ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लक्ष्यअनुसार कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने, नेपाल सार्क मुलुकमा चौथो

२०७८ असोज, ११  
समाचार
Image Not Found

असोज ११, काठमाडौं । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ ।

सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य राखेको थियो । सोही अनुसार अहिलेसम्म ३० प्रतिशतलाई पहिलो मात्रा र २८ प्रतिशतलाई पूर्णमात्राको खोप लगाइसकिएको छ ।     
     
 स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले लक्ष्यअनुसार असोज मसान्तसम्म लक्षित वर्गलाई खोप लगाइसक्ने जानकारी दिए । उनका अनुसार असोज मसान्तसम्म लक्षित वर्गको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने योनजा रहेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले असार २९ मा आफू नियुक्त भए लगत्तै कोरोना भाइरस विरुद्धको खोपलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने र आसोज मसान्तसम्ममा ३३ प्रतिशतमा खोप पुर्याइने घोषणा गर्नुभएको थियो । सोही अनुरुप सरकारले अनुदान प्राप्त हुने देशबाट अनुदान तथा चीन र भारतबाट खरीद गरेर पनि खोप ल्याउने नीति लिएको हो ।     
     
 सरकारले १८ वर्षभन्दामाथिका ७१ दशमलव ६ प्रतिशत अर्थात् कुल २ करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य राखेको छ । सरकारले आगामी असोजसम्म लक्षित वर्गको ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउनसक्ने जनाएको छ । पहिलो चरणको अर्थात् असोज मसान्तसम्मको लक्ष्य पूरा हुन लागेकाले खोपको आगामी अरु लक्ष्य पनि पूरा हुने देखिएको हो ।     
     
 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने बताइएको छ । खोप अभियानकै क्रममा मन्त्रालयले अहिले पनि भेरोसेलको पहिलो मात्रा खोप अभियान सञ्चालन भइरहेको छ । अहिले दैनिक १लाखभन्दा बढी जनाले खोप लगाइरहेका छन् ।     
     
 अहिलेसम्म पूर्वरुकुम, मनाङ र मुस्ताङका सबै लक्षित समुदायले पूर्णमात्राको खोप लगाइसकेका छन् । उनका अनुसार कुल जनसङ्ख्याको २२ प्रतिशतले पहिलो र २० प्रतिशतले पूर्णमात्राको खोप लगाइसकेका छन् । अहिले ६६ लाख ९ हजार २३३ ले पहिलो र ६० लाख ३६ हजार ४०१ जनाले पूर्ण मात्रा गरी कु्ल १ करोड २६ लाख ४५ हजार ६३४ जनाले खोप लगाइसकेका छन् ।     
     
 खोप अभियानअन्तर्गत सबैले खोप लगाउन थालेपछि सङ्क्रमण पनि घट्दै गइरहेको छ । आइतवार १३ हजार ७३६ जनामा कोभिड–१९ परीक्षण गर्दा ८३४ जनामा सङ्क्रमण देखिएको छ । अहिले परीक्षण गरिएकामध्ये करिब १२ देखि १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।     
     
 अहिलेसम्म नेपालमा सङ्क्रमणको दर १९ प्रतिशत रहेको छ । नेपालमा पहिलो पटक सङ्क्रमण देखिएको एक वर्षपछि नेपालमा खोप लगाइएको थियो । नेपालमा पहिलो पटक २०७६ माघ ९ गते सङ्क्रमण देखिएको थियो । सरकारले गत माघ १४ गतेदेखि खोप लगाउन शुरु गरेयता सात महीनामा यही भदौ १६ गते नै १ करोड ९२ हजार १६४ सर्वसाधारणले खोप लगाएका थिए ।     
बालबालिकाका लागि चाँडै १ लाख मात्रा आउँदै     
     

 सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना र फाइजर खोप लगाइने तयारी गरेको छ । बालबालिका लागि मोडर्ना ४० लाख र फाइजर ६० लाख मात्रा ल्याइने छ । मोडर्ना कोभ्याक्स सुविधाअन्तर्गत ल्याउनका लागि पैसा पनि बुझाइसकेको छ । खोप शाखा प्रमुख दाहालले एक लाख मात्रा फाइजर खोप चाँडै नै आउने बताए ।     
     
 उनका अनुसार अहिलेसम्म एक करोड ७७ लाख मात्रा खोप आइसकेको छ । यसैगरी ५९ लाख मात्रा भेरोसेल खोपका लागि पैसा तिरिसकेको उनले बताए । कुल खोप लगाउने लक्षितमध्ये २० प्रतिशत कोभ्याक्स सुविधामार्फत ल्याउने सरकारले तयारी रहेको छ । कोभ्याक्सबाट निःशुल्करुपमा १ करोड १३ लाख मात्रा खोप प्राप्त गर्ने सरकारको योजना छ । सरकारले असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप र चैतसम्म ३ करोड २३ लाख मात्रा खोप ल्याइसक्ने बताएको छ ।     
     
सार्कमा नेपाल चौथो     
कोरोना भाइरस विरुद्धको खोप लगाउनेमा नेपाल सार्क मुलुकमा चौथो स्थानमा छ । सार्क देशहरुमा सबैभन्दा बढी भुटानले ६५ दशमलव ६ प्रतिशत नागरिकलाई खोप दिएको छ । त्यस्तै दोस्रोमा मालदिभ्सले ६१ दशमलव ४८, श्रीलंकाले ५२ दशमलव ६१ प्रतिशतलाई र नेपालले लक्षित बर्गको २८ प्रतिशत नागरिकलाई पूर्ण मात्रामा खोप लगाएको छ । रासस
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्