ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

आर्थिक पुनरूत्थानमा जोड दिन विश्व बैंकद्वारा सुझाव

२०७८ असोज, ११  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

 असोज ११, काठमाडौं । विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरले पाँच दिने नेपाल भ्रमण पूरा गरेका छन् ।

कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिवद्धता दोहोर्‍याउँदै दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष सेफरले पाँच दिने नेपाल भ्रमण पूरा गरेको विश्व बैंकले  सोमवार जारी गरेको प्रेसनोटमा उल्लेख गरेको छ । उनले आर्थिक पुनरूत्थानमा जोड दिन पनि सुझाव दिएका छन् ।

सेफरले नेपालको कोभिड–१९ खोपको तीव्र विस्तार र आर्थिक पुनरूत्थानमा जोडसहितको कोभिड प्रतिकार्यको सराहना गरेको विश्व बैंकले बताएको छ । 


‘२०७२ सालको भुकम्पलगायत विविध आघातबाट माथि उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीतिसहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो,’ उपाध्यक्ष हार्टविग सेफरलाई उदृत गर्दै विश्व बैंकले प्रेसनोटमा लेखेको छ ।

विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंकले गर्व गर्ने पनि उनले बताएका छन् । विश्व बैंक नेपालको हरित, उत्थानशील र समावेशी पुनरूत्थानका लागि सरकार, विकास साझेदार, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवालासँग मिलेर काम गर्न प्रतिवद्ध रहेको पनि उनको भनाइ छ ।

नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) सम्बन्धी गत असोज ७ गते आयोजना गरिएको उच्चस्तरीय सम्मेलनको अवसरमा जारी गरिएको काठमाडौंं घोषणापत्रमा हस्ताक्षर गर्न विश्व बैंक नेपाल सरकार र विकास साझेदारको साथमा सहभागी भएको थियो ।

उक्त घोषणापत्रले ग्रिड भिजनप्रतिको सरकारको प्रतिवद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरु, संस्थागत कार्यलगायत क्षेत्र तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरू सहित साझेदारहरूको सहयोगलाई एकतावद्ध गरेको छ । 

उनले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको पनि भ्रमण तथा अवलोकन गरेका थिए ।

विश्व बैंकले प्रस्तावित माथिल्लो अरूण जलविद्युत् आयोजनाको विकासका लागि तथा नेपाल–भारत उच्च भोल्युमको सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्नका लागि नेपालकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशनको लागि सम्भाव्यता अध्ययन कार्यमा सहयोग गरिरहेको छ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्