ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साताको कारोबारमा १५ अर्बको शेयर खरीदविक्री : कुल बजार पूँजीकरण करीब ६७ अर्बले बढ्यो

२०७८ असोज, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । यो साता चार दिन मात्र शेयर कारोबार भएको छ । सातामा पाँच दिन सञ्चालक हुने शेयर बजार घटस्थापनाको सार्वजनिक विदाका कारण चार दिनमात्र सञ्चालन भएको हो । 

चार कारोबार दिनमा यो साता दुई दिन बजार बढेको छ भने दुई दिन घटेको छ । पहिलो कारोबार दिन ५५ दशमलव ९३ र दोस्रो दिन ६ दशमलव ६८ अंकले घटेको बजार तेस्रो दिन ४१ दशमलव ८४ अंक र चौथो दिन ६८ दशमलव ४७ अंकले बढेको हो । 

गत साताको अन्तिम कारोबार दिन २ हजार ६३३ दशमलव ४२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ४७ दशमलव ६९ अंक माथि उक्लिएर २ हजार ६८१ दशमलव ११ विन्दुमा पुगेको छ । 

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि यो साता ७ दशमलव ६९ अंक बढेको छ । गत साता ४९७ दशमलव शून्य ५ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५०४ दशमलव ७४ विन्दुमा पुगेको हो ।

यो साताको कारोबारमा नेप्से परिसूचक न्यूनतम २ हजार ५४२ दशमलव शून्य ९ विन्दुसम्म झरेको थियो । ३ हजार २०० विन्दुमाथि पुगेको शेयर बजार पछिल्लो समय नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिपश्चात प्रभावित बनेको थियो । 

राष्ट्र बैंकले लागू गरेको मार्जिन कर्जाको सीमाका कारण मुख्यतया बजार प्रभावित बनेको देखिन्छ । लगानीकर्ता संघ संगठनहरुले मार्जिन कर्जाको सीमाको व्यवस्था खारेज गर्न दबाब दिइरहे पनि राष्ट्र बैंक भने आफ्नो निर्णयमा अडिक रहेको देखिन्छ । 

पछिल्लो दुई दिनको कारोबारलाई हेर्दा सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेका गत वर्षको लाभांशका कारण लगानीकर्ता उत्साहित भएको देखिन्छ । हालसम्म सात वाणिज्य बैंक सहित डेढ दर्जनभन्दा बढी कम्पनीहरुले गत वर्षको लाभांश प्रस्ताव गरिसकेका छन् । अधिकांश कम्पनीहरुले यस वर्ष बढाएर आकर्षक लाभांश प्रस्ताव गरेसँगै बजारमा फेरी उत्साह देखिएको हो ।

यो साता रू. १५ अर्ब २३ करोड ९० लाख ९२ हजार बराबरको ३ करोड ६ लाख ३४ हजार १८२ कित्ता शेयर खरीदविक्री भएको छ । कारोबार रकम र कित्ता भने गत साताभन्दा कम भएको हो ।

गत साता पाँच कारोबार दिनमा रू. २६ अर्ब ९ करोड ५१ लाख ६३ हजार बराबरको ५ करोड ५२ लाख २२ हजार ६४८ कित्ता शेयर कारोबार भएको थियो । यो साता रू. १० अर्ब ८५ करोड ६० लाख ७१ हजार बराबरको २ करोड ४५ लाख ८८ हजार ४६६ कित्ता कम शेयर कारोबार भएको हो । 

गत साताभन्दा यो साता कुल बजार पूँजीकरण रकम रू. ६६ अर्ब ७५ करोड २० लाख १४ हजारले बढेको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३६ खर्ब ८६ अर्ब ३३ करोड ८३ हजार रहेको कुल बजार पूँजीकरण रकम यो साता रू. ३७ खर्ब ५३ अर्ब ८ करोड २० लाख ९७ हजार कायम भएको हो । 

गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :

                                                                स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्