ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

समावेशी बन्दै तराई मधेशको दशहरा

२०७८ असोज, २२  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar ओमप्रकाश खनाल

नेपालको पहाडी क्षेत्रमा मनाइने दशैंलाई तराई मधेशमा दशहराको रूपमा मनाइन्छ । कृषि कर्म र खाद्यान्न भण्डार मानिएको तराई मधेशमा खेतीपातीबाट फुर्सद मिल्ने समयमा पर्वको शृंंखला शुरू हुन्छ ।

असोज आउँदा नआउँदै किसानले भदैया (वर्षे) धान आआफ्नो घरमा भित्र्याइसकेका हुन्छन् । अगहनी (मङ्सिरमा हुने) धानको रोपाइँदेखि सोहनी (गोडलेम) समेत भइसकेको हुनाले करीब डेढ महीना कृषि कर्म फुर्सदिलो हुने भएकाले तराई मधेशमा यो समयमा पर्वको लहर नै शुरू हुने स्थानीय संस्कृतिका बारेमा जानकार सञ्चारकर्मी रितेश त्रिपाठी बताउँछन् । ‘डेढ महीनापछि फेरि अगहनी धानको कटाइको चटारो आउनेवाला हुन्छ । तराई मधेशमा यसबीचको समय उत्सव र उमंगका लागि उपयोग गर्ने सामाजिक व्यवस्था छ,’ पत्रकार त्रिपाठी भन्छन् । दशहरा, दीपावली, छठलगायत पर्व यही बीचमा पर्दछन् ।

असोज महीनाको शुक्ल प्रतिपदादेखि दशमी तिथिसम्म जगदम्बा (जगत्की आमा) मानिने देवीका विभिन्न ९ स्वरूपको आराधना गरिन्छ । तराई मधेशको पर्व तथा संस्कृतिका बारेमा गहिरो जानकारी राख्ने पत्रकार चन्द्रकिशोरका अनुसार यस क्षेत्रका प्रत्येक गाउँका देवी र देवता हुन्छ । देवीलाई सातोमाई भनिन्छ भने देवतालाई ब्रह्मबाबा मानिन्छ । दशहराका नवरात्रिमा तिनै सातोमाईको पूरा गरिन्छ । वीरगञ्जको गहवामाई गहवा गाउँकी सातोमाई हुन् । बिन्दवासिनी, बिर्तामाई यस्तै माई हुन् । दशहरामा यी शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस्ता स्थलहरूमा सातोमाईको सामूहिक पूजाआजाको प्रचलन हुन्छ ।

यसपटक पनि प्रतिपदा तिथिदेखि नै यी मन्दिरमा भक्तजनहरूले पूजा थालिसकेका छन् । कोरोना संक्रमणलाई ध्यानमा राखी पछिल्ला वर्षहरूमा सतर्कताका उपाय भने अपनाइएको छ । प्रतिपदाको दिन घरघरमा चण्डीपाठ गरेर राखिएको जमरा दशमीका दिन पुरोहितले जजमानलाई दिने परम्परागत चलन भएको चन्द्रकिशोर बताउँछन् । प्रतिपदाका दिनदेखि नवमीसम्म नवरात्रको रूपमा मनाउँदै शक्तिको आराधना गरिन्छ । प्रतिपदाको दिनलाई जई गिरावे के दिन (जमरा हाल्ने दिन)को रूपमा मनाइन्छ भने यो दिन देवीको शैलपुत्री स्वरूपको आराधना हुन्छ । प्रतिपदापछि ९ दिनसम्म पवित्र भएर निष्ठापूर्वक ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी र सिद्धिदात्री स्वरूपको पूजा गर्ने परम्परा छ ।

तराई मधेशको दशहरामा टीका लागाउने परम्परा नभए पनि पछिल्लो समयमा यस क्षेत्रका पर्वहरू समावेशी बन्दै गएको बुझाइ पत्रकार चन्द्रकिशोरको छ । ‘पहिला तराई मधेशको दशहरामा दशमी तिथिका दिन पुरोहितले जजमानलाई जमरा दिने चलन थियो । तर, अहिले जमरासँगै टीका पनि लगाउने र आफन्तकहाँ टीका थाप्न जाने चलन पनि थपिएको छ,’ उनी भन्छन्, ‘पहाडी समुदायमा लगाइने टीकालाई मधेशको समुदायले पनि दशहरामा टीकाको रूपमा सिको गरेको छ ।’

पछिल्लो समय अधिकांश पर्वहरूमा समावेशी अभ्यास देखिएको छ । दशैंमा तराई मधेशमा पनि टीका लगाउने र यस क्षेत्रमा भक्तिभावपूर्वक मनाइने छठ पर्वमा पहाडी तथा मुश्लिम समुदायले समेत व्रत, पूजा–आराधना गरेका उदाहरण पर्याप्त पाइन्छन् ।

लोकमान्यताअनुसार दशहरा असत्यमाथि सत्यको जितको पर्व हो । दश दिनको युद्ध गरेर दशमीको दिन देवी दुर्गाले महिषासुरलाई हराएको पौराणिक कथामा आधारित यो पर्व तराई मधेशमा निकै निष्ठापूर्वक मनाउने गरिन्छ ।

गाउँघर शहरका टोलका देवी मन्दिरमा जौ हालेर पूजा गर्ने चलन छ । पर्व मनाउने परिपाटीमा परिवर्तन आएको पत्रकार त्रिपाठी पनि बताउँछन् । ‘कामका लागि भारत पश्चिम बंगालको कोलकातामा मानिसको आउजाउ बढेपछि दुर्गामण्डप बनाउने चलन भित्रिएको छ । दुर्गामण्डपमा अरू देवीदेवताको मूर्ति, महिषासुर वध आदि प्रदर्शन गरी पूजा गर्ने परिपाटी देखिएको छ,’ उनले भने । दशैंको सप्तमीदेखि दशमीसम्म विभिन्न स्थानमा मेला आयोजनाको प्रचलन पनि छ । अष्टमीमा वीरगञ्जमा मेला लाग्ने गरेको छ । कोरोनाकालमा स्थानीय प्रशासनले यसमा मापदण्ड तोकेर नियन्त्रणको उपाय पनि अपनाएको छ ।

अष्ठमी र नवमीका दिन बोका, राँगा, हाँस र कुखुराको बलि दिने चलन भए पनि नवरात्रिको पूजा शुद्ध भएर गर्नुपर्ने मान्यता छ । काम विशेषले घरबाट टाढा रहेकाहरू पनि दशहरामा घर फर्किने, परिवारजन र आफन्तसँग भेटघाटको अवसरको रूपमा पनि यो पर्वलाई लिइएको छ । दशहरामा फर्किएकाहरू एकैपटक तिहारपछि आउने छठ मनाएरै आआफ्नो पेशा व्यवसायमा फर्किने गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्