ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बागलुङमा रोकियो तामाखानीको अध्ययन

२०७८ असोज, १९  
गण्डकी प्रदेश
NA

बागलुङ । २ वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा शुरू भएको तामाखानीको अध्ययनको काम रोकिएको छ । कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा मजदूर घर हिँडेपछि खानी अध्ययनको काम रोकिएको हो ।   
 
एक वर्षदेखि रोकिएको काम कोरोनाको त्रास कम भएपछि पनि शुरू गर्न नसकिएको अध्ययन गरिरहेको कम्पनीले बताएको छ । चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रूपले २०७६ मङ्सिरदेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको थियो ।

एक वर्षअघि खानीको अध्ययन भइरहेको क्षेत्रका सर्वसाधारणमा समेत संक्रमण देखिन थालेपछि चिनियाँ प्राविधिक समूह काम छोडेर हिँडेको शुभम् ग्रूपका अध्यक्ष श्याम अधिकारीले बताए । ‘विदेशी प्राविधिकको सुरक्षाका लागि हामीले काम रोक्न बाध्य भयौं,’ अधिकारीले भने, ‘कोभिड कम भएको छ, दशैं, तिहार जस्ता पर्व सकिएपछि पुनः काम थाल्छौं ।’

तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा ७० मिटर लामो र बाह्रमुरेमा १०० मिटर लामो सुरुङ तयार भइसकेको छ । सुरुङमार्फत जमिनको भित्री भागको ढुंगा, माटो संकलन गरी प्रयोगशलामा परीक्षण गर्ने काम भइरहेको अधिकारीले बताए । ‘अबको ६ महिनामा अध्ययनको सबै काम सक्छौं,’ उनले भने, ‘जमिनभित्र धातुको मात्रा हेर्ने काम बाँकी छ, पहिलो चरणको ९० प्रतिशत काम सकेका छौं, वातावरणीय अध्ययन र विस्तृत परियोजना प्रतिवेदनको काम पनि सकिन्छ ।’

तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ । अध्ययनको अन्तिम प्रतिवेदनका आधारमा बाँकी काम अघि बढ्ने अधिकारीको भनाइ छ । पहिलो चरणको परीक्षणमा मात्रै करीब ४ करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि १ अर्ब हाराहारीमा लगानी हुने अनुमान गरेको छ ।

ठूला सुरुङ बनेर यत्तिकै छोडिँदा बाढीपहिरोको त्रास हुने र जमिन कमजोर भएकाले आसपासका बस्तीको व्यवस्थापन गरिनुपर्ने स्थानीयवासीको माग छ ।

पुराना खानी र त्यहाँ देखिने धाउको संकेतका आधारमा बागलुङ नगरपालिकाले खानी सञ्चालनको पहल थालेको थियो । पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेपछि २ वर्षपछि अध्ययनको काम थालिएको थियो । खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउनेछ ।

स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने कुनै पनि काममा बाधा अवरोध नआउने गरी काम भएकाले अध्ययनको बाँकी काम पुनः शुरू हुने बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताए । परीक्षण भइरहेका दुई खानीमा १६ स्थानीय कामदार, चार कम्पनीका प्रतिनिधि, पाँच चिनियाँ प्राविधिक र पाँच इञ्जिनीयरले काम गरिरहेका थिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्