ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रस्तावित ‘मेरा राष्ट्रिय निकुञ्ज’को विषयमा अध्ययन गरिने

२०७८ असोज, १९  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । मकालु वरुण राष्ट्रिय निकुञ्जको सोलुखुम्बुतर्फको भागलाई समेट्दै राष्ट्रिय निकुञ्ज बनाउने विषयमा औपचारिक अध्ययन शुरू गरिने भएको छ । ‘मेरा राष्ट्रिय निकुञ्जका’ रूपमा अगाडि बढाउने गरी प्रस्तावित निकुञ्जको विषयमा सम्भाव्यता अध्ययनका लागि समिति गठनको तयारी गरिएको हो ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री उत्तमकुमार बस्नेत र संघीय सरकारको वन तथा वातावरण मन्त्रालयका उच्च पदाधिकारीबीच निकुञ्ज बनाउने विषयमा अध्ययन गर्न समिति गठन गर्ने सहमति भएको छ । शुक्रवार मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेललगायत उच्चपदस्थ कर्मचारीसँग भएको भेटमा छुट्टै निकुञ्ज बनाउन अध्ययनका लागि विज्ञहरूसमेत सम्मलित गरी समिति गठन गर्ने सहमति बनेको हो । त्यसका लागि आइतवार वन विभागमा सरोकारवालाहरूको बैठक तय गरिएको छ । उक्त बैठकबाट विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिको संलग्नतामा समिति गठन गरिनेछ ।

मकालु वरुण राष्ट्रिय निकुञ्जअन्तर्गत सोलुखुम्बुको महाकुलुङ र छिमेकी गाउँपालिकाहरू सोताङ, माप्य दूधकोशी तथा थुलुङ दूधकोशीका केही भाग समेटेर छुट्टै निकुञ्ज बनाउने तयारी गरिएको छ । उक्त निकुञ्ज अन्तर्गत मेरापिक हिमाल लगायत पर्यटकीय स्थलसमेत पर्दछ । हाल मकालु वरुणबाट सोलुखुम्बुका बासिन्दाले प्रत्यक्ष लाभ लिन नसकेकाले स्थानीयवासीले छुट्टै निकुञ्ज बनाउनुपर्ने माग गर्दै आएका थिए । यसअघि सो क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहेका राज्यमन्त्री बस्नेतले स्थानीयवासीको मागअनुसार निकुञ्ज बनाउन पहल गर्दै आएका छन् ।

‘अहिले प्रस्ताव गरिएको राष्ट्रिय निकुञ्ज घोषणा गरी कार्यान्वयन गर्न सके स्थानीयले धेरै लाभ लिन सक्छन्,’ उनले भने । निकुञ्ज क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रबाट उठ्ने पर्यटन रोयल्टीबापतको रकमले मात्र पनि ठूलो विकासका काम गर्न सकिने उनको भनाइ छ । निकुञ्जको घोषणासँगै उक्त क्षेत्रमा पर्ने मेरापिकलगायत हिमाल र केन्पा, बुुकुर, पाँचपोखरी, साल्पा, सिलुछो, घ्याङ्खर्कलगायत पर्यटकीय क्षेत्रको एकीकृत विकास गर्न सकिने अपेक्षा गरिएको छ ।

राज्यमन्त्री बस्नेतले सोलुखुम्बुकै सोलुदूधकुण्ड नगरपालिकाअन्तर्गत पर्ने टिम्बुरबोटे–पत्ताले–गौरीटाप क्षेत्रको वनलाई समेत संरक्षित वन बनाउने पहल थालेका छन् । उक्त क्षेत्रको वन पैदावारको संरक्षण गरी स्थानीयको जीवनयापनमा सहयोगी बनाउन सकिने सम्भाव्यताका आधारमा ती क्षेत्रलाई संरक्षित क्षेत्र बनाउने तयारी शुरू गरिएको हो ।
राज्यमन्त्री बस्नेतले सोलुखुम्बु, खोटाङ, भोजपुर र संखुवासभाको सीमानामा पर्ने वन क्षेत्रलाई पनि ‘संरक्षित वन’ बनाउने विषयमा अध्ययन गरिने बताएका छन् । त्यस क्षेत्रलाई वन्यजन्तु आरक्ष क्षेत्रको रूपमा विकास गर्न सकिने विषयमा अध्ययन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्