ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पर्वत जलजलाका सबै विद्यालयमा ल्यापटप र प्रिण्टर

२०७८ असोज, २२  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको जलजला गाउँपालिकाले सबै विद्यालयमा ल्यापटप र प्रिण्टर उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ल्यापटप र प्रिण्टर उपलब्ध गराइएको गाउँपालिकाले बताएको छ । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीका अनुसार ४४ ओटा विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

प्रावि तहसम्म सञ्चालनमा रहेका आधारभूत विद्यालय, कक्षा आठसम्म सञ्चालनमा आधारित रहेका आधारभूत विद्यालय र त्यसभन्दा माथि कक्षा १२ सम्मका विद्यालयका लागि उक्त सामग्री वितरण गरिएको क्षेत्रीले बताए । वितरण गरिएका ल्यापटप तथा अन्य सामग्रीको प्रयोगका लागि केही समयमै कम्तीमा पनि ३०० शिक्षकलाई एकीकृत तालिम सञ्चालन गर्ने तयारी थालिएको जानकारी उनले दिए ।

स्थानीय तहभित्र रहेका आठओटा माध्यमिक विद्यालयलाई थप एक/एकओटा ल्यापटप समेत दिइएको छ । ७० हजार रुपैयाँका दरले ५२ ओटा ल्यापटपका लागि ३६ लाख ४० हजार रुपैयाँ र ४४ ओटा विद्यालयलाई ३१ हजार मूल्यका फोटोकपी तथा स्क्यान सुविधा सहितका प्रिन्टर प्रदान गरिएको हो । विद्यालयलाई संघीय सरकारले नै इन्टरनेटका लागि वार्षिक १२ हजार रुपैयाँ दिने व्यवस्था छ । विद्यालयले एकीकृत रूपमा विवरण अद्यावधिक गराउन तथा शिक्षण सिकाइमा समेत प्रविधिको प्रयोगले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले विद्यालयका विवरण एकीकृत रूपमा अनलाइनमा राख्ने सम्बन्धी प्रशिक्षण यसअघि नै गरिसकिएको भए पनि कम्प्युटरबाट गर्न सकिने अन्य कामको बारेमा सिकाउन पुनः पालिकास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । शिक्षामा बढी केन्द्रित रहेकाले नै उपकरण प्रदानदेखि भौतिक पूर्वाधार निर्माण पनि गरिरहेको मल्लको भनाइ छ ।

गाउँपालिकाको वडा–६ शालिजाको सर्वोदय प्राथमिक विद्यालयकी शिक्षक सेतीमाया पाइजा पुनले स्थानीय सरकारको सहयोगले विद्यालयलाई प्रविधिमा जोड्न सहज हुने बताइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्