ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

यसरी बनौं विवेकशील उपभोक्ता

२०७८ असोज, २२  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

किनमेलका लागि बजार जाँदा विवेकशील बनेर ठगिनबाट जोगिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ । अझ चाडपर्वका बेला त बजार गएर कुनै पनि वस्तु किनमेल गर्दा हरेक उपभोक्ताले मूल्य, गुणस्तर, प्रयोग वा उपभोग्य मिति आदि आधारभूत विषयमा बुझेर मात्रै निर्णय लिनुपर्छ ।

सामान्य अवस्थामा भन्दा दशैं, तिहार र छठ जस्ता ठूला चाडवाडमा किनमेलका लागि बजारमा उपभोक्ताको बाक्लो भीड लाग्छ । यस्तोमा कतिपय गैरजिम्मेवार व्यापारीले उपभोक्तासँग चर्को मूल्य असुल गर्ने, म्याद सकिएका वा ‘रिलेबलिङ’ गरेका वस्तु विक्री गर्न सक्छन् । त्यसैले आफूलाई ठगिनबाट जोगाउन बजारसम्बन्धी केही महŒवपूर्ण जानकारी राख्नुपर्छ ।

चाडपर्व होस् वा अघिपछि किनमेल गर्न बजार जाँदा उपभोक्ताबाट विभिन्न गल्ती भइरहेका हुन्छन् । आगामी दिनमा त्यस्ता गल्ती नदोहो¥याउन सबैभन्दा पहिला किन्नुपर्ने सबै सामानको सूची तयार पार्नुहोस् । यसरी आवश्यक पर्ने सामानको सूची तयार पारेर बजार जाँदा एकातर्फ समयको बचत हुन्छ भने अर्कोतर्फ कुनै पनि सामान छुट्न पाउँदैन ।

सम्भव भएसम्म बजार मूल्यको बारेमा जानकारी राख्नु पनि विवेकशील उपभोक्ताको एउटा विशेषता हो । मूल्यको बारेमा पाइएसम्मको जानकारी राख्नाले अनावश्यक रूपमा पसलेसँग बार्गेनिङ गर्नुपर्ने झन्झट बेहोर्नुपर्दैन । यसले उपभोक्ताको समय हुनुका साथै सहज पनि हुन्छ ।

विशेषगरी दाल, चामल, मिठाई, दूध, दही, आटा, गेडागुडी जस्ता खाद्यवस्तु सकेसम्म खुला राखिएका स्थानबाट किनमेल नगर्न उपभोक्ता अधिकारकर्मीहरू सुझाउँछन् । अरू बेलाको भन्दा चाडपर्वको समयमा धेरै मात्रामा यस्ता वस्तुको किनमेल हुने हुँदा प्याकेजिङ गरिएका र प्याकेटमा अधिकतम खुद्रा मूल्य, तौल, उत्पादन मिति तथा उपभोग्य म्याद स्पष्ट रूपमा लेखिएको भएमात्र सामान खरीद गर्न सकिने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । नेपाली उत्पादन हो भने चाहिँ खाद्य अनुज्ञापत्र भएको खानेकुरा किन्नुपर्ने उनको सुझाव छ । कुनै पनि सामान खरीद गर्दा अनिवार्य रूपमा बिल माग्ने बानीको विकास गर्नुपर्ने उनी बताउँछन् ।

सामान खरीद गर्दा बिल नलिएमा खरीद गरिएको वस्तु नक्कली पर्‍यो वा म्याद सकिएको प¥यो भने विक्रेता÷व्यापारीलाई कानून बमोजिमको कारबाही गर्न समस्या हुने भएकाले आफूले किनेको वस्तुको बिल माग्नु विवेकशील उपभोक्ताको कर्तव्य पनि हो ।

