ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

फोहोरमैलाको स्रोत परिचालन

२०७८ असोज, २१  
लेख | दृष्टिकोण
Image Not Found

काठमाडौंलगायत विभिन्न शहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बद्ध निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भएको छ । ६ ओटै महानगरपालिका, ११ ओटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाका शहरहरूमा फोहोरमैला व्यवस्थापन भोग्नेलाई भोगीनसक्नु, बुज्नेलाई बुजीनसक्नु छ । फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौं महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, धनगढी, सुर्खेत, वीरगञ्ज र पोखरा, भरतपुरलगायत देशका विभिन्न शहरहरूमा फोहोरमैलाको व्यवस्थापन समस्याको रूपमा रहेको छ । काठमाडाैं उपत्यकाको हाल दैनिक निष्कासन हुने करीब १२०० मे.टन फोहोरमैला व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ ।

काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोरमैला निष्कासन गर्न थालेको करीब १६ वर्ष पुगिसक्यो । काठमाडौं, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनि बनाएको उक्त डम्पिङ साइटमा हाल १८ ओटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्डफिल्ड साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा ल्यान्डफिल साइट निर्माण कार्य सम्पन्न हुँदै छ । २ वर्षका लागि भनेर बनाएको डम्पिङ साइटमा करीब १६ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानीय बासिन्दा आक्रान्त हुनु स्वाभाविक नै हो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्ट्याएर मात्र राख्ने स्यानेटरी ल्यान्डफिल साइट हुने कुरा प्रकाशमा आएको छ । सिसडोल ल्यान्डफिल साइट २०७८ साउनको पहिलो हप्ता पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ठूलो चुनौती आएको छ । दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको सिसडोल ल्यान्डफिल साइटमाथि भनेजस्तै पूर्णरूपमा भरिई समस्या ग्रस्त भएको नौलो होइन । पूर्ण समाधानका लागि बन्चरे डाँडाको ल्यान्डफिल्ड साइट निर्माण सम्पन्न गरि फोहोरमैला व्यवस्थापनका लागि स्रोत परिचालन गरि प्रयोग गर्नुपर्छ । बन्चरेडाँडा काठमाडौंबाट २७ किलोमीटर उत्तरपश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल साइटले बाहिरी क्षेत्रसहित १७०० रोपनी जग्गा ओगटेको जानकारीमा आएको छ । स्यानिटरी ल्यान्डफिल साइट फोहोरमैलाको वैज्ञानिक आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको हो । यस ल्यान्डफिल साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् । फोहोरलाई स्रोतमै छुट्ट्याएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोरमात्र ल्याएमा यो ल्यान्डफिल साइट १०० वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बद्ध पक्षको भनाइ छ ।

फोहोरमैला व्यवस्थापनका लागि स्रोत परिचालन नहुनु, नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो, आफ्नो जिम्मेवारी नसम्झिने, कानूनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावजस्ता कारणले फोहोर मैला व्यवस्थापनमा समस्या बल्झिरहने गरेको छ । फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि त्यसअनुसार कार्यान्वयन गर्न नसक्नु, दीर्घकालीन योजनाको अभावले पनि यस्तो भएको हो । ल्यान्डफिल साइटको अभाव, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमैला व्यवस्थापनमा समुदाय र निजीक्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेशिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव, फोहोरमैला व्यवस्थापनमा निहित स्वार्थ, फोहोरमैला व्यवस्थापनमा राजनीतिक खिचातानीले समस्या झन् चर्किएको हो । अन्तरनगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन गर्न नसक्नु, संस्थागत रूपले तालीम तथा विकास हुन नसकेको, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, कमजोर संस्थागत अभ्यासका कारण फोहोरमैलालाई स्रोतका रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभई खर्बाैं धनराशी नोक्सानी भएको छ ।

फोहोरमैलाको समाधानको सबैभन्दा उत्तम उपाय नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला ब्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्न कर्मचारी आवश्यक तालीम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अध्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्नेजस्ता कामबाट यसको व्यवस्थापन गर्न सकिन्छ । नगरवासीहरूलाई यसको व्यवस्थापनमा सहभागी गराउने, निजीक्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्ययोजना बनाई अगाडि ल्याउन आवश्यक छ । यस्तो कार्य योजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजीक्षेत्रलाई उपलब्ध गराउने सेवासुविधा स्पष्ट रूपमा उल्लेख हुनुपर्छ । नगरक्षेत्रको फोहोरमैला व्यवसथापन बढीभन्दा वढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ । फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी त्यसबाट प्रशोधन गरी मल उत्पादन गर्न, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिका उपयुक्त प्रविधि भित्र्याई आवश्यक व्यवस्थापन गर्न नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्न आवश्यक छ । उपयुक्त प्रविधिको पहिचान गरी सहीरूपले फोहोरबाट मोहोर आर्जन गर्न सकिन्छ । ल्यान्डफिल साइटको व्यवस्था गर्न सार्वजनिक फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा कानूनले स्पष्ट व्यवस्था नगरेकाले निकायगत जिम्मेवारीमा दोहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था छ । फोहोरमैला व्यवस्थापन सम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यमान कानूनहरूलाई परिमार्जन गरिनुपर्छ । प्राङ्गारिक मलको कारखाना खोल्न आवश्यक पहल गर्नुपर्छ । यसो गर्न सके बन्चरेडाँडाको ल्यान्डफिल साइट वातावरणमैत्री हुनेछ ।

लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्