ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वरपीपलले सजाउन सकिन्छ घर र बगैंचा

२०७८ असोज, २२  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली मनमा वरपीपल सम्झिनेबित्तिकै श्रद्धा जाग्ने गर्छ । सनातन हिन्दु तथा बौद्ध दुवै धर्ममा वरपीपलको विशेष महत्व भएकाले परापूर्व कालदेखि नै यी वनस्पतिलाई विशेष श्रद्धा गर्ने प्रचलन रहेको पाइन्छ । अग्नि पुराणमा वरपीपल सुखद दाम्पत्य र सन्तान वृद्धिको प्रतीक हुन भनिएको छ भने भगवान बुद्धले पीपलकै रुखमुनि ध्यान गरेर बुद्धत्व प्राप्त गरेको इतिहास छ । पीपललाई भगवान विष्णुको रूपमा पनि पुजिन्छ । वर र पिपल । यी दुई वनस्पतिको आध्यात्मिक महत्व अधिक भएकाले नै गाउँघर, वस्ती, उकाली–ओराली, देउरालीमा पुर्खाहरूले रोपेका वरपीपलका जोडी रुख र तिनको छहारीमा आराम गर्ने चौतारी देशैभरि पाइन्छन । उमेर पुगेका वरपीपलको जोडीको विवाह गराइदिने चलन पनि छ ।

गाउँबस्तीमा यत्रतत्र पाइने भए  पनि हाँगा र जरा दुवै बृहत रूपमा फैलिने र तिनले घर, पर्खाललाई हानिसमेत गर्ने हुँदा वरपीपलको बोट घर, कम्पाउन्डभित्र भने लगाउन असम्भव हुन्छ । यद्यपि हाल नेपालमा पनि बगैंचा र वनस्पतिका सौखिनबीच लोकप्रिय हुँदै गएको बोनसाई प्रविधिका कारण यस्ता बृहत रूपमा फैलिने रुखलाई पनि चिटिक्क परेको बोनसाई गरेर बोनसाई गमलामा हुर्काउन र घर सजाउन सम्भव बनाएको छ । अनि, घरमा हरियालीसहित धार्मिक महत्वको बिरुवा रहेको आत्मसन्तुष्टि पनि प्राप्त गर्न सकिन्छ ।

आफूलाई मन पर्ने ठूल्ठूला रुख–बिरुवालाई पनि आफैंले चाहेजस्तो आकार/प्रकारमा सानै ठाउँमा मनमोहक तरिकाले हुर्काउने कला नै बोनसाई हो । यो कला १२ औं शताब्दीदेखि जापानबाट प्रचलित भएको इतिहास पाइन्छ । जापानबाटै प्रख्यात भएको हुँदा बोनसाईलाई जापानी वनस्पति स्याहार कलाको रूपमा पनि चिनिन्छ । तर, त्यसअघि नै चीनमा बौद्ध भिक्षुहरूले बोनसाई गर्दथे भन्ने अर्को ऐतिहासिक तथ्य भेटिन्छ । बौद्ध भिक्षुहरूले आध्यात्मिक महत्वका रुख–बिरुवालाई आफू अध्ययन गर्ने बौद्धविहार परिसरमै रोपेर श्रद्धा प्रकट गर्ने प्रयासको परिणामस्वरूप बोनसाई कलाको विकास भएको मानिन्छ ।

उक्त बेहोराको इतिहासलाई मान्ने हो भने बौद्ध भिक्षुहरूले श्रद्धा गर्ने प्रमुख वृक्ष पीपल (बोधिवृक्ष) भएको हुँदा पीपल नै बानसाई गरिएको सर्वप्राचीन वृक्ष हुन सक्ने अनुमान लगाउन सकिन्छ । जे भए पनि समयक्रमसँगै हामीमाझ प्रचलनमा आएको बोनसाई कलाको मध्यमबाट धार्मिक तथा वैज्ञानिक दृष्टिबाट महत्वपूर्ण वनस्पति पीपल र वरलाई घर, आँगन, कोठा, बार्दली वा कार्यालयमै हुर्काउन र सजाउन सकिन्छ ।

