ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सहकार्यविनाका सहकारी

२०७८ असोज, २१  
सम्पादकीय
Image Not Found

नेपालमा झन्डै ३० हजार सहकारी संस्था दर्ता भई आर्थिक कारोबार गरिरहेका छन् । यी संस्थाहरूमा ७३ लाखभन्दा बढी सदस्यहरू आबद्ध भई रू ९४ अर्बभन्दा बढी शेयर पूँजी लगानी गरेका छन् भने यस्ता सहकारीले रू. ४ खर्बभन्दा बढी बचत संकलन र त्यति नै बराबरको रकम कर्जा प्रवाह गरिरहेको पाइन्छ । सहकारी क्षेत्र यति ठूलो र विस्तार भए पनि सयौं सहकारीले हजारौं सदस्यहरूको बचत अपचलन गरी सदस्यहरूलाई बिचल्लीमा पारेको अवस्था छ । पछिल्लो समय सिभिल सेभिङ एन्ड क्रेडिट कोपरेटिभका पूर्वअध्यक्षसहित १२ जना पक्राउ पर्नु यसको उदाहरण हो ।

सहकारीको मालिक पनि सदस्य र ग्राहक पनि सदस्य नै हुन् । यसमा हुने गलत क्रियाकलाप र असफलताका लागि जिम्मेवार व्यक्ति भनेका शतप्रतिशत सहकारीका सदस्य नै हुन् ।

सिद्धान्ततः सहकारी संस्था भनेको व्यक्तिहरूको स्वशासित संस्था हो, जसको गठन स्वेच्छाले आपसी रूपमा आर्थिक, सामाजिक, सांस्कृतिक आवश्यकता तथा इच्छापूर्तिका लागि संयुक्त रूपमा प्रजातान्त्रिक विधिद्वारा हुन्छ । त्यसैले सहकारी भनेको व्यक्तिको हुँदैन । यसका बचतकर्ता र ऋणी पनि यसकै सदस्य हुन्छन् । यसको सञ्चालन, नियन्त्रण सबै सदस्यहरूबाट नै हुन्छ । तर, सदस्यहरूको बचत रकम आफूखुशी खर्च गर्ने र सहकारीमा हिसाबमा नदेखाउने तथा केही व्यक्तिले आफूखुशी गर्ने गरेको पाइन्छ । यही कारण सहकारीहरूमा समस्या देखिने गरेको हो ।

सिभिल मात्र होइन, ठूला र साना सयौं सहकारीहरूमा यस्तै घोटाला भइरहेको पाइन्छ जसमध्ये धेरैको चर्चा भएको पनि पाइँदैन । सहकारीमा हिसाबकिताब गडबड गर्नेहरूमध्ये केही जेलमा परेका छन् भने केही लुकिछिपी बसेको पनि पाइन्छ । यसरी सहकारीमा गडबड हुनुका कारण सहकारीलाई सरकार र सहकारी अभियन्ताले राम्ररी नबुझाउनु वा सहकारीको मर्मअनुसार काम नगर्नु नै हो । सहकारीमा विकृति भित्रियो भनेर सरकारी नियमनका आधारमा नियन्त्रण गर्ने सोच झन् गलत छ । सरकारले नियमन गरिदिन्छ भनेर सहकारीका सदस्यहरू निष्क्रिय बन्दा सहकारीहरूमा समस्या झनै बढेको हो भन्ने सकिन्छ ।

सरकारी नियमन बैंकिङलाई हुन्छ । तर, सहकारी संस्था भनेको यसका सदस्यहरूले नै नियमन गर्ने हो । सहकारीको मालिक पनि सदस्य र ग्राहक पनि सदस्य नै हुन् । यसमा हुने गलत क्रियाकलाप र असफलताका लागि जिम्मेवार व्यक्ति भनेका शतप्रतिशत सहकारीका सदस्य नै हुन् । सहकारी संस्थामा समस्या आउनुको मूल कारण सहकारीको अवधारणाअनुसार नचलेर हो । त्यसैले सहकारीमा सदस्य हुने मानिसहरूलाई सहकारिताको अवधारणाबारे जानकारी र प्रशिक्षण दिनुपर्छ । सहकारीमा बैंकमा पैसा राखेजस्तो गर्दा समस्या भएको हो । तर, सहकारीमा पैसा राख्नु भनेको बैंकमा राख्नुजस्तो होइन । ठीकसँग उपयोग भइरहेको छ कि छैन भनेर बुझ्ने अधिकार सदस्यसँग हुन्छ । यही काम सदस्यहरूले नगर्दा सहकारीहरू बन्द हुने, यसको रकम व्यक्तिले चलाउने र बचतकर्ताको रकम हिनामिना हुने गरेको हो । अर्को, बैंकले भन्दा बढी ब्याज दियो, मुनाफा दिएको छ भनेर केही हर्ताकर्तालाई सदस्यहरूले सहकारीको पूर्ण जिम्मा दिँदा पनि समस्या भएको हो । त्यस्तै सहकारी समूहगत भए पनि मेरो सहकारी भन्दै केही व्यक्तिले भन्दै हिँड्नु र सहकारीलाई यसरी व्यक्तिले आफूखुशी चलाउनु पनि समस्याको मूल कारण हो ।

सरकारले नियमन गर्छु भनेको छ र बेलाबेलामा गर्न खोजेको जस्तो पनि देखिन्छ । तर नियमन हुन सक्दैन । धेरै देशमा सहकारी सफल छैन । भारतको सहारा सहकारीमा यस्तै भएको हो । तर, इजरायलमा भने ठीक तरीकाले चलिरहेको छ । इच्छाराज तामाङ समातिएर सहकारी क्षेत्रमा कुनै ठूलो नीतिगत परिवर्तन होला, सहकारी क्षेत्र सुधार होला भनेर आशा गर्नु बेकार छ । सिभिलमा गडबडी भएको कुरा आजदेखि चर्चामा आएको होइन । तर, अहिले मात्रै सीबीआईले कारबाही किन गर्‍यो पहिले किन गरेर भन्ने कुराको जवाफ निकाल्न सकियो भने सहकारीभित्रको अनियमितता र सहकारी असफल हुने कारणबारे थाहा हुन्छ । त्यही कुरालाई सम्बोधन गर्न सकियो भने सहकारीमा यस्तो विकृति रोकिन सक्छ, अन्यथा सहकारीहरूमा बदमासी भइरहनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्