसँग सम्बद्ध क्षेत्रलाई राज्यले सम्बोधन गर्नु हो जुन भइरहेको छैन ।

राज्यका तर्फबाट पर्यटनसम्बन्धी गर्नुपर्ने कामका सिलसिलामा पर्यटनलाई व्यापक अर्थ बुझाउने शब्द मात्र नलिई पर्वतीय पर्यटन, संस्कृति तथा आध्यात्मिक पर्यटन, मनोरञ्जन पर्यटन आदि पर्यटनका विधाहरू छुट्ट्याई तीमध्ये पनि अधिक सम्भावना बोकेको पर्वतीय पर्यटनलाई विशेष महत्व दिनु र अझ देशको पर्यटन ब्रान्ड नै पर्वतीय पर्यटन अर्थात् माउन्टेन टुरिजम घोषणा गर्नु जरुरी छ । हिमाल आरोहणमा आरोहीका साथ जाने सरकारी अधिकृतको कामको औचित्य, फोहोर व्यवस्थापनको उचित नीति, हिमाली क्षेत्रमा मोटरबाटो र आधुनिक विकास निर्माणको काम गर्दा प्राकृतिक वातावरण कायम राख्नु र प्रचलित ट्रेकिङ रूट संरक्षित गर्नुजस्ता सानातिना काम मात्रै गरे पनि पर्वतीय पर्यटनलाई जीवित राख्न ठूलो टेवा पुग्छ । तर, व्यवस्थित कार्ययोजनाको अभावमा त्यस्ता निर्माणहरू गर्नाले विश्वको नं. १ मा गनिएको अन्नपूर्ण सर्किट पदमार्ग ध्वस्त हुन पुगेको मात्र छैन, जथाभावी खनिएको मोटरबाटोले विनाश पनि उत्तिकै ल्याएको झल्को चालू वर्षायाममै मेलम्चीसँगै अन्नपूर्ण पदमार्गको मनाङमा बाढीले धनजनमा पुर्‍याएको क्षतिले दिएको छ ।

मुलुकमा पछिल्लो समय गठित नयाँ सरकारमा यो वर्षको विश्व पर्यटन दिवस २७ सेप्टेम्बरको पूर्वसन्ध्यासम्म पनि पर्यटनमन्त्री नियुक्त भइसकेको छैन । नयाँ पर्यटन मन्त्रीले देशको पर्यटनको विभिन्न विधाको सही निक्र्योल गरी सोहीअनुसार नीतिनिर्माण तथा कार्ययोजनाहरू अघि बढाए घट्दो महामारीसँगै पुनर्जागृत हुने पर्यटन क्षेत्रमा आशाको सञ्चार हुनेछ ।

लेखक विगत २० वर्षदेखि ट्रेकिङ व्यवसायमा संलग्न छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्