ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सिटिजन्स बैंक लुट प्रकरण : एक नेपालीसहित ३ जना पकाउ        

२०७८ असोज, २७  
प्रदेश ०१
Image Not Found

असोज २७, मोरङ ।मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन्स बैंक इन्टरनेसनलमा यही असोज २५ गते अपराह्न ३ : ४५ बजे  २१ लाख ७० हजार रुपैयाँ लुटपाट घटनामा संलग्न भई पक्राउ परेका तीन जनालाई बुधवार यहाँ प्रहरीले सार्वजनिक गरेको छ ।     
     
 जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका मुख्य योजनाकार नेपाली नागरिक विराटनगर–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गाराहा–४ का ३० वर्षीय विजय सहनी (गोली लागी घाइते) लाई सार्वजनिक गरिएको छ ।     
     
 लुटपाटपछि घाइते सहनीलाई को २५ प ३८९९ को मोटरसाइकलको बीचमा राखी भारततर्फ भाग्ने क्रममा मोरङको धनपालथान–२ खयरबना चोकबाट स्थानीयवासीको सहयोगमा प्रहरीले १५ मिनटको अवधिमा तिनीहरूलाई पक्राउ गरेको हो ।     
     
 यादव भारत फरार भइसकेको अवस्थामा गोली लागी घाइते भएका सहनीलाई लिन टेम्पोमा आएर पुनः मोटरसाइकलमा जाने क्रममा प्रहरीले पकाउ गरेको हो । उक्त लुटपाटमा नौ जना संलग्न रहेकामा सात जना बैंकमा प्रवेश गरेका, एक जना बाहिर बसेको र अन्य एक जना नदेखिने पाराले बसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।     
     
 लुटपाटमा संलग्न छ जना भारततर्फ फरार रहेको आशङ्का गरिएको र चाँडै प्रकाउ गरी सार्वजनिक गरिने उनले बताए। निजहरुले विगत केही दिनदेखि बैंकको अनुगमन गर्नुका साथै भीडभाड नभएको समय हेरी लुटपाट गरेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।     
     
 उक्त लुटपाटको प्रतिरोध गर्ने क्रममा बैंकका सुरक्षा गार्ड शीतल कुमाल गोली लागी घाइते भएका र निजको विराटनगरको एक निजी अस्पतालमा उपचार भइरहेको छ । निजहरुको साथबाट कटुवा पेस्तोल एक थान (एक राउण्ड लोडेड गोलीसहित), सानो मोबाइल एक थान, पेस्तोलको नपड्किएको राउण्ड थान एक र खोका एक बरामद गरिएको छ । बैंकले प्रारम्भिकरूपमा २१ लाख ७० हजार रुपैयाँ लुटपाट भएको जनाए पनि लिखितरूपमा अहिलेसम्म विवरण नपठाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।     
     
 होजियारी उद्योग सञ्चालन गरेका मुख्य योजनाकारका रूपमा रहेका मुखियाले चाँडै पैसा कमाउने उद्देश्य राखेका थिए भने सहनी र यादव भारतका पेशेवर अपराधी हुन् । निजहरु उपर हातहतियार खरखजना, डकैती, सङ्गठित अपराध तथा ज्यान मार्ने उद्योग गरी चार ओटा मुद्दा दर्ता गरिने प्रहरीले बताएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्