ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

शेयरबजारमा बियरिस ट्रेन्ड आएकै हो त ?

२०७८ असोज, २०  
लेख | दृष्टिकोण
Image Not Found

शेयरबजार लामोसमय बढी रहने प्रवृत्तिलाई बुल र घटी रहने प्रवृत्तिलाई भनिन्छ । प्रायः कमोडिटी, रियल इस्टेट, भाडा, कर, स्थानीय कर निरन्तर बढ्ने हुँदा स्थापित कम्पनीहरूको सम्पत्तिको मूल्यमा हुने वृद्धि र नयाँ प्रतिस्पर्धी प्रवेश गर्न निकै कठिन हुने भएकाले बजार बुलमा जानुपर्ने हो तर सधैं यो शाश्वत हुँदैन । नजिकको ठूलो देश भरतमा २००३ मा सेन्सेक्स मात्र ३००० थियो त्यो बढेर २००८ मा २२००० पुग्यो यो बुल हो । २००८को विश्वव्यापी मन्दीले यो २००९ सम्म फेरि ८००० मा झर्‍यो यो बियर हो । २००९ बाट बढ्न थालेको शेयर २०२१ मा ६०,००० पुग्नु ज्यादै लामो बुल ट्रेन्ड हो त्यसपछि ५८००० मा आएको छ तापनि त्यो बियरिस ट्रेन्ड होइन । किनकी बियरिस हुन पनि कम्तीमा २५ हप्तासम्म शेयर घटिरहनुपर्छ भनिएको छ ।

नेपालको शेयरबजारमा पनि उतारचढाव छ । गतवर्षबाट आएको बुलिश ट्रेन्ड प्राकृतिक नहुन सक्छ भन्ने सन्दर्भमा केही अनुमान यो पंक्तिकारले ८ जुनमा ‘शेयरबजारको वृद्धि अस्वभाविक त छैन’ भन्ने शीर्षक र १६ जुनमा ‘शेयरबजार बढ्ने सामान्य कारण’ नामक २ लेखमा शेयरबजार अस्वाभाविक बढ्नुमा स्रोत नखुलेको सम्पत्ति कारक हुन सक्छ भन्ने अनुमान गरिएको थियो । अनेक नामबाट कालो धन लगानी गर्ने अनि वैध बनाएर निकाल्ने चक्कर चलेको त छैन भन्ने आशय ती लेखमा छ ।

कोरोनाको पहिलो चरणको चौथो महीनाबाट बढ्न थालेको शेयर १३०० अंकबाट ३२०० अंकसम्म पुग्यो र अहिले त्यति बेलाबाट शेयर घटेको छ जब तोकिएको कर तिरेर अवैध तथा स्रोत नखुलेको सम्पत्तिलाई वैध बनाउने बाटो खुल्यो । त्यो नियम नआउँदासम्म शेयर कुँडेको दूधझैं उम्लनु र उपाय भेटिनााथ घट्नुमा कतै तादाम्यता त छैन भनी अनुमान गर्नु वित्तीय अधर्म होइन । यसैबीच केही दिनअगाडि शेयर खरीद विक्री केन्द्रका सीईओले राजीनामा दिए, उनी दोषी देखिएको प्रारम्भिक खबरहरू बाहिरिएका छन् । यहाँनेर नेप्से र धितोपत्र बोर्डका सीईओ र नियुक्ति गर्ने सरकारको बीचमा पक्कै कुनै न कुनै सम्बन्ध त हुन्छ नै । त्यसैगरी बजारमा अनेक स्वतन्त्र कालाबजारी पनि मनग्गे छन् ।

पछिल्ला दिनमा सरकारले पनि गोप्य रूपमा पैसा बनाउँछ भन्ने कुराका धेरै नै प्रमाण बाहिरिएका छन् । जस्तै राज्यका लागि सामग्री खरीद गर्दा कमिशनका रूपमा ७० करोडसम्म आउने कुरा त लगभग एक अडियो प्रकरणले प्रमाणित गरेको छ । यद्यपि त्यसलाई ज्यादै नाटकीय तरीकाले चोख्यादै पनि छ । त्यो बाहेक वाइड बडी खरीदमा पनि कमिशनको व्यापक चर्चा भयो, करछली, विद्युत् महसुल छली अनेक हल्ला पैसासँग जोडिएका छन् ।