वर वा पीपलको स्वस्थ डाँठ भएको सानो हाँगो काटेर सिसा वा प्लास्टिकको भाँडोमा भरिएको स्वस्थ पानीमा राखेर वरपीपल बोनसाईको पहिलो आयाम सुरु गर्न सकिन्छ । यसरी राखिएको डाँठमा करिब साता दिनदेखि जरा उम्रिन सुरु हुन्छ भने करिब दुई महिनापछि अर्को माटोयुक्त सानो भाँडोमा सार्न सकिन्छ । यसलाई वरपीपल बोनसाईको अर्को अध्याय मान्न सकिन्छ ।

बोनसाई गरिने बिरुवालाई सारिने भाँडोमा बोनसाई सोयल भनिने मलयुक्त माटोले भरेको हुनुपर्दछ । जतनसाथ माटोले भरिएको भाँडोमा सारिएपछि समय–समय पानी हालेर स्याहार गर्नुपर्दछ । मलयुक्त माटो र नियमित स्याहारपछि बोनसाई गरेको वरपीपलको बिरुवाले आफ्नो प्राकृतिक स्वभावअनुसार जरा लिन थाल्छ । बोनसाई गरिने वरपीपलको जरालाई गहिराइभन्दा पनि चारैतिर फैलाउनु उपयुक्त मानिने हुनाले जरा गहिराइमा जानबाट रोक्न भाँडोको सतह सम्म परेको प्रयोग गर्न वा भाँडोको तल्लो भागमा सम्म वस्तु इँटा वा ढुंगाको चेप्टो टुक्रा राख्न सकिन्छ । बोनसाई गरिएको बिरुवाको जरा मानिसको कपालजस्तै चारैतिर समान तरिकाले बढेको हुनुपर्छ भनिन्छ । जरालाई सीधा तल जान यसरी रोकेर उपयुक्त तरिकाको जरा विकास गर्न सकिन्छ ।

यसरी जरा र पात स्वस्थ तरिकाले बढाउन दोस्र्रो भाँडोमा राखिएको बिरुवालाई करिब एक वर्षपछि अर्को स्थायी बोनसाई गमला (बोनसाई भाँडो) मा सार्न सकिन्छ । बोनसाई गरिने गमलालाई नै बोनसाई भाँडो (बोनसाइ पट) भनिन्छ । बोनसाई गमला सामान्य गमलाभन्दा मुख्यत आकारमा सानो र चिटिक्क परेको हुने गर्दछ । बोन्साईको तेस्रो भाँडोमा सारिएपछिको अवस्थालाई वरपीपल बोनसाईको तेस्रो चरण मान्न सकिन्छ ।

यस समय सुरु चरणमा रहेका पातलाई काँटछाँट गर्नुपर्दछ । त्यसपछि पलाउने नयाँ पात तुलनात्मक रूपमा साना, झुप्प परेका र आकर्षक हुन्छन । पानी, मलयुक्त बोनसाई माटो, उज्यालोको पर्याप्तता आदिको समायोजन गरी आध्यात्मिक महत्वको वरपीपललाई सानो चिटिक्क परेको आकारमा सदावहार धेरै वर्षसम्म सजाउन सकिन्छ । नेपालमा बोनसाई गर्ने प्रचलन अझै व्यापक बनिनसके पनि यो लोकप्रिय हुँदै गएको छ । ठूल्ठूला रुखलाई पनि आफूले चाहेजस्तो सानो चिटिक्क पारेर हुर्काउन सकिने कलाका लागि यो वर र पीपलको बोनसाई गरिने तरिकाको सामान्य जानकारी मात्र हो ।

यद्यपि हाम्रा वरिपरि पाइने धेरै थरी रुख–बिरुवाको बोनसाई गरी घर, बगैंचा तथा कार्यस्थल सजाउन सकिन्छ । केही नर्सरी तथा सामाजिक सञ्जालको माध्यमबाट बोनसाईसम्बन्धी आवश्यक औजार, भाँडो, मल, माटो तथा बिरुवाको खरिद बिक्रीसमेत गर्न थालेको पाइएको छ । तसर्थ, सामाजिक सञ्जाल वा त्यस्ता नर्सरीमा सम्पर्क गरी कलात्मक तरिकाले सजाउने बोनसाई कलाको आनन्द लिन सकिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्