ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

अविरल वर्षाले धानबालीमा ठूलो क्षति

२०७८ कार्तिक, २  
प्रदेश ०५
Image Not Found

कात्तिक २, दाङ । आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दशैंअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेंलो भए पनि किसानले दशैं चटारोका कारण धान काट्न भ्याएका थिएनन् ।

दशैं टीका लगाएर किसान धान काट्न शुरु गरेका थिए । ‘दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ’, दंगीशरण गाउँपालिका–३ का ३५ वर्षीय किसान खुशीराम चौधरीले भने ।

उनले थपे, ‘यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो ।’

पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पु¥याएको किसानले बताएका छन् । तुलसीपुर–६ का  किसान नन्दु चौधरीले आफूहरूका मात्र नभई  धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको बताए । उनले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेकोसमेत बताए ।

लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।

त्यस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ देवीपुरमा काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले बगाएर लगेको स्थानीय पत्रकार अञ्जना चौधरीले जानकारी दिए । उनले आफू पनि दशैंअघि नै धान काट्नका लागि गाउँमा गएको घरपरिवार तथा मजदूरी लगाएर चार दिनसम्म काटेर खेतमा राखेको धान अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको बताए ।

जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पुर्‍याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जानकारी दिएको छ । केन्द्रका अनुसार यस वर्ष जिल्लाको कुल ३९ हजार ६०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ ।

ज्ञानकेन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशंकर जातका धानको खेती गरेका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धानको खेती गरिएको बताइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्