ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

साना कृषि औजारको प्रयोगले कृषकलाई लाभ

२०७८ कार्तिक, १  
प्रदेश ०१
NA

झापा । जनशक्ति, लागत र समयसमेत कम लाग्ने भएपछि पछिल्लो समय झापामा साना कृषि औजारको प्रयोग बढ्दै गएको छ ।     

मानवीय श्रम, साधन अभाव भइरहेको अवस्थामा साना कृषि औजार प्रयोग गरेर खेती हुन थालेपछि यहाँका कृषक आत्मनिर्भर हुन थालेका छन् । ‘पहिले–पहिले परम्परागत तरिकाले खेती गर्थ्याैं । त्यसले जनशक्ति र लागत बढी लागे पनि उत्पादन कम हुन्थ्यो’, दमक–१० का कृषक यादवकुमार न्यौपानेले भने, ‘अहिले साना कृषि औजार प्रयोगले खेती गर्दै छौं । यसले कम लागतमा बढी उत्पादन हुने गरेको छ ।’

साना कृषि औजार प्रयोगमा वृद्धि भएसँगै कृषि कर्म पनि सहज हुँदै गएको उनको भनाइ छ ।  
   
थोरै लगानीमा यस्ता उपकरणको प्रयोग गर्न सहज भएपछि कृषि कार्यमा साना कृषि औजारको आकर्षण बढ्दै गएको बताउँदै उनले तीन वर्षयता सानो हाते ट्रयाक्टर (पावर टिलर) को माध्यमले धान काट्दै आएको जानकारी दिए ।

तीन वर्षअघि २ लाख खर्चिएर खरिद गरेको धान काट्ने औजारले कृषि कार्यको दैनिकीलाई निकै सहज गरिदिएको उनको भनाइ छ । उनले भने, ‘कृषि औजारको प्रयोगले अहिले आनो मात्र नभएर व्यावसायिक रूपमा छिमेकीका धेरै कृषकलाई पनि धान काट्न सहज बनाइदिएको छ ।’

उनका अनुुसार मिलेका खेतका गह्रामा यो औजार प्रयोग गरेर एक घन्टामा कम्तीमा पनि ५ कठ्ठासम्म धान काट्न सकिनेछ । धान काट्नलगायत कृषि कर्ममा चाहिने जनशक्ति अभाव भइरहेका बेला यस्ता उपकरणले कृषि कर्ममै ठूलो सहयोग पुगेको उनको भनाइ छ ।     

मजदुर अभावमा कृषि कार्य गर्न निकै सकस झेल्दै आएका कृषकका लागि अहिले यस्ता कृषि औजारले निकै राहत मिलेको दमक–१० का अर्का कृषक रमेशकुमार न्यौपानेले बताए ।

साना कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषि मजदुरको विकल्प बन्दै गएको र यसले कृषि कार्यमा धेरै राहत मिलेको उनको बुझाइ छ ।     

न्यौपानेले यो वर्ष करिब ४ बिघा जमिनमा मंसिरे धान खेती गरे पनि चाडवाडकै मुखमा आएर खेतमा धान पाकेपछि मजदुर अभावमा धान कसरी काट्ने भन्ने चिन्तालाई साना कृषि औजारले पूरा गरिदिएको बताए ।

पछिल्ला वर्ष किसान स्वयं यस्ता कृषि उपकरणको प्रयोगमा आकर्षित हुँदै गएका छन् भने सरकारी निकायले समेत कृषि उपकरणको प्रयोगमा प्रोत्साहन गरिआएका कारण अहिले कृषि कर्ममा यस्ता उपकरण प्रयोग ह्वात्तै बढ्दै गएको दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेले बताए ।

कृषकले विशेषगरी जमिन जोत्न, धान रोप्न, काट्नेलगायत काममा यस्ता कृषि औजार प्रयोगलाई महत्व दिँदै आएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्