ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सडक कालोपत्र भएपछि बढ्यो रत्नेचौरको रौनक 

२०७८ कार्तिक, २  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

कात्तिक २, म्याग्दी । उज्यालो भएदेखि रात नपरुन्जेलसम्म उत्तरतर्फ चाँदी झै टल्किएका धवलागिरि, निलगिरि, अन्नपूर्णलगायतका हिमश्रृंखला, लटरम्मै धान झुलेको समथर फाँट, बेनी–बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान त्यसैपनि रमाइलो रत्नेचौरको रौनक सडक कालोपत्र भएपछि झन् बढेको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर–अर्जम खण्डको १ हजार ३०० मिटर सडक कालोपत्र गरिएपछि रत्नेचौरको रौनक बढेको हो ।

समथर फाँटमा झुलेको धान,फाँटको बीचमा चिटिक्कको कालोपत्र सडक र पृष्ठभूमिमा धवलागिरि, निलगिरि लगायतका हिमश्रृंखलालाई पुष्ठभूमीमा पारेर तस्वीर खिचाउन, टिकटक बनाउन र रमाउन यहाँ दैनिक सयौंको संख्यामा युवायुवतीहरु आउन थालेपछि अहिले रत्नेचौर गाउँ बेफुर्सदिलो बनेको छ ।

बेनी नगरपालिकाका तीनवटा वडालाई समेटिएको यस सडक खण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्र शुरु भएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत यस वर्ष १ हजार ३०० मिटर सडक कालोपत्रे गर्ने योजना अनुसार १ हजार ३०० मिटर सडक पीच गरिएको बेनी नगरपालिका २ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताए । 

उनका अनुसार कालोपत्रसँगै अर्जमदेखि भकुण्डेसम्मको सडकलाई समेत फराकिलो बनाउने, नाली निर्माण गर्ने, ढलान गर्ने लगायतका स्तरोन्नतिका कामहरु भएका छन् । 

सडक नालीसहित ८ दशमलव २० मिटर फराकिलो बनेको छ । सडक डिभिजनमार्फत सडक कालोपत्र गर्न १ करोड ३७ लाख र सडक स्तरोन्नति गर्न १ करोड १२ लाख ७६ हजारमा सडक कालोपत्र र स्तरोन्नतिको काम भएको वडाअध्यक्ष रावलले बताए ।

सडक फराकिलो बनाउने, ह्युमपाइप राख्ने, ग्राभेल गर्ने, मेसिनरी पर्खाल लगाउने र ढलानसमेत गरी स्तरोन्नति लगायतका कामहरु सम्पन्न भइसकेका र आगमी वर्ष अर्जमसम्म कालोपत्र गर्ने योजना रहेको उनले जानकारी दिए ।

सडकको ट्र्याक निर्माण भएको करीब दुई दशकपछि ग्रामीण सडक कालोपत्र आयोजना सञ्चालन भएपछि स्थानीयबासी उत्साहित बनेको स्थानीय अमरबहादुर बोगटीले बताए । ‘गाउँकै नेता प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, उनकै पहलमा ग्रामीण सडक कालोपत्र हुन थालेको छ, यहाँबाट शुरु भएको कालोपत्र अर्जम, ज्यामरुकोट, भकुण्डे हुँदै ज्यामरुकोटसम्म पुगेमा तीन वडाका हजारौं नागरिक पत्यक्ष लाभान्वित हुन्छन्,’ उनले भने ।

कच्ची सडकका कारण नियमित सवारी साधन सञ्चालन नहुने, हिउँदमा धुलो र बर्खायाममा हिलोको सास्ती बेहोर्दै आएकोमा सडक कालोपत्र शुरु भएपछि स्थानीयबासीमा खुसियाली छाएको छ । प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाका अनुसार, रत्नेचौर–भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडकको डीपीआर नै तयार पारेर बहुवर्षीय आयोजना सञ्चालन भएको हो । आगामी वर्षसमेत बजेट विनियोजन गरी कालोपत्रसहितको स्तरीय सडक निर्माणका लागि पहल गरिने छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement