ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपालका बेवारिसे बौद्धिक सम्पत्तिहरू

संरक्षण दिन सकिने विषयमा बेवास्ता

२०७८ असोज, २४  
लेख | दृष्टिकोण
Image Not Found

विगत अंकमा अहिलेसम्म नेपालको कानूनी व्यवस्थाभित्र जसोतसो समेटिएका बौद्धिक सम्पत्तिबारे चर्चा गरिएको थियो । ती थिए, प्रतिलिपि अधिकार, सान्निध्य अधिकार (नेबोरिङ राइट), ट्रेडमार्क (व्यापार चिह्न), औद्योगिक डिजाइन र पेटेन्ट । ट्रिप्स सम्झौताअनुसार संरक्षण दिइनुपर्ने थप भौगोलिक संकेत, एकीकृत सर्किट डिजाइन, बालीनालीका नयाँ जात र व्यावसायिक गोपनीयताको पनि कुनै कानूनी व्यवस्था हुन सकेको छैन । यीबाहेक अरू परम्परागत ज्ञान, लोकसंस्कृति, उपयोगी नमूना, जैवी साधन र आनुवंशिक स्रोत, अस्वस्थ प्रतिस्पर्धा निवारण, डिजिटल डाटा, डोमिन नाम, इ–कमर्श, इन्टरनेट संरक्षण पनि मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि निकै सान्दर्भिक छन् । अतः आजको अंकमा आगामी दिनहरूमा कानूनी दायराभित्र ल्याउन उपयुक्त हुने प्रमुख बेवारिसे बौद्धिक सम्पत्तिबारे संक्षिप्त चर्चा गरिएको छ ।

बालीनालीका नयाँ जात सम्बन्धमा ट्रिप्स सम्झौताले त्यस्ता नयाँ जातलाई या त पेटेन्टबाट या त अन्य कुनै स्थानीय मौलिक पद्धतिबाट अथवा संयुक्त रूपमा दुवै तरीका अपनाएर संरक्षण प्रदान गर्नुपर्ने भनेको छ ।

व्यावसायिक गोपनीयताबारे पेरिस महासन्धिमा स्पष्ट उल्लेख नभए पनि यस सम्बन्धमा उक्त महासन्धिको धारा १० ख मा उल्लिखित अस्वस्थ प्रतिस्पर्धा सृजना हुने अवस्था गोपनीय सम्झौता उल्लंघनबाट पनि हुने भएकाले यसलाई औद्योगिक सम्पत्तिअन्तर्गत राख्न सकिन्छ । व्यावसायिक गोपनीयता भनेको कसैले आफ्नो गोप्य सूचना, प्रविधि वा जानकारीलाई व्यापार र उद्योग व्यवसायमा प्रयोग गरेर लाभ लिनु हो । यो व्यक्तिगत स्वतन्त्रताको विषय हो । व्यावसायिक गोपनीयता भन्नाले देहायका विशेषताहरू विद्यमान रहेको कुनै सूत्र, सम्मिश्रण, बनावट, प्रक्रिया, तरीका, विधि, सूचना वा यस्तै जानकारी सम्झनुपर्छ, (क) त्यस्तो जानकारी सहजै भेद नखुल्ने गरी गोप्य राख्न सकिने हुन्छ । (ख) त्यसमा गोपनीयताको कारणले औद्योगिक वा व्यापारिक महत्त्व हुन्छ । (ग) त्यसको गोपनीयता निर्वाह गर्न केही न केही कदम चालिएको हुन्छ । कोकाकोला कम्पनीले आप्mनो फर्मुलालाई व्यावसायिक गोपनीयताबाट संरक्षण गरेको छ । तारे होटेलका सेफहरूमध्ये कसैकसैले उस्तै परिकार पनि अरूको भन्दा बढी स्वादिलो बनाउने कारण यही हो । यसको संरक्षणलाई कुनै औपचारिकता पूरा गर्नु पर्दैन ।

उपयोगी नमूना भन्नाले नौलोपना र औद्योगिक प्रयोजन भएको तर आविष्कारको चरण नभएको सामान्य किसिमको आविष्कार हो । यसको स्वरूप वा संरचनाबाट कुनै प्राविधिक समस्या समाधान हुन सक्छ । जस्तो नौलो प्रकारका हाते औजार । यसलाई लघु पेटेन्ट पनि भनिन्छ । यसको संरक्षण अवधि पेटेन्टको भन्दा छोटो अवधिको हुन्छ । कुनै विधिमा होइन उपयोगी उपकरणमा मात्र उपयोगी नमूनालाई संरक्षण प्रदान गरिन्छ ।

