ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उपभोग्य वस्तुहरूको आयात प्रतिस्थापनको उपाय

स्वदेशी उद्योग संरक्षण बलियो आधार

२०७८ असोज, ११  
लेख | दृष्टिकोण
Image Not Found

स्वदेशमा मूल्ययोग नहुने उपभोग्य ( खाद्य र पेयबाहेक) प्रयोजनका वस्तुहरूको आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल आयात रू. १ खर्ब ३१ अर्ब १५ करोड बराबर रहेको छ जुन नेपालको कुल आयातको करीब ८ दशमलव ५२ प्रतिशत हुन आउँछ । यसरी आयात हुने वस्तुहरूमा सबैभन्दा बढी अंश टेक्सटाइलसँग सम्बद्ध उत्पादनहरूको छ । गत आर्थिक वर्षमा यस शीर्षक अन्तर्गत (एचएस कोडको शीर्षक ५० देखि शीर्षक ६३ सम्म) को नेपालको कुल आयात रू. ३५ अर्ब २७ करोड रहेको छ जुन नेपालको कुल आयातको २ दशमलव ३२ प्रतिशत र उपभोग्य वस्तुको आयातको २७ दशमलव २८ प्रतिशत हुन जान्छ । टेक्सटाइलपछि धेरै आयात हुने वस्तुहरूमा औषधि, घरायसी उपकरण, सुगन्धित तेल, जुत्ताचप्पल, तयारी रसायन, प्लास्टिकका तयारी सामान, सरसफाईका साधन, धातुका तयारी मालवस्तु, औजार, फर्निचर र लेन्स, घडी, चश्मा आदि रहेका छन् । यसै गरी यस शीर्षकअन्तर्गत पर्ने मनोरञ्जनका साधन, रबरका तयारी सामान, शिरपोश, छालाका तयारी उत्पादनहरू पनि प्रशस्त मात्रामा आयात भएको देखिन्छ ।

आयात प्रतिस्थापन उद्योगको विकासका लागि चाहिने पूँजी, प्रविधिको बन्दोबस्तमा सरकारको विशेष भूमिका रहन्छ । यस्ता उद्योगहरूका लागि आवश्यक पर्ने विदेशी लगानी र प्रविधि हस्तान्तरणमा सरकारको आर्थिक कूटनीति परिचालन पनि त्यत्तिकै जरुरी छ ।

उपर्युक्त तथ्यांकले नेपालमा यी वस्तुको उत्पादनको प्रशस्त सम्भावना रहेको पक्षलाई उजागर गर्छ । टेक्स्टाइल, औषधि, घरायसी उपकरण र सुगन्धित तेलको आयात रू. १० अर्ब माथि रहेको छ । अन्य यहाँ उल्लिखित वस्तुहरूको आयात पनि रू. १ अर्बभन्दा माथि नै रहेको छ । यसरी वार्षिक रूपमा अर्बभन्दा माथि आयात भइरहेका यस्ता वस्तुहरूको स्वदेशमा उत्पादन सम्भावना रहेको छ । उचित रणनीति अंगीकार गर्ने हो भने स्वदेशमै उत्पादन क्षमता अभिवृद्धि गरी यी वस्तुको आयात प्रतिस्थापन गर्न सकिने सम्भावना प्रबल देखिन्छ ।

दैनिक उपभोगका यस्ता वस्तुको आयात प्रतिस्थापन गर्न देहायका कदमहरू चालिनु आवश्यक देखिन्छ । पहिलो, उपर्युक्त वस्तुहरूमा कुनकुन वस्तुहरूको आयात प्रतिस्थापन व्यावहारिक रूपमा सम्भव छ भनेर निजीक्षेत्र र सम्बद्ध क्षेत्रका विज्ञहरूको सहभागितामा विस्तृत अध्ययन हुन जरुरी छ । तत्पश्चात् पूर्णरूपमा आयात प्रतिस्थापन गर्न सकिने, आंशिक रूपमा आयात प्रतिस्थापन गर्न सकिने र जडान कार्यका माध्यमबाट आयात प्रतिस्थापन गर्न सकिने उद्योगहरूको छनोट गरिनुपर्छ ।

यस्ता आयात प्रतिस्थापन उद्योगहरूको स्थायित्व र प्रतिस्पर्धी क्षमताको विकास गर्न देहायका व्यवस्थाहरू गर्नु आवश्यक देखिन्छ ।

सर्वप्रथम, आयात प्रतिस्थापनका निमत्ति स्थापित उद्योगका उत्पादनहरू आयातित वस्तुहरूसँग मूल्य, गुण, परिमाण र आपूर्ति अवधि यी चारैओटा पक्षमा प्रतिस्पर्धी हुन सक्नुपर्छ । यसका लागि विभिन्न संरक्षणात्मक नीतिहरू अंगीकार गरिनुपर्छ । कच्चापदार्थ तथा मेशिनरीको आयातमा छूट, तयारी वस्तुहरूको भन्सारमा वृद्धिका माध्यमबाट स्वदेशी उद्योगको संरक्षण गर्नुपर्छ । दोस्रो भूपरिवेष्टित अवस्थितिका कारण सृजित अधिक लागतका पक्षहरूलाई सम्बोधन गर्न नेपाली उद्योगहरूलाई अनन्तकालीन करमुक्तिको सुविधा प्रदान गर्नु पनि त्यत्तिकै जरुरी छ ।