नेपालको संविधान २०७२ धारा ४४ को ‘ख’ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवाको खरीदबाट भएको आर्थिक, सामाजिक र मानसिक क्षतिको विषयमा सम्बन्धित आयातकर्ता वा विक्रेताबाट क्षतिपूर्ति भरण गर्ने संवैधानिक व्यवस्था गरेको छ । यसको कानूनी उपचारका लागि उपभोक्ताले बिल लिनु जरुरी हुन्छ । खरीद गरेको बिल नदिएमा यसबारे सम्बन्धित निकायमा उजुरी गर्न पनि पछि पर्न हुँदैन ।

लत्ताकपडा खरीद गर्न जाँदा पसलेले चर्को मूल्य तोक्न सक्ने भएकाले सही ढंगले बार्गेनिङ गरेर मात्र निर्णय लिनुपर्छ । माछामासु तथा जिउँदो खसीबोका, राँगा, हाँस, कुखुरा आदि घीनलाग्दो भएमा, रोगी जस्तो देखिएमा किन्नुहुँदैन । पशुसेवा कार्यालय, काठमाडौं महानगरपालिका, पशुसेवा विभागले हरियो रङ लगाएको पशु स्वस्थ मानिने भएकाले त्यो खरीद गर्न सकिन्छ । शहरी क्षेत्रका उपभोक्ता यस्ता विषयमा अझ बढी होसियार रहनु पर्दछ ।

लामो तथा मध्यम दूरीमा यात्रा गर्दा यात्रुले सकेसम्म खानेकुरा आफैले बोकेर हिँड्नु राम्रो हुन्छ । त्यसो गर्न सम्भव नभएमा जथाभावी रूपमा जुन पायो, त्यही होटेल वा पसलमा गएर खानेकुरा किनेर खानु हुँदैन । बाध्यात्मक अवस्थामा ताजा भए मात्र खाने र बासी भएको पाइएमा उपभोक्ता अधिकारकर्मी, सञ्चारमाध्यम तथा नजिकको प्रहरी प्रशासनमा खबर गर्नु विवेकशील उपभोक्ताको अर्को परिचय हो ।

कुनै पसलमा सामान किन्न पसिसकेपछि धेरैजसो ग्राहक पसलेको मित्रवत् व्यवहारले आफूलाई मन नपरेको सामान भए पनि किन्न बाध्य हुन्छन् । त्यसैले ग्राहक÷उपभोक्ताले के बुभ्mन जरुरी छ भने पसले वा विक्रेताले ग्राहकसँग जतिसुकै मित्रवत् व्यवहार गरे पनि उनीहरू सामान बेच्नकै लागि बसेका हुन्छन् । उनीहरूको नरम व्यवहारले आफूलाई तत्काल आवश्यक नपर्ने सामान किन्नु हुँदैन । यसो गर्दा फजुल खर्च बचाउन सकिन्छ । किनमेलका लागि बजार पस्दा उपभोक्तालाई सबैभन्दा बढी लोभ्याउने र झुक्याउने भनेको सेल बजारले हो । यस्ता बजारमा ‘यति मूल्यको सामान यतिमा, यति प्रतिशत छूट वा यतिओटा किन्दा यतिओटा फ्रीमा’ जस्ता अफर गरिएको हुन्छ । तर यस्ता बजारबाट उपभोक्ता जोगिनु जरुरी छ । यस्ता बजार विशेषगरी म्याद सकिएका वा सकिन लागेका सामान कटाउन सञ्चालन भएका पनि हुन सक्छन् ।

ठगिनबाट बच्न सबैभन्दा महत्त्वपूर्ण उपाय भनेकै उपभोक्ता सजग रहनु हो । जबसम्म आफू ठगिएको कुरा राज्यका नियामक निकाय, उपभोक्ता अधिकारकर्मी र सञ्चारमाध्यमसम्म पुर्‍याइँदैन, तबसम्म उपभोक्ता ठगिइनै रहन्छन् । जागरुक तथा विवेकशील उपभोक्ताको माध्यममबाटै जिम्मेवार सरकार र इमानदार व्यवसायी बन्ने हो । त्यसैले हरेक उपभोक्ता जिम्मेवार र सचेत हुनु निकै जरुरी छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्