ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पर्यटन प्रवर्द्धनमा १ करोड ८० खर्च गरिँदै

२०७८ कार्तिक, १  
वाग्मती प्रदेश
NA
author avatar अभियान संवाददाता

दोलखा । पर्यटन प्रवर्द्धन तथा पूर्वाधार कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा दोलखामा १ करोड ८० लाख रुपैयाँ खर्च हुने भएको छ । बागमती प्रदेश सरकारबाट डिभिजन वन कार्यालयमार्फत उक्त रकम खर्च गरिने भएको हो । चालू आवमा पर्यटन प्रवर्द्धन तथा पूर्वाधार कार्यक्रम अन्तर्गत विभिन्न १० योजना÷कार्यक्रममा बागमती प्रदेश सरकारबाट उक्त रकम विनियोजन भएर आएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख शिव सापकोटाले बताए । सापकोटाका अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरूमा उक्त कार्यक्रम अन्तर्गत १० लाखदेखि ३० लाखसम्म विनियोजन भएको  छ । विनियोजित रकममध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिका–३ स्थित कोटिहोम धार्मिक स्थलमा पूर्वाधार निर्माण गर्न ३० लाख विनियोजन भएको छ । यसैगरी अन्य कार्यक्रमहरूमा बैतेश्वर गाउँपालिका–६ मा बुद्धपार्क निर्माणका लागि २० लाख, शैलुङ गाउँपालिकामा रहेको ऐतिहासिक गोल्मा राजा–गोल्मा रानीमा छोर्तेन निर्माणका लागि २० लाख, मेलुङ गाउँपालिका–४ मा फुर्केसल्ला–शैलुङ पदमार्गका लागि २० लाख र तामाकोशी गाउँपालिकाको कालिदेवी–देउराली गढी पदमार्गका लागि २० लाख विनियोजन भएको डिभिजन वन कार्यालय दोलखाले जानकारी दिएको छ ।

यसैगरी साङखोला चोक सांस्कृतिक पदमार्गका लागि १५ लाख, भीमेश्वर नगरपालिका–४ मा पाण्डव पार्कका लागि १५ लाख, तामाकोशी गाउँपालिकामा तामाकोशी–देउराली–हिले पदमार्गका लागि १५ लाख, भद्रावती कुण्ड निर्माणका लागि १५ लाख र भीमेश्वर नगरपालिका–६ मा देउराली पिकनिक पार्क निर्माणका लागि १० लाख विनियोजन भएको डिभिजन प्रमुख सापकोटाले बताए । राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन शीर्षकमा चालू आवका लागि सामुदायिक वनमा फलफूल खेती, बाँस रोपण, वातावरण संरक्षण, शहरी वन कार्यक्रम लगायतमा १ करोड ३६ लाख खर्च गरिने भएको छ । प्रदेशबाट आएका अधिकांश कार्यक्रम पूर्वाधार विकासका भएका छन् । तर डिभिजन वनसँग इञ्जिनीयरको दरबन्दी नभएकाले कार्यक्रम कसरी अगाडि बढाउने भन्ने समस्या भएको डिभिजन प्रमुख सापकोटाले बताए । यसका लागि सम्बन्धित मन्त्रालयसँग संवाद भइरहेको उनको भनाइ छ । जिल्लामा सामुदायिक वन समूहहरू र डिभिजन वन कार्यालयलाई जोड्ने वातावरण तथा वन विकाससँग सम्बन्धित कार्यक्रम माग गरी विभिन्न प्रस्ताव मन्त्रालयमा पठाइए तापनि त्यस्ता कार्यक्रम स्वीकृत नभएको डिभिजन वन कार्यालय दोलखाको गुनासो छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्