ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सेवा व्यापार सन्तुलन गर्न आन्तरिक पर्यटन

पर्यटन व्यवसायीले ध्यान दिनुपर्ने केही विषय

२०७८ असोज, २५  
लेख | दृष्टिकोण
Image Not Found

पर्यटनमार्फत ठूलो परिमाणमा विदेशी मुद्रा विदेशिने गरेको छ । वर्तमान महामारीले खुम्चिएको पयर्टन प्रयोजनमा बाहिरिने विदेशी मुद्रा स्थिति सामान्य हुँदै जाँदा अझ बढ्ने निश्चित छ । विप्रेषणले ल्याएको समृद्धिले नेपाली समाजमा विकसित घुमफिर संस्कृति आम हुँदै गएको सन्दर्भमा नेपाली पर्यटकका रूपमा बाह्य मुलुक जाने प्रवृत्तिमा वृद्धि हुने यस क्षेत्रमा विज्ञहरूको भनाइ रहेको छ । महामारीका बीचमा नै गत आर्थिक वर्ष २०२०/२१ मा नेपालबाट २८ करोड यूएस डलर बराबरको रकम बाहिरिएको छ ।

घरबाट गन्तव्यसम्म पहुँचका क्रममा आन्तरिक पर्यटकसँग चलाखीपूर्ण व्यवहार गर्ने गरिन्छ । नयाँ स्थानसँग अपरिचित आन्तरिक पर्यटकले अपारदर्शी मूल्यहरूको सामना पाइला पाइलामा गर्नुपर्छ । यस्ता चलाखीयुक्त व्यवहारले आन्तरिक पर्यटनमा असुरक्षाको भाव उत्पन्न हुन गएको छ ।

महामारीमुक्त वर्ष २०१८/१९ मा ७९ करोड यूएस डलर बराबरको रकम बाहिरिएको थियो । अवस्था सामान्य रहँदा यस आँकडामा वृद्धि हुने सहजै अनुमान लगाउन सकिन्छ ।

यसरी पर्यटनमार्फत ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिँदै गर्दा आन्तरिक पर्यटनले भने अपेक्षाकृत गति लिन सकेको छैन । सरकारी, गैरसरकारी एवम् निजीक्षेत्रबाट आयोजना हुने सेमिनार, गोष्ठी, भ्रमण तथा सम्मेलन आन्तरिक पर्यटनको प्रमुख स्रोत बन्न पुगेको छ । धार्मिक तथा सांस्कृतिक प्रयोजनको यात्रा आन्तरिक पर्यटनको अर्को स्रोत हो । यी दुईओटा क्षेत्रबाहेक विशुद्ध घुमफिर प्रकृतिका आन्तरिक पर्यटनमा गुणात्मक सुधार आउनु सकेको छैन । यसरी घुमफिर पर्यटनमा सुधार आउन नसक्दा आन्तरिक पर्यटन उद्योगको विस्तार अपेक्षित रूपमा हुन सकेको छैन । आन्तरिक पर्यटनको अपेक्षित सुधार हुन नसक्नुका पछाडि देहायका कारण रहेका छन् :

सेवाको अस्वाभाविक मूल्य
आयस्रोतका आधारमा नेपाली पर्यटकले आफ्नो गन्तव्य निर्धारण गर्छन् । नेपाली होटेलले कोठा भाडा, गाडी भाडा र खानाको मूल्य आम नेपालीको आयस्तरभन्दा बढी नै लिने गरेका छन् । समानस्तरका भारतीय होटेलमा प्राप्त सुविधा प्राप्त गर्न नेपाली पर्यटकले नेपालभित्र बढी रकम खर्च गर्नुपर्ने हुन्छ । छद्म मूल्यका कारण ग्राहकले बीचबाटैमा बेखर्ची हुने समस्या पनि देखिने गरेको छ । होटेलका सेवामा कर र सेवा शुल्कले घोषित मूल्यमा करीब २५ प्रतिशत अतिरिक्त खर्च ग्राहकले बेहोर्नु परेको छ । रिजर्भ गाडीहरू अति महँगो भई दिँदा गाडी रिजर्भ गरेर घुम्न जानु आम नेपालीको पहुँचभन्दा बाहिरको विषय बन्न पुगेको छ । नेपाली पर्यटन उद्योगहरूले प्रदान गर्ने सेवासुविधा अनावश्यक रूपमा महँगो हुनु नै आन्तरिक पर्यटन उद्योगको विस्तार हुन नसक्नु हो ।