एकीकृत सर्किट डिजाइन अधिकार वाशिङटन सन्धिमा आधारित छ । एकीकृत सरकिट डिजाइन भन्नाले कुनै इलेक्ट्रोनिक कार्य सम्पादन गराउने उद्देश्यले सिलिकन धातुसमेतका सानासाना टुक्राहरू मिलाएर छुट्टै वस्तुका रूपमा वा सम्बद्ध वस्तुमा नै केही वा सबै आन्तरिक रूपमा जडान गरेर बनाइएको र कम्तीमा एउटा तत्त्व सक्रिय रहेको तयारी अवस्थाको वा योजना खाका मात्र तयार पारिएको अर्ध तयारी अवस्थाको इलेक्ट्रोनिक सर्किट डिजाइन सम्झनुपर्छ । घडी, कम्प्युटर, टीभी, ल्यापटप, मोबाइलजस्ता उपकरणमा इलेक्ट्रोनिक काम सम्पादन गर्न यस्तो एकीकृत सरकिट डिजाइन प्रयोग हुन्छ ।

भौगोलिक संकेत (जोग्राफिकल इन्डिकेशन) भन्नाले कुनै भौगोलिक क्षेत्रमा उत्पादन भएको कारणले त्यहाँको जलवायु, स्थानीय शीप र माटोको प्रभावबाट कुनै उत्पादित वस्तुमा खास गुण वा विशेषता वा ख्याति विद्यमान रहेको विषयलाई संकेत गर्ने प्रयोजनको भौगोलिक नाम र त्यससँगै प्रयोग हुने चिह्न भन्ने बुझिन्छ । अर्को तरीकाले भौगोलिक संकेत भनेको तीन ‘ज’ जमीन, जलवायु, जनताको भिन्नताका कारणले कुनै खास वस्तुमा देखिने भिन्न गुणलाई भौगोलिक नाम वा चिन्ह दिनु हो । अतः भौगोलिक संकेतका लागि निम्न तीन शर्त पूरा हुनुपर्छ– भौगोलिक नाम हुनुपर्छ, त्यही नामबाट उपभोक्ताबीच वस्तुको पहिचान हुनुपर्छ र उत्पादित वस्तुको गुणस्तरमा भौगोलिक वातावरणको प्रभाव परेको हुनुपर्छ । भौगोलिक वातावरणको प्रभाव भन्नाले जलवायु, जमीन, जनता अर्थात् ‘३ ज’ प्रभाव नै सम्झनुपर्छ । दार्जिलिङ चिया भौगोलिक संकेतको एक उदाहरण हो ।

बालीनालीका नयाँ जातहरू सम्बन्धमा ट्रिप्स सम्झौताले त्यस्ता नयाँ जातलाई या त पेटेन्टबाट या त अन्य कुनै स्थानीय मौलिक पद्धतिबाट अथवा संयुक्त रूपमा दुवै तरीका अपनाएर संरक्षण प्रदान गर्नुपर्ने भनेको छ । पेटेन्ट वा पेटेन्ट मिश्रित पद्धतिबाट भन्दा कुनै स्थानीय पद्धति (स्वी जेनरिस) बाट नयाँ जातको संरक्षण गरेर बाली प्रजननकर्तालगायत स्थानीय समुदाय र कृषकको अधिकार एवं हकहितको संरक्षण गर्न सकिन्छ । यस्ता जात लैङ्गिक विधिबाट वा जैवी प्रविधिबाट जेजसरी विकसित गरिएको भए पनि नवीनता, भिन्नता, एकरूपता र स्थिरता गरी चार गुण प्रमाणित भएमा मात्र त्यो नयाँ जात मानिन्छ । जस्तो सृजना वर्णसंकर गोलभेडाको नयाँ जात हो ।