बूढीगण्डकी जलाशयुक्त आयोजनाको ठेक्काका सन्दर्भमा पनि अनेक प्रश्नहरू कमिशनसँग जोडिएका छन् । यसैगरी ओम्नी समूह, यति समूह, गोकर्ण रिर्सोट, कोभिडको भ्याक्सिन खरीदलगायत काण्डहरूलाई एकै ठाउँमा जोडेर हेर्दा सरकारले आफू सत्तामा रहँदा कतै न कतैबाट पैसा जम्मा पार्छ । यस्तो पैसा पार्टीको नाममा गुटको नाममा, चुनाव खर्चको नाममा, कुनै विश्वासिलो व्यापारीको नाममा राखिन्छ भन्ने कुरा पनि निरीह नागरिकले अड्कल काटेकै छन् । हावा नचली पात हल्लिँदैन । यस्तैबाट जुटेको र सम्हाल्न नसकेको पैसा कतै शेयरबजारमा पनि आयो कि भन्ने शंका गर्ने प्रयाप्त ठाउँ छ । कहिले शेयर ≈वात्त बढ्नु र कहिले नराम्रोसँग तल आउनुमा कतै कमिशनको धनलाई बडो गोप्य तरीकाले शेयरबजारमा लगाउने र त्यहाँबाट झिकेपछि सबै धन स्वतः नियमबमोजिम ५ प्रतिशत लाभकर तिरेर सेतो हुने भएकाले शेयरबजार तलमाथि भएको त होइन, शंका गर्ने प्रयाप्त ठाउँ छन् । चुनाव खर्चको बढ्दो आँकडा हेर्दा राजनीति अब सेवामात्र हो भन्ने अनुमान गर्नु मूर्खता हुन्छ । राजनीतिक दलले आजकल पोर्टफोलियो मेनेजर नराखेका होलान् भन्न सकिँदैन ।

जुन कुनै प्रकारको कालोधन शेयरबजारमा आएको कारणले नेप्से अचाक्ली बढेको र अहिले कालोधनलाई कर तिरेर सेतो बनाउने प्रावधान आएकाले बजारबाट झिकेर पुन र्लगानी नगरीएको कारणले नेप्से घटेको हो कि भन्ने आशंका पर्यवेक्षकहरूले गरेका छन् । यो केबल अनुमान मात्र हो । चोरले खुट्टा तानभन्दा तानिहाल्ने गल्ती कसैले नगर्नु होला । तर, राजनीति महँगो भएको यथार्थ शाश्वत हो ।

हुनत केही हप्ताअगाडि अति नै उचाइमा पुगेको भारतीय शेयर सूचक सेन्सेक्स ६०,००० हजार अंकबाट माथि पुगेर फेरि पछाडि लगातार घटेर ५८,००० मा आएको छ । यसमा कच्चा तेलको मूल्य बढ्नुलाई कारक मानिएको छ । केही हप्ताअगाडि फुटबल म्याचको समयमा रोनाल्डिनोले कोकाकोला खाँदा तिर्खा मर्दैन होला भन्ठानेर त्यो कालो बोत्तल पर सारेर पानी पिउँदा समेत ४ बिलियन डलरले शेयरको भाउ घटेको थियो । नेपालमा त्यही भएर शेयर घटेको हुन सक्छ । गएको वर्षबाट अहिलेसम्म जुन तीव्रताका साथ नेपाल र भारतको शेयरबजारमा उछाल आयो र त्यसको अनुमान कुनै हस्तीहरूले गरेका थिएनन् । गतवर्ष सबैभन्दा तल्लो विन्दु ३८००० मा रहेको भारतीय सेन्सेक्स २२००० अंकले बढेर ६०,००० पुग्नु र नेपालको नेप्से १३०० तिरबाट बढेर ३२०० पुग्नु आफैमा नाटकीय उतार चढाव हो । तर, यसको कारण के हो भनी पत्ता नलाग्नु चिन्ताको विषय हो ।

आजको युगमा कारणविना असर देखिँदैन भन्ने कुरालाई अस्वीकार गर्न मिल्दैन, शेयर बजार पनि अकारण बढ्ने र घट्ने पक्कै भएको छैन । कुनै दिन २१ अर्ब कारोबार हुने बजार मा अस्ति बिहीवार ५ अर्बको मात्रै कारोबार किन भयो । १५ दिनको बीचमा जुन अनुपातमा शेयर घटेको छ यो कहाँसम्म ओर्लिने हो हो अनुमान गर्न कठिन छ । तापनि अझै त यो बियरिस भएको छैन ।

यसरी घट्नुमा कालोधनको बहिर्गमन हो वा मौद्रिक नीतिअनुसार शेयर धितोमा राखेर लिन पाइने ऋणको कोटा १२ करोडमा सीमित गरिनु हो वा अरू केही कारणले यसरी बजार ढुनमुनियो भन्ने बारेमा सूक्ष्म अध्ययन गर्ने र नव लगानीकर्तालाई जानकारी दिने कुनै स्वतन्त्र निकाय बन्न सके राम्रो हुने थियो । हुनत नेपालमा त्यो निकाय बनिहाले पनि विश्वासिलो हुँदैन त्यसैले बजारमा सम्हालिएर लगानी गरौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्