ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोशी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सकियो

प्रदेश नं १ मा विद्युत् प्रवाहको मेरुदण्ड तयार

२०७८ असोज, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २०, काठमाडौं । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । 

पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्रतार तान्ने कार्य सम्पन्न भएको छ । 

नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैंकद्वारा धनकुटाको हिलेमा सोमवार संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरिएको हो । 

११ करोड २० लाख अमेरिकी डलर अनुमानित लागत रहेको उक्त प्रसारण लाइन आयोजना नेपाल सरकार र भारत सरकारले एक्जिम बैंकबाट दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ । 

उक्त आयोजना मार्फत तुम्लिङटारदेखि बसन्तपुरसम्म करीब १ हजार मेगावाट, ढुंगेसाँघु (ताप्लेजुङ) देखि बसन्तपुरसम्म करीब १हजार मेगावाट र बसन्तपुरदेखि इनरुवासम्म करीब २ हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिन्छ । साथै प्रदेश नं १ का जिल्लाहरुमा विश्वसनीय विद्युत् आपूर्तिका लागि प्रसारण तथा वितरण सञ्जाल बन्ने छ । 

कार्यक्रममा एक्जिम बैकका प्रतिनिधि विश्जजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपालस्थित भारतीय दूतावासकी उपप्रमुख नामग्या सी खाम्पालगायतको उपस्थिति थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । कोशी करिडोर र कावेली करिडोर प्रसारण लाइनलाई लिंक गर्न लागिएको जानकारी दिंदै  उनले आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए । 

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ग्राहकसम्म पुर्याउन पूर्वाधार तयार भएको बताए । प्रसारण लाइन निर्माणपछि यस क्षेत्रका खोलानालामा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताए ।  

नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत् खरीद गर्न मात्र नभएर विक्री गर्न समेत पाउने बताइन् । 

धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले इच्छाशक्ति भएमा ठूला आयोजना पनि समयमै सम्पन्न हुन्छ भन्ने कोशी करिडोरको निर्माणबाट पुष्टि भएको बताए  । 

प्रसारण आयोजना तीन ओटा प्याकेजमा विभाजन गरी निर्माण गरिएको छ । पहिलो प्याकेजमा इनरुवा–तुम्लिङटार प्रसारण लाइन, दोस्रो प्याकेजमा तीन ओटा सबस्टेसन र तेस्रो प्याकेजमा तेह्रथुमको वसन्तपुरको ताप्लेजुङको ढुंगेसाँघुसम्म प्रसारण लाइन तथा सबस्टेसनको निर्माण गर्ने रहेको छ । 

अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणधीन कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारण लाइन हो ।

एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो । प्याकेज १ को निर्माण भएको छ भने २ र ३ को क्रमश : ८० / ७० प्रतिशत निर्माण सकिएको बताइएको छ । 

प्राधिकरणले निजी क्षेत्रका २८ ओटा आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारण लाइनमा जोड्ने गरी विद्युत खरीद सम्झौता (पीपीए) गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।आयोजनाको दोस्रो प्याकेज अन्तर्गतका संखुभासभाको बानेश्वर तथा तुम्लिङटार र वसन्तपुरमा २२०/ १३२/ ३३ केभीका तीन ओटा सबस्टेसनहरु र इनरुवा सबस्टेसनमा ‘बे एक्सटेन्सन’ को काम अन्तिम चरणमा छन् । आयोजनाको सम्पूर्ण कार्य मार्च २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य छ । 

हाल ३३ केभीमा चार्ज गरिएको प्रसारण लाइनमार्फत भोजपुर, संखुवासभा र तेह्रथुममा निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गरिएको छ । यसबाट वर्खाको समयमा त्यस क्षेत्रका आयोजनले बेहोर्दै आएको प्रसारण लाइनको समस्या समाधान भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्