जैविक साधन र जैवी विविधता भन्नाले मुलुकको विभिन्न हावापानी, पर्यावरण, धरातŒव, जलाशय, माटो र यिनको सहारामा जीवन चक्र सञ्चालन गर्ने जीवित पशुपक्षी कीटपतंगलगायत प्राणी, सूक्ष्म जीवाणु, वनजंगल र वनस्पति, र तिनीहरूको जात प्रकार वंशजस्ता विषयको भिन्नता वा अनेकता भन्ने बुझिन्छ । यो जैवी विविधता अभिसन्धि, १९९२ बाट पनि यसको संरक्षणमा बल पुगेको छ । सानो मुलुक भए पनि नेपालमा जैविक स्रोत प्रचुर मात्रामा रहेको छ र विश्वमा नेपाल ३२औं स्थान रहेको छ । जैविक विविधताको संरक्षणका लागि चाल्नुपर्ने प्रमुख कदमहरूमा समुदाय स्तरको जैवी साधनमा एक वा बहुसमुदायको हक पहिचान गर्ने, तिनको कानूनी हक र कर्तव्य सुनिश्चित गर्ने, न्यायोचित ढङ्गले जैवी साधनमा पहुँच वृद्धि गर्ने तथा लाभको बाँडफाँट गर्ने, दिगो उपयोग गर्ने र जैविक विविधताको संरक्षण सुनिश्चित गर्ने नै हो ।

परम्परागत ज्ञान भनेको परापूर्वकालदेखि श्रुति परम्पराको रूपमा पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएका वेद, उपनिषद्, स्मृति, आयुर्वेद पद्धति, जैवी विविधताको ज्ञान, परम्परागत प्रविधि, जडीबुटी उपचार पद्धति, कृषि पद्धति, लोकसंस्कृति, लोकसहित्यजस्ता विषयमा कुनै समुदायमा निहित ज्ञान हो । नेपाली जनजीवनमा परम्परादेखि नै पुर्खाहरूले चलाउँदै आएको र पुस्ताहरूमा हस्तान्त्रित हुँदै गएको, विभिन्न जनजाति र स्थानीय समुदायहरूको पनि आफ्नै मौलिक खालको चालचलन रीतिरिवाज, पद्धति, संयन्त्र, प्रणाली र व्यवहार तथा अभ्यासहरू जस्तो : लोककथा, लोकनृत्य, लोकलय, लोकगीत, उखान, जडीबुटी तथा झारफुक उपचार पद्धति, आयुर्वेदिक पद्धति, गाउँखाने कथा, दन्त्यकथा, धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक पहिचान र मूल्यमान्यता, जात्रा, चाडपर्व कृषि पद्धति, स्थानीय भाषा, हस्तकला, वास्तुकला, ललितकलाजस्ता धेरै विषय समेटिएको ज्ञानको क्षेत्र पम्परागत ज्ञान हो । यिनीहरूको स्पष्ट पहिचान र अभिलेखीकरण हुन सकेको छैन ।

लोकसंस्कृति परम्परागत ज्ञानको एक अंश हो । यसअन्तर्गत जनजीवनमा प्रचलित धार्मिक कथा वा पुराण, साहित्यिक र सांस्कृतिक कलात्मक, लोकलय, लोकगीत, नृत्य, उखान टुक्का किस्सा जस्ता विषय पर्छन् । परम्परागत ज्ञानका कतिपय विषय प्रविधि र आविष्कारसँग पनि सम्बद्ध हुन्छन् । परम्परागत ज्ञान र लोकसंस्कृतिको स्पष्ट विभाजन रेखा कोर्न सकिँदैन ।

यी चर्चा गरिएकाबाहेक इन्टरनेटसँग सम्बद्ध अन्य बौद्धिक सम्पत्तिहरू पनि छन् जस्तो डिजिटल डाटा, डोमिन नाम, ई–कमर्श आदि । यी पनि मुलुकको आर्थिक तथा सामाजिक विकासका लागि निकै सान्दर्भिक छन् । बौद्धिक सम्पत्ति जेसुकै होऊन् तिनमा केही न केही नवीनता वा मौलिकता हुन्छ । कुनै पनि व्यवसायको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न, उत्पादित वस्तु वा सेवाको गुणस्तर वृद्धि गर्न, आकर्षण वृद्धि गर्न तथा मूल्य अभिवृद्धि गर्न बौद्धिक सम्पत्तिले ठूलो योगदान पु¥याउँछन् । त्यही कारणले गर्दा आधुनिक उद्योग व्यवसायमा बौद्धिक सम्पत्तिको व्यापक उपयोग गर्ने चलन बढेको छ । विश्व बौद्धिक सम्पत्ति संगठन खडा गरिएको छ र विश्व व्यापार संगठनमा पनि ट्रिप्सले व्यापार सरोकारका बौद्धिक सम्पत्तिहरूको संरक्षणलाई अनिवार्य गरेको छ ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्