ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उच्च आदालत दिपायलद्वारा एक वर्षमा ५६६ ओटा मुद्दा फर्छ्यौट

२०७८ असोज, २१  
सुदूरपश्चिम प्रदेश
Image Not Found

असोज २१, दिपायल । उच्च आदालत दिपायलमा गत आर्थिक वर्षमा कुल एक हजार १५ मुद्दा दर्ता भएकोमा ५६६ फर्छ्यौट भएका छन् । 

अदालतमा परेका देवानी मुद्दाअन्तर्गत लिखित बदरमा १५ मा सात मुद्दा फर्छ्यौट भएका छन् भने आठ मुद्दा फर्छ्यौट हुँन बाँकी छन् । यसैगरी विभिन्न कागजात अपुग भएका कारण ४०९ मुद्दा फर्छ्यौट हुन बाँकी छन् ।

अंश मुद्दामा २२ परेकामा १३ फर्छ्यौट भएका छन् भने नौ मुद्दा बाँकी,  फौजदारीअन्तर्गत जालसाजी मुद्दामा ६४ मुद्दा दर्ता भएकामा ३३ फर्छ्यौट भएका छन् भने ३१ मुद्दा बाँकी रहेका जानकारी दिइएको छ । यसैगरी रिट पुनरावलोकनमा २८ मुद्दा दर्ता भएकोमा १८ फर्छ्यौट भएका छन् भने १० फर्छ्यौट हुँन बाँकी छन् ।

वन्यजन्तुलगायतका कसुरमा कुल ४४ मुद्दामा ३३ फैसला भएका छन् भने ११ मुद्दा फैसला हुन बाँकी रहेको अदालतले जानकारी दिएको छ । अदालतको अपहेलना, बालबालिका तथा राजस्व चुहावटमा दर्ता भएका सबै मुद्दा फर्छ्यौट भई न्याय सजायसमेत तोकिसकिएको छ । उच्च अदालतमा दर्ता भएका मुद्दामा सबैभन्दा बढी कैलाली जिल्लाका रहेको बताइएको छ । 

गत आवमा लागुऔषधका मुद्दा सबैभन्दा बढी दर्ता भएका थिए । लागुऔषध ओसारपसारदेखि सेवनका घटना गएका आवमा कुल ८६ दर्ता भएको पाइएको छ ।

कुल ८६ ओटा लागुऔषधका मुद्दा दर्ता भएकामा ४४ ओटा फछ्यौट भएको र अब ४२ मुद्दा फर्छ्यौट हुन बाँकी रहेका रजिष्ट्रार रणबहादुर कटवालले जानकारी दिए । उनका अनुसार दर्ता भएका ती मुद्दामा खैरो हिरोइनदेखि गाँजा तथा चरेससम्मका छन् ।

यसैगरी दोस्रो नम्बरमा जबर्जस्ती करणीका मुद्दा दर्ता भएका छन् । अदालतमा जबर्जस्तीलगायतका करणीसम्बन्धीका मुद्दा कुल १९६ ओटा दर्ता भएकामा ९९ मुद्दा फछ्र्यौट भएका छन् भने ९७ फर्छ्यौट हुन बाँकी छन् । 

तेस्रो नम्बरमा ज्यानसम्बन्धी १६४ मुद्दा दर्ता भएको उनले बताए । उनले भने, उच्च आदालतमा सबैभन्दा बढी लागुऔषधका मुद्दा छन् र तेस्रो नम्बरमा ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन्, ज्यानसम्बन्धीका १६४ मुद्दा दर्ता भएकामा ९२ फर्छ्यौट भइसकेका छन्, ७२ बाँकी छन् ।’

अदालतको न्याय सम्पादनलाई चुस्त तथा थप प्रभावकारी बनाइएको कामु मुख्य न्यायाधीश तेजबहादुर कार्कीले जानकारी दिए । उनले भने, पछिल्लो ‘समय अदालतले समयमै मुद्दाको किनारा पनि चाँडै लाग्ने गरेका कारण पीडित भएकाले मुद्दा दर्ता गराउने संख्या बढेको हो ।’  

लागुऔषध नियन्त्रण गर्न यहाँका प्रहरी प्रशासनले लामो समयदेखि प्रयास गरे पनि खुला सीमाका कारण नियन्त्रण तथा रोकथाम गर्नमा समस्या हुँदै आएको बताइएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्यांकअनुसार सुदूरपश्चिममा खैरो हिरोइन, फेन्सिडोल, ब्राउन सुगर तथा गाँजा, चरेसका सेवनकर्ता र ओसारपसार गर्नेको संख्या अधिक रहेको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्