ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

उदयपुरका पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल

२०७८ कार्तिक, १  
प्रदेश ०१
NA

उदयपुर । कोरोना महामारीका कारण बन्द रहेका उदयपुरका पर्यटकीय क्षेत्र विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण दर विस्तारै कम हुन थालेपछि यहाँका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेका हुन् । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक स्थलका कारण वर्षैभरि चहलपहल हुने उदयपुरमा यतिबेला पर्यटकीय गतिविधि हुन थालेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थालेपछि गत वर्ष चैतदेखि बन्द रहेको यहाँका पर्यटकीय स्थल सुनसान थिए ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लागू गरेको बन्दाबन्दीका कारण जिल्लाको पर्यटकीय क्षेत्र पूर्ण रूपमा बन्द हुन पुगेको थियो । कोरोना संक्रमण न्यून हुँदै गएको र स्थानीय प्रशासनद्वारा जारी गरिएको बन्दाबन्दी हटाइएपछि यतिखेर उदयपुरमा चहलपहल सुरु हुन थालेको छ ।   
 
कोरोना संक्रमणका बेला पर्यटकको आगमन ठप्पजस्तै हुन पुगेको रौता पोखरी क्षेत्रमा असोज लाग्नासाथ दैनिक सयौंको संख्यामा रौतामाइको दर्शन गर्न र रौताको रमणीयस्थल घुम्न पर्यटक आउन सुरु गरेको रौतामाई गाउँपालिका उपाध्यक्ष कुमारी ठकुरीले बताइन् ।

जिल्लाको ऐतिहासिक र महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलको रूपमा रहेको रौता पोखरी तथा पञ्चकन्यादेवीको मन्दिरमा असोज पहिलो सातादेखि दैनिक करिब १ सयभन्दा बढीको संख्यामा आन्तरिक पर्यटक दर्शन गर्न र घुम्न आउने गरेको रौतापञ्चकन्या मन्दिरका पूजारी गंगा राना मगरले बताए । कोरोना संक्रमण घट्दै गएपछि रौता पञ्चकन्यामाई देवीको दर्शन र पूजा गर्ने, भाकल पूरा गर्ने र रौता पर्यटकीय स्थल घुम्न आउनेको संख्या दैनिक वृद्धि हुँदै गएको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले बताए ।

उनका अनुसार अहिले पूजा तथा आराधना र रौता क्षेत्रको रमणीय स्थल घुम्न जिल्लाबाहेक सप्तरी, सिरहा, मोरङ, सुनसरी, झापा, धनुषा, सिन्धुली र सर्लाहीसम्मका भक्तजन तथा पर्यटक आउने क्रम सुरु भएको हो । कोरोना संक्रमण घट्दै गएपछि भदौ अन्तिम सातादेखि ८–१० जना पर्यटक आउन सुरु गरे पनि असोज लाग्नासाथ पर्यटक संख्या ह्वात्तै बढेर दैनिक सयौंको संख्यामा पर्यटक आगमन हुन थालेको रौता पर्यटन होमस्टे समितिका सदस्य कुवेर मगरले बताए । पर्यटक संख्यामा विस्तारै वृद्धि हुँदै जान थालेपछि यस क्षेत्रको होमस्टे र होटल पनि विस्तारै सञ्चालन हुन थालेको अर्का होमस्टे सञ्चालक खवीन्द्रराज राईले बताए । उनका अनुसार ५० प्रतिशत भक्तजन मुख्य रौतामाई पञ्चकन्यादेवीको पूजा आराधना गर्न र बाँकी पर्यटक पूजाआराधनाका साथै यो क्षेत्र घुम्न आउने गरेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्