ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बडादशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिंदै

२०७८ असोज, २४  
समाचार
Image Not Found

असोज २४, काठमाडौं । नवरात्रको चौथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । 

नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । 

नवरात्रको पहिलो दिन असोज २१ गते बिहीवार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । 

दोस्रो दिन शुक्रवार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिवार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो ।

चौँथो दिन आइतवार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिंदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । 

९ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौ दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । 

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । गत वर्ष नवरात्रका बेला कोरोना भाइरसको संक्रमण बढेकाले धेरै मन्दिर बन्द थिए । यस वर्ष जोखिम कम देखिनुका साथै करिब आधा जनसंख्याले खोप लगाइसकेकाले भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित देवी मन्दिर खुला गर्न दिइएको छ । 

जहाँ भक्तजन पुग्ने गरेका छन् । सबैजसो भक्तजनले मास्क लगाए पनि दूरी कायम भने राम्रोसँग हुन सकेको छैन । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जाने, खानपिन गरी दशैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्