चलाखीयुक्त व्यवहार
घरबाट गन्तव्यसम्म पहुँचका क्रममा आन्तरिक पर्यटकसँग चलाखीपूर्ण व्यवहार गर्ने गरिन्छ । नयाँ स्थानसँग अपरिचित आन्तरिक पर्यटकले अपारदर्शी मूल्यहरूको सामना पाइला पाइलामा गर्नुपर्छ । यस्ता चलाखीयुक्त व्यवहारले आन्तरिक पर्यटनमा असुरक्षाको भाव उत्पन्न हुन गएको छ । यी व्यवहार मूल्यमा मात्र सीमित छैनन् गुणस्तरमा पनि बेहोर्नु परेको छ । नगए पनि पछुताउने र गए पनि पछुताउनुपर्ने विरोधाभास यसै कारण उत्पन्न हुने गर्छ । प्राकृतिक विपत्ति र आकस्मिक अव्यवस्था सृजना हुँदा उत्पन्न परिस्थितिमा यात्रुलाई पासोमा पारेसरह गरी कैयाैं गुणा बढी असुल्ने गरिन्छ । टेबल जोेडेर सुतेको एक रातको २/३ हजार तिर्नुपर्नेजस्ता व्यवहार आमरूपमा दोहोरिरहन्छन् । पर्यटन क्षेत्रका गहन शब्दावलीहरूको प्रयोग गर्ने तर सेवाचाहिँ झारा टराई पाराले प्रदान गर्ने प्रवृत्ति पनि यस क्षेत्रमा आमरूपमा रहेको छ । यी र यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न पर्यटन क्षेत्रसँग सम्बद्ध संघसंस्थाबाट पनि खासै पहल हुन सकेको छैन ।

पूर्वाधारको कमी
पर्यटन भन्नासाथ होटेलमा भएका पूर्वाधारलाई बुझ्ने गरिन्छ । परन्तु पर्यटन पूर्वाधारमा सुरक्षित सडक, सुरक्षित आवास, आधारभूत स्वास्थ्य सुविधा, आपत्कालीन उद्धार, सहज सञ्चार सुविधा, पर्याप्त सूचना प्रवाह, निश्चित दूरीमा दैनिक उपभोगका वस्तु, औषधि तथा पानीको उपलब्धता, पर्यटनबाट भरपुर आनन्द दिलाउन सक्ने प्राज्ञिक, बौद्धिक, सांस्कृतिक र मनोरञ्जनात्मक सेवाहरू अझ महत्त्वपूर्ण रहेका छन् । नेपालका पर्यटकीय स्थलहरूमा पहुँचमार्गहरू यति खतरनाक रहेका छन् कि यात्रा गर्दा ३३ कोटी देवताको नाम जप्दै कुन बेला गन्तव्यमा पुगिएला भनेर त्रासमा यात्रा गर्नुपर्छ । एकचोटि यात्रा गरिसकेपछि त्यस स्थानमा अर्कोचोटि यात्रा गर्न कोही पनि चाहँदैनन् ।

विविधीकरणको कमी
नेपालको आन्तरिक पर्यटन सेमिनार, गोष्ठी, सम्मेलन एवम् धार्मिक पर्यटनमा सीमित रहेको छ । जंगल सफारी र साहसिक पर्यटनले भर्खर वामे सर्दै छ । सारमा भन्नुपर्दा नेपालमा विशुद्ध आन्तरिक पर्यटन (द्वितीयक उद्देश्यरहित) विकास हुन सकेको छैन । परिवार नै घुम्न जाने संस्कृतिको पनि विकास हुन सकेको छैन । यातायातका साधन माथिको असहज पहुँचका कारण पारिवारिक पर्यटन विकास हुन नसकेको हो । नेपालको आन्तरिक पर्यटन उद्योगको विस्तारमा स्वयम् व्यवसायीहरू पनि उदासीन छन् । यही कारण नेपाली नागरिक ठूूलो संख्यामा विदेश शयरमा निस्कने गरेका छन् । सरकारले खर्च कटौतीको नीति लागू गरेको दिन सेमिनार, गोष्ठी, सम्मेलनमा आधारित पर्यटन रातारात डुब्न सक्छ भन्ने विषयमा समयमै हेक्का हुन जरुरी छ ।

