ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

देशभरका शक्ति पीठमा आशीर्वाद लिन भक्तजनको घुइँचो    

२०७८ असोज, २७  
समाचार
Image Not Found

असोज २७, काठमाडौं । शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौं दिन पनि काठमाडौं उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।     
     
 आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रुपमा चिनिन्छ । वर्षमा चार ओटा नवरात्र पर्ने भए पनि शरद ऋतुअन्तर्गत आश्विन शुक्ल पक्षमा पर्ने नवरात्र विशेष रुपमा मनाइन्छ । बडादशैंसमेत भनिने शारदीय नवरात्र देशभर भव्य रुपमा मनाइन्छ । देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर जाने गर्छन् ।     
     
 शक्तिपीठमा पनि पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको विशेष महत्व रहेको विभिन्न पुराणमा उल्लेख गरिएको छ । यही महत्वका कारण आश्विन शुक्ल प्रतिपदादेखि नै यस मन्दिरमा भक्तजनको घुइँचो छ ।

गत वर्ष कोरोनाका कारण सबैजसो शक्तिपीठ बन्द गरिएको थियो । मन्दिर परिसर पुग्ने भक्तजनले पनि बाहिरबाटै दर्शन गरेर फर्किएका थिए । यस वर्ष कोरोना जोखिम कम भएकाले भक्तजन मन्दिरमा लाम लागी पूजाआराधना गरिरहेका छन् ।     
     
     
 गुह्येश्वरीमा भक्तजन बढे, बलि दिने घटे     
     
 गुठी संस्थानअन्तर्गतको गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुमित खड्गी मन्दिर पूजा, आराधना र दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढे पनि बलिसहित पूजा गर्ने भने घटेको बताउँछन् ।गत वर्ष कोरोना महामारीका बेलाभन्दा पनि यस वर्ष बलि दिनेको सङ्ख्या घटेको उनले जानकारी दिए ।   
     
 गुह्येश्वरी मन्दिरमा प्राचीनकालदेखि महाअष्टमीका दिन राष्ट्राध्यक्षले पूजाआराधना गर्ने परम्परा छ । विश्वमै प्रसिद्ध शक्तिपीठ भएकाले यो परम्परा बसेको हो ।  यसैगरी पशुपति क्षेत्रका वनदेवी, वत्सलेश्वरी, बज्रश्वरी, नवदुर्गाको मूर्ति रहेको क्षेत्र, जयवागेश्वरीलगायत देवी मन्दिरमा पनि भक्तजनको भीड छ ।

महासरस्वतीका रुपमासमेत पूजाआराधना गरिने जयवागेश्वरी पुनर्निर्माण भइरहे पनि नवरात्रमा पूजा, आराधना र दर्शन गर्न मिल्ने गरी ढोका खुला गरिएको जयवगोश्वरी मन्दिर पुनर्निर्माण समितिको सदस्यसमेत रहनुभएका काठमाडौँ महानगरपालिका–८ का वडा सदस्य विवेक सङ्गतले जानकारी दिए ।     
     
 यसैगरी मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, हनुमानढोका दरबार क्षेत्रका शक्तिपीठ, कङ्केश्वरी, बिजेश्वरी, शोभाभगवती, रक्तकाली, श्वेतकाली, दक्षिणकालीलगायत देवी मन्दिरमा पनि पूजा, आराधना र दर्शन गर्ने भक्तजनको घुइँचो छ । कोरोनाको जोखिमका कारण लामो समय घरभन्दा बाहिर ननिस्किएका मानिस पनि उकुसमुकुस भएर शक्तिपीठ पुगेका छन् ।     
     
 काठमाडौं उपत्यकाका बज्रबाराही, बज्रयोगिनी, सुन्दरीमाई, चामुण्डादेवी, इन्द्रायणीलगायत मन्दिरमा पनि पूजाआराधना र दर्शनका लागि पुग्ने भक्तजन धेरै छन् । नवदुर्गाको विशेष पूजा गरिने नवरात्रमा शक्तिपीठमा गई पूजाआराधना र दर्शन गरेमा मनाकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।     
     
 यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लागेको छ ।     
     
 यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष रुपमा पूजाआराधना गरिन्छ । नवरात्रमा बलका लागि महाकाली, धनका लागि महालक्ष्मी र विद्याका लागि महासरस्वतीको पूजाआराधना गरिन्छ । यसका साथै सुख, शान्तिका लागि पनि भगवतीसँग प्रार्थना गरिन्छ । महाअष्टमी पर्व विशेष रुपमा शक्ति स्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रुपमा लिइन्छ । यस दिन कतिले बलिसहित पूजा गर्छन् भने कतिले सात्विक रुपमा देवीको पूजाआराधना गर्छन् ।रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्