ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

गुणस्तर र उपभोग्य मिति केन्द्रित बजार अनुगमन

२०७८ असोज, २१  
वाग्मती प्रदेश
NA

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले चाडपर्व केन्द्रित बजार अनुगमन शुरू गरेको छ । चाडपर्व शुरू भएसँगै बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो । दैनिक उपभोग्य वस्तुको मूल्य र उपभोग्य मिति (म्याद)मा केन्द्रित भएर बजार अनुगमन तीव्र बनाइएको विभागका आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन शाखाका प्रमुख एवं प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

उनका अनुसार चाडपर्व शुरू भएसँगै दैनिक ६ समूहबाट बजार अनुगमन भइरहेको छ । ‘हाम्रो काम नै बजार अनुगमन हो । निरन्तर अनुगमनमै हुन्छौं । चाडपर्व शुरू हुनुभन्दा अगाडि दैनिक दुई÷तीन समूहबाट अनुगमन हुने गरेकोमा बढाएर दैनिक ६ समूहलाई बजारमा पठाउने गरेका छौं,’ उनले भने, ‘चाडपर्व नजिकिएसँगै अन्य समयको तुलनामा ४० प्रतिशत बढी कारोबार हुने भएकाले अनुगमन बढाएका हौं ।’

उपभोक्ताको बढी भीड हुने समयमा व्यवसायीले उपभोग्य मिति सकिएका खाद्य वस्तु विक्री गर्न सक्ने भन्दै चनाखो हुन उनले आग्रह गरे । ‘उपभोक्ता ठगिन बच्न हामीले वस्तु र सेवा केन्द्रित भएर अनुगमन गरेका हौं । आम उपभोक्ता पनि चनाखो हुनुपर्ने आवश्यक छ,’ उनले भने ।

पछिल्लो समय बजारमा अधिकांश खाद्य पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल खुद्रा व्यवसायी संघको तथ्यांकअनुसार कोभिड–१९ पछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न थालेको हो ।

पछिल्लो केही दिनयता अण्डा, चामल, चिनी तथा खाने तेलको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले चाडपर्वमा खाद्यान्नको अभाव नहुने बताइसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सरकार तथा निजीक्षेत्रका उद्योगी, व्यापारीसँग पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको भन्दै अभाव नहुने बताएका हुन् । चाडपर्व शुरू भएसँगै बजार अनुगमनको जिम्मा पाएको विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । गत बुधवार सरकारले पौडेलको सरुवा गरे पनि उनको स्थानमा नयाँ महानिर्देशक पठाएको छैन । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्