ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मंगलवारदेखि हेटौंडा केन्द्रित आन्दोलन गर्दै यातायात व्यवसायी

२०७८ असोज, १९  
वाग्मती प्रदेश
NA
author avatar अभियान संवाददाता

काठमाडौं । स्थानीय रूटमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडादर बढाउनुपर्ने माग राख्दै सोमवार बिहानैदेखि काठमाडौंमा आन्दोलन गरेका यातायात व्यवसायीले मंगलवारदेखि बागमती प्रदेशको राजधानी हेटौंडामा आन्दोलन गर्ने भएका छन् । काठमाडौंमा आन्दोलन गरेर आफ्ना माग पूरा नहुने भन्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् ।

दिनभर आन्दोलनमा रहेका व्यवसायीले सोमवार बेलुका बैठक बस्दै प्रदेश प्रमुखको कार्यालय घेराउ गर्न र आफ्ना माग पूरा गराउन प्रदेश राजधानी जाने निर्णय गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष भरत नेपालले मंगलवारदेखि नै आफूहरू मुख्यमन्त्री र विभागीय मन्त्रीको कार्यालय घेराउ गर्न हेटौंडा जाने बताए । ‘बरु हामी दशैं मनाउँदैनौं, तर आफ्ना माग पूरा गराएरै छाड्छौं,’ उनले भने ।

व्यवसायीले छाटो दूरीका सार्वजनिक सवारीसाधनको भाडा बढाउनुपर्ने माग राख्दै काठमाडौंको चक्रपथमा चल्ने गाडी बाटोमै तेस्र्याएर आन्दोलन गरेका थिए । व्यवसायीले ग्वार्को, कोटेश्वर, गौशाला, सातदोबाटो, चाबहिल, सुकेधारा, कलंकी लगायत स्थानमा खाली गाडीले सडक अवरोध गरेर आन्दोलन गरेका थिए । उनीहरूले गाडीले यात्रु बोकेको पाएमा बीच बाटोमै रोकेर हिँड्न बाध्य पारेका थिए । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सवारीसाधनमा पहिलेको भाडादरमा २८ प्रतिशतले वृद्धि गरे पनि प्रदेश अन्तर्गतका जिल्लामा चल्ने सवारीसाधनमा भने भाडादर बढाएको छैन । यी जिल्लामा भाडा बढाउन प्रदेश सरकारले निर्णय गर्नुपर्ने भए पनि बागमती प्रदेशले छोटो दूरीका सवारीसाधनमा भाडा बढाउनेबारे हालसम्म कुनै निर्णय नगर्दा व्यवसायी आन्दोलित भएका हुन् ।

सोमवारको आन्दोलनमा काठमाडौंसहित धादिङ, रसुवा, मकवानपुर, सिन्धुपाल्चोक लगायत जिल्लाका ७२ ओटा कम्पनीका करीब ५ हजार सवारीसाधन र त्यसमा काम गर्ने १० हजार मजदूर रहेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्