प्याकेजहरूको कमी
नेपालमा आन्तरिक पर्यटकका लागि आकर्षक र व्यावहारिक प्याकेजहरू सृजना हुन सकेका छ्रैनन् । केही प्याकेज सुनिनमा आए तापनि ती प्याकेजहरू अपूर्ण चरित्रका रूपमा रहेका छन् जसको न त व्यवस्थित प्रचारप्रसार हुन सकेको छ न ती प्याकेज आर्थिक र व्यवस्थापकीय सिद्धान्तलाई अंगीकार गरी तर्जुमा गरिएका हुन्छन् । नेपालीलाई भए यत्तिको व्यवस्थापनले काम चलिहाल्छ भन्ने मानसिकता नेपाली पर्यटन व्यवसायीहरूमा व्याप्त रहेको छ । यस्ता कच्चा तर महँगा प्याकेजका कारण नेपालीहरू विदेशतिर शयर गर्न रुचाउन थालेका छन् । दुबईको प्याकेज र दमकको प्याकेजमा आर्थिक रूपमा खासै फरक नहुने भएपछि मानिसहरूको स्वाभाविक रोजाइ दुबई नै हुन जान्छ । यी पक्षलाई दृष्टिगत गर्दै आन्तरिक पर्यटनको अभिवृद्धि गर्न र पर्यटनमार्फत ठूलो परिमाणमा विदेश गइरहेको धनको स्वदेशमा सदुपयोग गर्न देहायका पक्षमा विशेष ध्यान जानु आवश्यक छ ।

सर्वप्रथम आन्तरिक पर्यटन उद्योगले प्रदान गर्ने सेवाको अस्वाभाविक मूल्यलाई लागत, लाभ र सेवालाई आधार मानी नियन्त्रण र समानीकरण (हार्मोनाइजेशन) गर्नु आवश्यक छ । यो कार्य पर्यटन क्षेत्रमा आबद्ध व्यावसायिक संघसंस्थाहरूको दायित्वभित्र पर्छ । दोस्रो नेपाली पर्यटन क्षेत्रमा व्याप्त ग्राहकसँग गरिने चलाखीयुक्त व्यवहारलाई नियन्त्रण, नियमन र उपचार गर्न नेपाल सरकार र पर्यटन व्यवसायीका छाता संगठनहरूले अनुगमन संयन्त्रसहितको आचारसंहिता बनाई लागू गर्नुपर्छ ।

तेस्रो आन्तरिक पर्यटनको संख्या र आवृत्तिमा विस्तार गर्न देशभरका पर्यटन क्षेत्रहरूमा सुरक्षित सडक, सुरक्षित आवास, आधारभूत स्वास्थ्य सुविधा, आपत्कालीन उद्धार, सहज सञ्चार सुविधा, पर्याप्त सूचना प्रवाह, निश्चित दूरीमा दैनिक उपभोगका वस्तु, औषधि तथा पानीको उपलब्धता तथा पर्यटनबाट भरपुर आनन्द दिलाउन सक्ने प्राज्ञिक, बौद्धिक, सांस्कृतिक र मनोरञ्जनात्मक सेवाहरूमा नेपाल सरकार र निजीक्षेत्रले प्राथमिकतायुक्त लगानी गर्नु आवश्यक देखिन्छ ।

चौथो, सेमिनार, गोष्ठी, सम्मेलन र धार्मिक पर्यटनको घेराबाट आन्तरिक पर्यटनको बृहत् घेरा सृजना गर्न सरकार र निजीक्षेत्रबाट संयुक्त पहल हुन जरुरी छ । विशुद्ध पर्यटनको जग बलियो बनाउन नयाँनयाँ अवधारणालाई प्रोत्साहन, संरक्षण र अनुदान दिने नीति अंगीकार गर्नु आवश्यक छ । पर्यटन क्षेत्रको विविधीकरण गर्न यस क्षेत्रमा क्रियाशील र सम्भावित स्टार्टअपहरूलाई पनि प्रस्फुटित गराउन आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउनुु पनि आवश्यक छ ।

पाँचौं, आन्तरिक पर्यटनका लागि प्याकेजहरूको विकास गर्नु, ती प्याकेज नेपालीहरूको पहुँचमा हुन सक्ने बनाउनु तथा प्याकेजहरूप्रति आम धारणा सकारात्मक बनाउन विश्वसनीय प्रचार संयन्त्रको विकास गर्नु पनि त्यत्तिकै जरुरी छ ।

अन्त्यमा पर्यटन क्षेत्रलाई अनन्तकालीन करमुक्तिको सुविधा प्रदान गरिनुपर्छ ताकि ग्राहकहरू करका कारण महँगोमा सेवाहरू लिन बाध्य भइरहेको वर्तमान अवस्थाबाट छुटकारा पाउन् । यसो गर्न सकेको खण्डमा विदेश जाने नेपाली पर्यटकको ठूलो अंश देशभित्र मोडिई सेवा व्यापारमा विद्यमान व्यापारघाटा नियन्त्रण गर्न सकिन्छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्