ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

पोखरामा च्यांग्राको भाउ बढेपछि खसीबोकाको माग उच्च

२०७८ असोज, २६  
गण्डकी प्रदेश
Image Not Found

असोज २६, कास्की । दशैं शुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्यांग्रा आउन शुरु हुन्छ । 

पोखरा–बाग्लुङ राजमार्गको सिम्पानीबाट हेमजाको विभिन्न स्थानमा च्यांग्राको हुल विक्रीका लागि राखिएको हुन्छ । च्यांग्रा खरीद–विक्रीको मेला लाग्दछ

व्यवसायीले मुस्ताङ, डोल्पा, रोल्पा, बैतडी, बझाङलगायतका जिल्लाबाट दुई–तीन साता लगाएर हिँडाएर च्यांग्रा विक्री गर्न पोखरा ल्याइ पुर्‍याउँछन् । बजारमा च्यांग्रा देखिन थालेसँगै सर्वसाधारणमा दशैं आएको छनक आउँछ । हिमाली चिसो मौसममा हुर्केका, जडीबुटी खाएकाले च्यांग्राको मासु दशैंमा उपभोक्ताको विशेष रोजाइमा पर्छ । 

स्वादिलो हुने भएकाले सकभर दशैंमा धेरैको भान्सामा च्यांग्राको मासु पाक्छ । पोखरालगायत यस क्षेत्रमा बढी रुचाइएको च्यांग्राको भाउ भने यस वर्ष आकाशिएको छ । व्यापारीले रोज्जा च्यांग्राको मूल्य रू. ५० हजारसम्ममा विक्री गरेका छन् ।

मासु प्रतिकेजी रू. दुई हजारदेखी रू. दुई हजार ५०० सम्म मूल्य पर्ने गरेको छ । गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएपछि सामान्य र मध्यम आर्थिक अवस्थाका उपभोक्ताले भने खरीद गर्न सक्ने अवस्था छैन । च्यांग्राको मूल्य आकाशिएपछि उपभोक्ताको रोजाइ अहिले खसीबोकामा छ । अधिकांशले दशैंका लागि गाउँघरमै स्थानीय खसीबोका व्यवस्था गरेका छन् ।

पोखरा–१४ चाउथेस्थित खसीबजारमा एक साताअघिदेखिबाटै ग्राहकको भीड बढेको छ । यस क्षेत्रको मुख्य बजार भएकाले यहाँ धेरै ठाउँबाट ग्राहक आउने गर्दछन् । विगतमा दशैंमा च्यांग्रा खानेहरु यस वर्ष खसीबोकाको व्यवस्था गरेका छन् । पोखरा–११ फूलबारीका नवराज पौडेलले यस वर्ष च्यांग्राको मूल्य छोइसक्नु नभएकाले दशैंका लागि स्थानीय खसीको व्यवस्था गरेको बताए ।

खसीबजारमा भेटिनुभएका उनले भने, ‘विगतका दशैंमा जहिले पनि च्यांग्रा नै किन्ने गरिन्थ्यो तर अहिले भाउ छोइसक्नु छैन । त्यसैले खसीको व्यवस्था गरेको छु । मिल्यो भन्ने फ्रेस हाउसबाट एक–दुई केजी किनेर च्यांग्राको स्वाद लिनुपर्ला, सिंगै किन्न सकिएन ।’ पोखरा खसीबजार बजार व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्षको दशैंमा खसीको माग बढेको बताए । 

माग बढेपछि व्यवसायीले थप दुई हजार ५०० खसीबोका बजारमा ल्याउँदै गरेको उनले जानकारी दिए । बजारबाट यस वर्ष छ हजार ५०० को हाराहारीमा खसीबोका विक्री गरिसकिएको बताइन्छ ।

‘विगतका वर्षलाई हेरेर यस वर्ष व्यवसायीले दशैंमा छ हजार ५०० हाराहारीमा खसीको व्यवस्था गरेका थियौँ ।’ उनले भने, ‘फूलपातीको एक÷दुई दिनअघि नै सबै विक्री भएपछि बजार खाली राख्नु भएन भनेर थप दुई हजार ५०० खसी ल्याउँदैछौँ ।’ च्यांग्राको मूल्यवृद्धि भएकाले खसीको माग यस वर्ष अत्यधिक बढेको उनले बताए ।

बजारमा आउनेहरुले च्यांग्राको मूल्य बढेकाले खरीद गर्न नसकेको बताउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण होटल रेष्टुरेन्ट र पार्टी प्यालेस बन्दा हुँदा व्यवसाय नराम्रोसँग प्रभावित भएकामा दशैंमा बजार राम्रो हुँदा खसीबोका व्यवसायी उत्साहित भएका छन् । बजारमा २१ खसीबोका विक्री गर्ने पसल छन् ।

जिउँदो खसी प्रतिकेजी रू. ६०० देखि ६४५ सम्ममा यस वर्ष विक्री गर्ने गरिएको छ । विगतमा भारतीय बजारबाट समेत पोखरामा खसीबोका आयात हुँदै आएकोमा गएको एक वर्षदेखि रोकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । अहिले नेपालकै उत्पादनले बजार धान्ने गरेको उनी बताउँछन् । व्यवसायीले विशेषगरी पाल्पा, नवलपरासी, सुर्खेत, तनहुँ, स्याङ्जा र दाङलगायतका जिल्लाबाट खसी ल्याउने गरेका छन् ।

पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले यस वर्ष गत वर्षको तुलनामा २५ प्रतिशतसम्म च्यांग्राको मूल्य बढेको बताउँछन् । दुई÷तीन दिनदेखि च्यांग्रा र खसी बजारको नियमित अनुगमन गरिएको बताउँदै उनले यस वर्ष तिब्बतबाट च्यांग्रा नआएकाले समेत मूल्य उच्च भएको उनले बताए । 
उनले भने, ‘विगतमा नेपालका हिमाली जिल्लासहित चीनको तिब्बतबाट दसैँमा ठूलो संख्यामा भेडा, च्यांग्रा आपूर्ति हुने गरेको थियो । तर यस वर्ष कोरोनाका कारण सीमानाका नखुल्दा तिब्बतबाट व्यापारीले ल्याउन सकेनन् । जसको प्रभाव बजारमा उच्च परेको छ । मूल्य धेरै नै वृद्धि भएको छ ।’

शाखा प्रमुख अधिकारीका अनुसार सोमवारसम्म पोखरामा हिमाली क्षेत्रबाट ९४ जना व्यापारीले १५ हजार ५० च्यांग्रा र एक हजार ३०० भेडा  विक्रीका लागि ल्याएका छन् । विगतमा २० देखि २५ हजारसम्म भेडा÷च्यांग्रा ल्याउने गरिएको थियो । हिमाली च्यांग्राको मुख्य बजार पोखरा तथा यस आसपासको क्षेत्र हो । केही व्यापारीले काठमाडौं, नारायणगढसम्म पनि च्यांग्रा लैजाने गर्दछन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्