उद्योगको जग बलियो बनाउन उद्योग स्थापनाका प्रारम्भिक कालखण्डमा इनपुटका अनुदान र उत्पादनमा प्रोत्साहनको व्यवस्था पनि समानान्तर रूपमा लागू गर्नुपर्छ । यी अनुदान र प्रोत्साहनका आयतनहरू कम्तीमा छिमेकी मुुलुकहरूका उद्योगहरूले प्राप्त गरेका सुविधासरह हुनु पनि त्यत्तिकै जरुरी छ ताकि नेपाली उत्पादनहरू बाह्य उत्पादनसँग प्रतिस्पर्धी हुन सकुन् ।

वस्तुहरूको गुणस्तर सुधार तथा नवप्रवर्तनका प्रयोजनका लागि उद्योगगत रूपमा अनुसन्धान र विकासका प्रयोजनका लागि निजीक्षेत्र र सरकारको संयुक्त पहलमा यस्ता गतिविधिहरू सञ्चालन गर्ने प्रथाको थालनी पनि समानान्तर रूपमा हुन पनि जरुरी छ । यस्ता गतिविधिहरूले नेपाली उत्पादनलाई विश्वका अन्य उत्पादनसँग मूल्य, प्रयोजन, उपयोगका दृष्टिले प्रतिस्पर्धी बनाउन थप मद्दत गर्छ ।

नेपाली उद्योगको सञ्चालनमा आवश्यक पर्ने जनशक्ति विकास एवम् स्वदेशमा उपलब्ध हुन नसक्ने जनशक्तिको व्यवस्थापनमा पनि सरकार र निजीक्षेत्रबीच एउटा ढाँचा विकास हुुनुपर्छ । नयाँ जनशक्ति विकासमा सरकारको लगानी तथा जनशक्तिको क्षमता अभिवृद्धिमा सरकार र निजीक्षेत्रको संयुक्त पहलका लागि विशेष व्यवस्थाहरू गरिनुपर्छ । यसले यस्ता उद्योगहरूमा विद्यमान जनशक्तिको अभाव परिपूर्ति गर्ने तथा जनशक्तिको उत्पादन र सृजनात्मक क्षमता अभिवृद्धि हुन गई वस्तुहरूको गुणस्तर वृद्धि गर्न र उत्पादन लागत न्यूनीकरण गर्न विशेष मद्दत पनि गर्छ ।

आयात प्रतिस्थापन प्रयोजनका उद्योगको जग बलियो बनाउन उपर्युक्त पक्षहरूका साथसाथै तिनका सहायक उद्योगको विकासमा पनि विशेष ध्यान दिनु आवश्यक हुन्छ । उदाहरणका लागि टेक्स्टाइल उद्योगको विकासभन्दा साथमा त्यससँग जोडिएर आउने टाँक, सियो, मेशिन, पार्टपुर्जा, रंग उद्योग, प्याकेजिङ सामग्रीहरूको विकास पनि समानान्तर रूपमा गरिनु जरुरी हुन्छ ।

आयात प्रतिस्थापन उद्योगको जग बलियो गर्ने अर्को पक्ष हो, कच्चापदार्थको स्वदेशमै उत्पादन । उदाहरणका लागि तयारी पोशाकको आयात प्रतिस्थापन गर्ने भन्ना साथ तयारी पोशाक तयार होउन्जेलसम्मका अगाडिका तहमा प्रयोग हुने कच्चापदार्थको आयात प्रतिस्थापनको पनि प्रश्नलाई पनि गम्भीरताका साथ लिनुपर्छ । उदाहरणका लागि स्वदेशमै कपास उत्पादन गरी तयारी पोशाकमा आत्मनिर्भर हुने आयात प्रतिस्थापनको सर्वोत्तम प्रकार हो । कपडा आयात गरेर तयारी पोशाकसम्म जाँदा तयारी पोशाकको आयात प्रतिस्थापन हुँदाहुँदै पनि कपडाको आयात प्रतिस्थापन हुन सक्दैन । तसर्थ आयात प्रतिस्थापन उद्योगलाई चाहिने कच्चापदार्थ कुन तहबाट स्वदेशमा उत्पादन गर्ने भन्ने विषयमा विशेष ध्यान जानु आवश्यक छ ।

आयात प्रतिस्थापन उद्योगको विकासका लागि चाहिने पूँजी, प्रविधिको बन्दोबस्तमा सरकारको विशेष भूमिका रहन्छ । यस्ता उद्योगहरूका लागि आवश्यक पर्ने विदेशी लगानी र प्रविधि हस्तान्तरणमा सरकारको आर्थिक कूटनीति परिचालन पनि त्यत्तिकै जरुरी छ । नेपालमा कच्चापदार्थ, पूँजी र प्रविधि उपलब्ध नभएका उद्योगहरूका सम्बन्धमा विशेष गरी छिमेकी देशहरूबाट विकसित मूल्य शृंखलामा नेपाली उद्योगलाई पनि आबद्ध गराउनेतर्फ पनि कुशलतायुक्त सक्रियताको खाँचो देखिन्छ ।

यसरी उपर्युक्त पक्षहरूलाई विशेष ध्यान दिँदै दैनिक उपयोगका उपर्युक्त वस्तुहरूको आयात प्रतिस्थापन हुने गरी देशमा उद्योग स्थापना गर्नु आजको आवश्यकता हो ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्