ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन

२०७८ असोज, ३१  
प्रदेश ०२
NA

सिरहा । सिरहाका पाँच स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गरिने भएको छ । पूर्व–पश्चिम हुलाकी राजमार्गसँग जोडिएको सिरहा नगरपालिकासहित भगवानपुर, नवराजपुर, बरियारपट्टी र औरही गाउँपालिका तथा सिरहा नगरपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गर्न लागिएको हो ।

आयोजनाअन्तर्गत बीउ, फलफूल, तरकारी, मसला, कुखुरा, दूध, मासु, माछा, चिया, कफी, मह, जडीबुटी र वन पैदावार उत्पादनका क्षेत्रमा संलग्न उत्पादकको प्रोत्साहन तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने आर्थिक करिडोर प्राविधिक तथा समन्वय समितिका सदस्य सचिव डा. चन्द्रप्रसाद रिसालले जानकारी दिए ।  हुलाकी सडक आसपासका स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको सदस्य सचिव रिमालले बताए ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनका लागि नेपाल र विश्व बैंकबीच ०७७ पुस ६ गते सम्झौता भएको थियो । सोही कार्यक्रमअन्तर्गत प्रदेश २ का आठ वटै जिल्लामा सन् २०२५ सम्म कार्यक्रम सञ्चालन हुनेछ ।

प्रदेश २ का ८४ स्थानीय तहमा पूर्वमा सप्तरी र पश्चिममा पर्साका गरी आठ वटा जिल्लाका हुलाकी राजमार्गसँग जोडिएको पालिकामा सो कार्यक्रम सञ्चालन हुने बताइएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको पहिलो भागअन्तर्गत बजार आबद्धतालाई सहयोग गर्ने, दोस्रोमा विद्यमान संघीय प्रणालीमा कृषि उद्यम पर्यावरणलाई बढावा दिने, तेस्रोमा कोभिड–१९ ले अवरुद्ध भएको खाद्य आपूर्ति शृंखला तथा स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान तथा सुदृढीकरण गर्ने गतिविधि सञ्चालन गरिनेछ ।

यस्तै, चौथोमा परियोजना कार्यान्वयन, खरिद तथा आर्थिक व्यवस्थापन, सामाजिक तथा वातावरणीय जोखिम व्यवस्थापन, अनुगमन, मूल्यांकन तथा प्रतिवेदन तयारी एवं तालिम क्रियाकलाप सञ्चालन गरिनेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्